१८५१ मा चार्ल्स टिन्डले अमेरिकामा दासको रूपमा जन्मेका थिए । तिनका पिता दास थिए भने आमा फुक्का । तिनकी आमाले तिनलाई ख्रीष्टलाई प्रेम गर्नुपर्छ भनी सिकाए तापनि तिनको मालिकले तिनलाई मण्डलीमा जान रोकेको थियो । गएको खण्डमा तिनलाई कोर्राले हानिन्थ्यो भनी धम्की आउँथ्यो मालिकबाट ।
अमेरिकी गृहयुद्धको समाप्तिपछि चार्ल्स मुक्त भए । जीविकोपार्जनको लागि तिनले इँटा बोक्ने काम गरे । कहिल्यै स्कुल जान नपाएका तिनी शिक्षाप्रति अनुरागी थिए । त्यसैले तिनले आफूले आफूलाई सिकाउनुका अतिरिक्त मानिसहरूलाई आफूलाई सिकाउन अनुरोध गरे । पत्राचारमार्फत बाइबलसम्बन्धी केही कुरा सिकी तिनी सेवामा होमिए । कुनै डिग्रीविना नै परीक्षाद्वारा तिनी मण्डलीमा अभिषेकको लागि योग्य भए ।
१२ जना मात्रै विश्वासी भएको मण्डलीको पास्टर भएर चार्ल्सले आफ्नो सेवाको थालनी गरे जुन मण्डलीमा तिनले पहिले पालेको रूपमा काम गरेका थिए । समय बित्दै जाँदा दयाले भरिएका तिनका प्रवचनहरूले हजारौँ श्वेतसाथै अश्वेत दुवै थरीका मानिसलाई आकर्षित गरे । अमेरिकाकै एक विशालतम मण्डली स्थापना गर्न सफल तिनले हरेक रात ५००-६०० मानिसलाई सित्तैँमा खुवाउने गर्थे । समाजद्वारा बहिष्कृत व्यक्तिहरूलाई तिनको मण्डलीले न्याना कपडाहरू बाँड्थे र तातो पानीले नुहाउने व्यवस्था मिलाइदिन्थे । तिनले पास्टरीय सेवा गर्नुका अतिरिक्त सुसमाचारीय भजनहरूको पनि रचना गरे ।
एक पटक फिलाडेल्फिया प्रान्तका मेयर तिनको मण्डली हेर्न आउँदा मेयर यति धेरै प्रभावित भए कि तिनले पास्टरलाई दुई लाखको व्यक्तिगत चेक हस्तान्तरण गरे ।
चार्ल्सलाई अभिप्रेरित गर्ने तत्त्व विश्वास थियो । एक पटक घरमा खानलाई केही पनि थिएन । तिनले आफ्नी पत्नीलाई खानलाई थाल, बटुको टेबलमा राख भने । खानेकुरा थिएन भन्ने जानेर पत्नीचाहिँले स्वाभाविक रूपमा सोधिन्, “किन ?” तर पतिले कर गरे । केही समय बित्न नपाउँदै ढोकामा ढकढक गरेको आवाज सुनियो । एक जना मानिसले तिनीहरूलाई खानेकुरो ल्याइदिएको रहेछ ।
८२ वर्षको दीर्घायुमा १९३३ मा चार्ल्सको मृत्यु भयो । तिनको अन्त्येष्टि कार्यक्रममा यति धेरै श्रद्धासुमनका वचनहरू बोलिएका थिए कि अन्त्येष्टि कार्यक्रम पाँच घन्टासम्म लम्बियो । तिनको मृत्युमा मानिसहरू लावालस्कर लागेका थिए । तिनको मृत्युपश्चात् तिनले सेवा गरेको मण्डलीलाई तिनको सम्मानमा “टिन्डले टयाम्पल” नामाकरण गरियो ।