“येशू साँचो मुक्तिदाता हुनुहुन्छ कि हुनुहुन्न भनी बिहानै प्रार्थना गर्दा मैले बाँसुरीको प्रस्ट आवाज र बन्दुक पड्केको ठुलो आवाज सुनेँ जसले कोठा नै हल्लाइदिए । मैले माथिबाट मलाई तीन पटक बोलाइएको आवाज सुनेँ, ‘सन चु किल, सन चु किल, सन चु किल!’ म थर्थर काँपेँ र मेरो शिर नै नउठाई मैले भनेँ, ‘मलाई प्रेम गर्नुहुने पिता परमेश्वर, मेरा पाप क्षमा गरिदिनुहोस् र मलाई बचाउनुहोस् ।’ आँसु झार्दै म ठुलो स्वरमा चिच्च्याएँ । मेरो शरीर तातो भयो र मैले जोसकासाथ प्रार्थना गरेँ ।”
यो ख्रिस्टाब्द १८९६ मा २७ वर्षको उमेरमा सन चु किलले अनुभव गरेका आत्मिक परिवर्तनको बयान हो । ख्रीष्टियान हुनुअगि तिनी ताओ धर्मावलम्बी थिए ।
१८६९ मा सन चु किलको जन्म कोरियामा भएको थियो । तीन वर्षदेखि नै तिनले चिनियाँ साहित्यमा दख्खल प्राप्त तिनकी आमाबाट चिनियाँ वर्णमाला सिक्न थालेका थिए । सात वर्षको उमेरमा तिनी स्कुलमा प्रवेश गरे । एघार वर्षमा बिहे गरेका सन वर्तमान संसारदेखि वाक्क भएर धार्मिक जगत्मा प्रवेश गरेका थिए ।
प्योङयोङमा सन ताओ धर्मका ख्यातिप्राप्त अगुवाको रूपमा चिनिए । तथापि ताओ धर्मले तिनको आत्मिक भोकलाई तृप्त पार्न भने सकेन ।
अमेरिकी मिसनरी समुएल ए. मोफेटसँगको भेटले सनको जीवनमा उल्लेखनीय परिवर्तन ल्यायो । ती मिसनरीले प्योङयोङमा सुसमाचार प्रचार गर्न थाले जसले सनको ध्यान पनि खिँच्यो । सन ख्रीष्टियान विश्वासदेखि डराएका थिए यद्यपि तिनी यसबारे उत्सुक थिए । तिनले बाइबल पढ्न थाले तर बाइबलले तिनलाई छोएन । त्यसैले, तिनी ताओ धर्ममा नै केन्द्रित हुन थाले ।
किम सनका घनिष्ठ मित्र थिए जो पहिले नै ख्रीष्टियान बनिसकेका थिए । तिनले सनको हातमा दुईवटा पुस्तक थमाइदिए: पिलग्रिम्स प्रोग्रेस र मोफेटद्वारा अनूदित क्याटेकिज्म । सनले ख्रीष्टियान विश्वासलाई अङ्गाल्नुमा यी दुईवटा पुस्तकले उल्लेखनीय प्रभाव पारेका थिए ।
आफ्नो जीवन प्रभु येशूमा समर्पित गरेपछि सन प्योङयोङस्थित सेन्ट्रल प्रेसबिटेरिएन चर्चमा गए र १८९६ तिनले पानीको बप्तिस्मा लिए । अन्तत: तिनी त्यही मण्डलीको पास्टर बने । कोरियाली ख्रीष्टियान इतिहासमा सन चु किलको नाउँ अग्रपङ्क्तिमा आउँछ । तिनी नै पहिलो अभिषिक्त पास्टर थिए । कोरियाली मण्डलीको स्वरूपको स्थापना गर्ने १९०७ को महान् जागृतिका हिमायती सनलाई प्रायश: “कोरियाली मण्डलीका पिता” भनिएको छ ।