नाजी शिविरमा आफूलाई यातना दिने पहरेदारलाई क्षमा दिइन् बुमले

कोरी टेन बुम नेदरल्यान्डका एक जना ख्रीष्टियान महिलाको नाउँ हो । दोस्रो विश्वयुद्धको बेलामा उनी र उनको परिवारका अन्य सदस्यहरूले नाजी सेनाको हातबाट यहूदीहरूलाई भगाउन मद्दत गरेका थिए । पछि त्यो कुरा पत्ता लागेपछि उनीसँगै उनको परिवारलाई बन्दी शिविरमा थुनियो । उनको परिवार निर्वासनमा नै मरे भने उनी मुश्किलैले बाँचिन् । २८ डिसेम्बर १९४४ मा उनी मुक्त भइन् । छुटकारा पाएपछि उनले जर्मनीसहित युरोपका विभिन्न भूभागमा येशू ख्रीष्टमाथि भएको आफ्नो विश्वासको गवाही दिइन् ।

एक पटक ख्रिस्टाब्द १९४७ मा जर्मनीको प्रसिद्ध सहर म्युनिकको कुनै एउटा मण्डलीमा बुमले सम्बोधन गरिरहँदा खैरो वस्त्र लगाएको एक जना पुरुषले उनको ध्यान खिँच्यो । उनी परमेश्वरको क्षमाको विषयमा बोल्दै थिइन् । तर उनले त्यस मान्छेलाई चिनेपछि उनको मुटु चिसो भयो । त्यो पुरुष अरू कोही नभएर र्‍याभेन्सब्रक शिविरका एक जना पहरेदार थिए जो अति नै क्रूर थिए । त्यही शिविरमा बुमले आफ्नी दिदी गुमाएकी थिएन् भने उनी आफैले पनि अमानवीय क्रूरता भोगेकी थिइन् ।

बुमको सम्बोधन सकिएपछि ती मान्छे उनलाई भेट्न आए र यसो भने, “तपाईंको मिठो सन्देशको लागि धन्यवाद छ । हाम्रा सबै पाप समुद्रको पिँधमा पुगेका छन् भनी थाहा पाउनु कति अचम्मको कुरो हो!”

हो, बुमले क्षमाकै विषयमा बोलेकी थिइन् । उनले परमेश्वरको क्षमाको विषयमा सजिलैसित प्रचार गरेकी थिइन्, तर यहाँ उनकै सामु त्यस्तो मान्छे उभिएका थिए जसले उनलाई घृणा गरेका थिए र तिरस्कार गरेका थिए । ती नाजी दमनकारीलाई क्षमा दिन उनलाई मुश्किल भइरहेको थियो । ती अत्याचारीले बुमलाई बिर्सेका थिए, तर तिनको अनुहारलाई बुमले राम्ररी चिनेकी थिइन् ।

ती पुरुषले भन्दै थिए, “तपाईंले र्‍याभेन्सब्रक शिविरको उल्लेख गर्नुभयो । कुनै समय म त्यहाँ पहरेदार थिएँ । त्यो स्वीकार गर्न मलाई लाज लाग्छ तर त्यो साँचो हो । तर त्यसपछि मैले येशूलाई मेरा प्रभु र मुक्तिदाताको रूपमा चिनेको छु । मैले गरेका ती सबै क्रूरताको निम्ति मैले आफैलाई क्षमा दिन मलाई गार्‍हो भइरहेको छ । तर मलाई थाहा छ कि परमेश्वरले मलाई क्षमा दिइसक्नुभएको छ ।”

बुमलाई ती पहरेदारलाई क्षमा दिन निकै सङ्घर्ष गर्नु परिरहेको थियो । अन्ततः गहभरि आँसु झार्दै बुमले भनिन्, “मेरो सारा ह्रदयले म तपाईंलाई क्षमा दिन्छु ।”

Facebook Comments

Powered by Youth Circle