येशूले भन्नुभयो, “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत ।’ तर म तिमीहरूलाई भन्दछु, दुष्टको मुकाबिला नगर । जसले तिम्रो दाहिने गाला चड्काउला, त्यसलाई अर्को गाला पनि थापिदेऊ” (मत्ती ५:३८-३९) । के सबै परिस्थितिमा हामीले अर्को गाला पनि थापिदिनुपर्ने हो ? होइन भने, येशूको भनाइको अर्थ के हो ?
प्रतिशोधको विषयमा पुरानो करारमा कस्तो व्यवस्था थियो भनेर हामीले अध्ययन गर्यौँ भने येशूको भनाइलाई बुझ्न कठिन नहोला । ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत’ भन्ने अवधारणा पुरानो करारका विविध खण्डहरूबाट आएका हुन् । उदाहरणको लागि, प्रस्थान २१:२४ मा लेखिएको छ, “आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा ।” लेवी र व्यवस्थाका पुस्तकहरूमा पनि उस्तै नियमहरू पाइन्छन् (लेवी २४:२ र व्यवस्था १९:२१) । यी नियमलाई प्रतिशोधको व्यवस्था भनेर चिनिन्छ । निर्दोषहरूको सुरक्षा गर्न यी निमयहरू दिइएका थिए । तर येशू भन्दै हुनुहुन्छ कि व्यवस्थाले निर्दोषहरूको हकको सुरक्षा गर्ने भए तापनि धर्मीहरूले ती हकहरूको दाबी गर्नैपर्छ भन्ने छैन । विनम्रता र निस्वार्थ धर्मी मानिसका गुणहरू हुन् र शान्ति कायम गर्न ऊ अतिरिक्त काम गर्न राजी हुन्छ ।
यति पृष्ठभूमि हेरिसकेपछि अब हाम्रो प्रश्नमा केन्द्रित होऔँ । के एउटा गाला चड्काउनेलाई अर्को पनि थापिदिनुपर्ने हो ? पक्कै पनि होइन । येशूको क्रुसारोहणअगि एक जना पहरेदारले उहाँलाई थप्पड लगाउँदा उहाँले अर्को गाला थाप्नुभएन, “येशूले यी कुरा भन्नुहुँदा नजिकमा उभिएका पहरेदारहरूमध्ये एक जनाले यसो भन्दै येशूलाई थप्पड लायो, ‘के प्रधान पूजाहारीलाई यसरी जवाफ दिन्छस् ?‘ येशूले त्यसलाई भन्नुभयो, ‘मैले बेठीक भनेको भए त्यसको प्रमाण देऊ, तर यदि मैले ठीकै भनेको हुँ भने मलाई किन हिर्काउँछौ’ ?” (यूहन्ना १८:२२-२३) ।
जसरी आज कसैको मुखमा थुक्नु अपमानको कुरो हो, त्यसै गरी यहूदीहरूको दृष्टिकोणमा गालामा हिर्काइनु अपमानको कुरो थियो । डाँडाको उपदेशको यस खण्डमा येशूले सिकाउन खोज्नुभएको खास कुरो यही हो कि अपमान हुँदा पनि ख्रीष्टियानहरूले बदला लिनुहुँदैन । पावल विश्वासीहरूलाई आज्ञा गर्छन्, “प्रिय हो, आफैले कहिल्यै बदला नलेओ” (रोमी १२:१७) । यस्ता अपमानहरूले ख्रीष्टियानको व्यक्तिगत सुरक्षालाई धरापमा पार्दैनन् । आफ्नो अपमान गर्नेहरूसँग पनि बदला लिनुहुँदैन भन्ने शिक्षाको लागि येशू आफै नै सर्वोत्तम नमुना बन्नुभयो, “तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन । दु:ख भोग्नुहुँदा उहाँले धम्की दिनुभएन । तर उचित न्याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्नुभयो” (१ पत्रुस २:२३) ।