येशूले भन्नुभयो, “किनभने जससँग छ त्यसलाई दिइनेछ, र जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ” (मर्कूस ४:२५) । येशूको भनाइको मतलब के हो ?
यो खण्डलाई बारम्बार गलत किसिमले बुझिएको छ । येशूले यहाँ धनसम्पत्तिको बारेमा चर्चा गर्नुभएको होइन, न त आशिष्हरूको बारेमा ।
येशूले भन्न खोज्नुभएको कुरोचाहिँ यही हो कि सुसमाचारको सत्यतालाई सुनी सकारात्मक तवरले प्रतिक्रिया जनाउनेहरूले थप अन्तर्ज्ञान पाउने छन्, तर सकारात्मक तवरले प्रतिक्रिया नजनाउनेहरूले आफूसँग भएको पनि गुमाउने छन् । हामीले आफ्नो हृदयलाई परमेश्वरको बुद्धिले भर्दै गयौँ भने यो गुणात्मक रूपमा वृद्धि हुन्छ । उहाँले हामीलाई दिनुभएको प्रकाशलाई बुझ्न हामीले आफ्नो क्षमता प्रयोग गर्यौँ भने उहाँले त्यसलाई वृद्धि गरिदिनुहुने छ, नत्रभने त्यो क्षमता हराएर जाने छ ।
यहाँ येशूद्वारा व्यक्त भनाइलाई नयाँ भाषा सिक्ने प्रयाससित तुलना गर्न सकिन्छ । वर्षौंसम्म नयाँ भाषा सिकेको व्यक्तिले त्यस भाषालाई प्रयोगमा ल्यायो भने उसले थप सिक्दै जान्छ, तर प्रयोगमा ल्याएन भने सिकेको पनि बिर्सेर जान्छ ।
येशूले भन्नुभएको वचन कर्नेलियसको जीवनमा लागु भएको देखिन्छ । तिनी एक गैरयहूदी थिए र परमेश्वरको बारेमा तिनको बुझाइ सीमित थियो । तिनी ईश्वरभक्त मानिस थिए (प्रेरित १०:२), तर येशू ख्रीष्ट मुक्तिदाता हुनुहुन्छ भन्ने बारेमा तिनीसित पर्याप्त प्रकाश थिएन । त्यसैले परमेश्वरले पत्रुसलाई तिनको घरमा पठाउनुभयो । पत्रुसले तिनलाई सुसमाचार सुनाएपछि तिनले ग्रहण गरे र नयाँ जन्म पाए (प्रेरित १०:४४-४८) ।