नासरतबारे खोजहरू पत्ता लागेसँगै बाइबलका आलोचकहरू स्तब्ध

एक जना नास्तिकवादी लेखक फ्र्याङ्क जिन्डलरले “जहाँ येशू कहिल्यै हिँड्नुभएन्” भन्ने लेखमा उल्लेख गरे कि नासरत भन्ने ठाउँ पुरानो करारमा उल्लेख गरिएको छैन । पावलले नासरतको उल्लेख गरेका छैनन् । गालीलका त्रिसठ्ठी ओटा नगरको नाउँ लिएको प्रसिद्ध प्राचीन ग्रन्थ ताल्मुडले यसको उल्लेख गरेको छैन । गालीलका अन्य पैँतालिसवटा गाउँ वा नगर (जसमा जाफाको पनि उल्लेख छ जुन आधुनिक नासरतभन्दा करिब एक माइल जति मात्र टाढा थियो) को उल्लेख गरेका यहूदी इतिहासकार योसिफसले पनि नासरतको उल्लेख गरेका छन् । चौथो शताब्दीअगि कुनै पनि इतिहासकार वा भूगोलविद्ले नासरतको उल्लेख गरेको छैन ।[i] सातौँ शताब्दीमा लेखिएको यहूदी साहित्यको कवितामा यो नाम पहिलो पटक देखा पर्छ ।[ii] यी सबै तर्क पेस गर्नुमा जिन्डलरको आशय यही हो कि बाइबलमा बाहेक अन्य कुनै प्राचीन पुस्तकमा नासरतको उल्लेख नभएकोले नासरत भन्ने ठाउँ येशूको समयमा अस्तित्वमा थिएन भनी देखाउनु हो । तसर्थ बाइबलमा भौगोलिक त्रुटि छ भन्ने उनीलगाएत अन्य सन्देहवादीहरूको निष्कर्ष रहेको थियो । यति मात्र नभई येशू बाँच्नुभएको पहिलो शताब्दीमा नासरत भन्ने सहर नै अस्तित्वमा थिएन भने येशू कसरी अस्तित्वमा हुनुभएको हुन सक्छ भन्ने तर्क गर्दै येशूलाई काल्पनिक पात्रको रूपमा देखाउन खोज्नु जिन्डलरको आशय थियो ।

लूकाको सुसमाचारमा नासरतलाई पहिलो पटक गालीलको सहर भनी उल्लेख गरिएको छ (१:२६) । येशूको जन्म बेथलेहेममा भए तापनि उहाँको बाल्यावस्था नासरतमा बित्यो । यूहन्नाबाट बप्तिस्मा लिनुअगिका वर्षहरू उहाँले नासरतमै बिताउनुभयो । तसर्थ नासरतको नाम येशूसँग अकाट्य रूपमा गाँसियो । उहाँलाई येशू नासरी भनेर चिनियो । नयाँ करारमा उनन्तिस पटक नासरतको उल्लेख गरिएको छ । नयाँ करारको बाइबलमा यति धेरै नासरतको उल्लेख भए तापनि येशूको समयमा नासरतको अस्तित्व थिएन भनी सन्देहवादीहरूले शङ्का गर्दै आएका थिए ।

तर पहिलो शताब्दीमा नासरत अस्तित्वमा थिएन भन्ने जिन्डलरलगायत आलोचकहरूको निष्कर्षलाई पुरातत्त्वविद्याले गतिलो झापड हानिदिएको छ । दक्षिणी फ्लोरिडा विश्वविद्यालयका डा. जेम्स स्ट्रेन्ज यस क्षेत्रका विशेषज्ञ हुन् । यस क्षेत्रमा गरिएको पुरतातत्त्वविद्याको खोजपछि तिनले निकालेको निष्कर्षअनुसार यो नगर निकै सानो थियो । करिब चार सय असी रोपनी क्षेत्रफलमा फैलिएको यस नगरमा पहिलो शताब्दीको पूर्वाद्र्धमा करिब चार सय असी जनसङ्ख्या रहेको थियो ।[iii]

येशूको समयमा नासरत एउटा ऐतिहासिक सहर थियो भन्नाका लागि अन्य मनग्गे पुरातात्त्विक साक्षीहरू पनि फेला पारिएका छन् । नासरतमा अस्ति-बाकसका टुक्राहरू भएका चिहानहरू फेला पारिएका छन् जसले पहिलो शताब्दीमा यहूदी उपस्थितिलाई अङ्कित गर्छ ।[iv] ख्रिस्टाब्द १९६९ मा नासरतमा गरिएको उत्खननमा पहिलो शताब्दीका माटोका भाँडाहरू, जारसाथै सामदानहरू पत्ता लगाइए ।[v] त्यहाँ पहिलो शताब्दीका घर पनि फेला पारिएको छ ।[vi]

कुनै समयमा पहिलो शताब्दी नासरतको लागि बाइबलेतर (बाइबल बाहिरका) साक्षीहरू नभए तापनि हालैका खोजहरूले यस्ता दरिला प्रमाणहरू फेला पारेका छन् कि येशू ख्रीष्टको समयमा नासरत एउटा सानो नगर थियो भनी पुष्टि गरिदिएका छन् । यसरी पुरातत्त्वविद्याले पहिलो शताब्दीको पूर्वाद्र्धमा नासरतको अस्तित्व भएको पुष्टि गरी आलोचकहरूको मुख बन्द गरिदिएको छ ।

 

सन्दर्भ स्रोतहरू:

[i]   Frank Zindler, “Where Jesus Never Walked,” American Atheist (Winter 1996-1997), 34.

[ii] Ian Wilson, Jesus: The Evidence (1984; reprint, San Francisco: Harper San Francisco, 1988), 67.

[iii] कमल अधिकारी, बाइबल, विज्ञान परमेश्वर (काठमाडौँ: जीएफए प्रकाशन, ख्रिस्टाब्द २०१६), पृ. सं. ३८ ।

[iv]        http://www.patheos.com/blogs/religionprof/2013/06/nazareth-in-the-first-century.html

[v]    Norman L. Geisler, The Popular Handbook of Archaeology and the Bible, (Eugene, OR: Harvest House. 2013), p. 319.

[vi]    https://www.livescience.com/49941-jesus-home-photos.html

Facebook Comments

Powered by Youth Circle