निकोलको जीवनमा बिमार आशिष् साबित भयो

विलियम रोबर्ट निकोलको जीवनमा बिमार आशिष् साबित भयो किनकि यही अस्वस्थताले तिनको सेवाकार्यको निधो गरेको थियो । ख्रिस्टाब्द १८५१ मा स्कटल्यान्डमा जन्मँदा तिनका फोक्सो कमजोर थिए । तिनकी आमासाथै परिवारका अन्य दुई जना क्षयरोगको कारण मरे । पिता पास्टर ह्यारीले तिनलाई हुर्काए । पिताको मण्डलीमा केवल सय जना विश्वासी भए तापनि तिनको पुस्तकालयमा भने १७,००० ओटा पुस्तक थिए । साहित्यप्रेमी बुबाको नमुनालाई पछ्याउँदै निकोलले पत्रिकामा हप्तैपिच्छे लेख्न सुरु गरे । तिनले पास्टरीय सेवाको पनि थालनी गरे तर प्रचारको लागि तिनका फोक्सो निकै कमजोर थिए भनी डाक्टरहरूले अवगत गराए । अरू थप बिमारले सताएपछि तिनले पास्टरीय सेवा छाडिदिए र आफ्ना पुस्तकहरूमा रमाउन थाले जहाँ तिनले आफ्नो बोलावट भेट्टाए ।

ख्रिस्टाब्द १८८६ मा निकोलले द ब्रिटिस विक्ली नामक पत्रिका प्रकाशित गर्न थाले जुन ब्रिटेनमा एउटा प्रमुख पत्रिका बन्यो । पछि तिनले अन्य पत्रिकाहरू पनि निकाल्न थाले र लेख रचनाहरू सम्पादन गर्ने क्रममा तिनले आफ्नै पुस्तकहरू लेख्न सुरु गरे । तिनी पढ्नमा यति सौखिन थिए कि तिनले दिनमा दुईवटा पुस्तक पढ्थे जुन आदतलाई तिनले जीवनभरि निरन्तरता दिए । १८८८-१९०५ को बिचमा ५० ठेलीको द एक्सपोजिटर्स बाइबल प्रकाशित भयो । त्यसपछि अन्य पुस्तकहरू पनि देखा परे । निकोलले जम्माजम्मी सैयौँ पुस्तक सम्पादन गर्नुका अतिरिक्त ४० ओटा पुस्तक लेखे । अङ्ग्रेजी भाषा बोल्ने भूभागमा तिनी सर्वाधिक लेख्ने र आदरणीय ख्रीष्टियान पत्रकार बने ।

निकोलको साहित्यिक कामको लागि १९०९ मा तिनलाई “सर” को उपाधि प्रदान गरिँदा तिनले भने, “साहित्यिक जीवन जिउने विषयमा मैले कहिल्यै पनि सोचेको थिइनँ । फुर्सदको समयमा साहित्यिक काम गर्दै पास्टर बन्ने मेरो अपेक्षा थियो, तर मेरो लागि मेरो गन्तव्यमा छाप लगाइएको थियो ।” तिनको बिमारले तिनलाई घरमै बसेर धेरै काम गर्ने अवसर जुटाइदियो । तिनको पुस्तकालयमा २५,००० ओटा पुस्तक थिए जसमध्ये ५,००० ओटा जीवनीसित सम्बन्धित थिए । जीवनी पढ्ने आफ्नो मोहबारे तिनले व्यक्त गरे, “फेला पारेजति मैले हरेक जीवनीलाई पढेको छु र केही न केही कुरो सिकाउन कुनै पनि चुकेको छैन ।” ७२ वर्षको उमेरमा १९२३ मा तिनी यस धरतीबाट बिदा भए ।

Facebook Comments

Powered by Youth Circle