ख्रीष्टियान विश्वासलाई अङ्गाल्नुपर्ने ७ ओटा कारण

नासरतका येशूद्वारा स्थापित मार्गलाई ख्रिस्टियमत भनेर चिनिन्छ । पहिलो शताब्दीमा एसियामा जन्मनुभएका येशू कुनै राजनीतिक अगुवा वा विशिष्ट व्यक्तित्व हुनुहुन्थेन । मानव चोलामा उहाँले सामान्य जीवन जिउनुभयो । तरै पनि उहाँद्वारा स्थापित अभियानले केही शताब्दीभित्र पूरै रोमलाई ढाकिदियो र यो  आज हाम्रो भूमिसम्म फैलिएको छ । किन मानिसहरू यस विश्वासतर्फ आकर्षित भएका होलान् ? यहाँ ७ ओटा कारण पेस गरिएका छन् ।

१. यसको संस्थापक येशू विश्वसनीय हुनुहुन्छ 

येशूले मानव चोला धारण गर्नुका थुप्रै कारण थिए— भविष्यवाणीहरू पूरा गर्न, हाम्रा पापको निम्ति मर्न र उहाँलाई पछ्याउनेहरूलाई पिताकहाँ लैजान । उहाँ पानीमाथि हिँड्नुभएको, उहाँले आँधीलाई शान्त पार्नुभएको, लङ्गडोलाई हिँड्न सक्षम तुल्याउनुभएको, थोरै खानाले पाँच हजारलाई खुवाउनुभएको, पापरहित जीवन जिउनुभएको, दर्दनाक मृत्यु वरण गर्नुभएको र मृत्युमाथि विजय हासिल गर्नुभएको थियो भनी पहिलो शताब्दीमा उहाँलाई पछ्याउनेहरूले हामीलाई बताएका छन् । उहाँले आफ्ना घनिष्ठ मित्रहरूलाई कतै तिनीहरूले पनि येशूलाई छाडेर जान्थे कि भनेर सोध्नुहुँदा पत्रुसले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं ? तपाईंसित अनन्त जीवनका वचन छन् र हामीले विश्वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ” (यूहन्ना ६:६८–६९) ।

२. यसको धर्मशास्त्र भरोसायोग्य छ  

ख्रिस्टियमतको धर्मशास्त्रको नाउँ हो, बाइबल । चालिसभन्दा बेसी मानवीय लेखकले १,६०० वर्ष लगाएर लेखिएको यस पुस्तकमा नै ख्रीष्टियान विश्वास निर्भर छ । यसले एउटै कथावस्तु अर्थात् मानव–जातिको लागि परमेश्वरको छुटकाराको योजनालाई व्यक्त गर्दछ जुन सृष्टिबाट आरम्भ भएर अनन्तताको प्रवेशद्वारमा गएर टुङ्गिन्छ । यसले वर्णन गरेका इतिहास, भूगोल र संस्कृतिलाई पुरातत्त्वविद्याका आधुनिक खोजहरूले पटक–पटक पुष्टि गरेका छन् । इतिहासभरि नै यसको पाण्डुलिपिलाई कैयौँ पटक प्रतिलिति गरिएको भए तापनि यसको सच्चाइ गुमेको रहेनछ भनी बिसौँ शताब्दीमा पत्ता लगाइएका मृत सागरका मुट्ठाहरूले प्रमाणित गरेका छन् ।

३. यसले जीवनलाई उचित तवरले व्याख्या गर्छ 

सबै धर्मले हाम्रो अस्तित्वको अर्थ दिने कोसिस गर्दछन् । सबै धार्मिक प्रणालीले हामी कहाँबाट आयौँ, किन यहाँ छौँ र कतातिर जाँदै छौँ भन्नेजस्ता जीवनका गहनतम प्रश्नहरूको सम्बोधन गर्ने प्रयत्न गर्छन् । तर यो विश्वलाई जसले सृष्टि गर्नुभयो उहाँले नै यसको वास्ता र हेरचाह गर्नुहुन्छ भनी येशूले प्रकट गर्नुभयो । हामीले जे अनुभूति गर्छौं, जुन दुःख भोग्छौँ त्यही अनुभव गरी हाम्रो निम्ति मर्नुहुने त आखिरमा येशू नै हुनुहन्छ ।

४. यो इतिहासको निरन्तरता हो 

ख्रिस्टियमतको जरा प्राचीन संसारमा गडेको छ । जजसले ख्रीष्टलाई अङ्गाल्छन् तिनीहरूले उही परमेश्वरलाई पुज्छन् जसलाई आदम, अब्राहाम, सारा, सोलोमन र दानिएलले पुजेका थिए । येशूले इतिहासलाई इन्कार गर्नुभएन । उहाँ त इतिहासको परमेश्वर हुनुहुन्थ्यो (यूहन्ना १:१–१४) । उहाँ पृथ्वीमा हुनुहुँदा त्यही मूल योजनामुताबिक कसरी जिउने भनी उहाँले हामीलाई देखाउनुभयो । आफू मर्नुहुँदा उहाँले पुरानो करारको बलिदानसम्बन्धी प्रणालीलाई पूरा गर्नुभयो । ख्रीष्टियान विश्वास नयाँ विश्वास होइन, यो त उत्पत्तिदेखि प्रकाशसम्मको कथा हो । यो उहाँको कथा हो र हामीहरूको पनि (प्रेरित २:२२–३९; १ कोरिन्थी १५:१–८) ।

. यसमा जीवनलाई रूपान्तरण गर्ने शक्ति छ  

येशूलाई गिरफ्तार गरिँदा उहाँलाई छाडेर जाने उहाँका चेलाहरू मात्र केही हप्तापश्चात् नाटकीय रूपमा परिवर्तन भएनन् तर उहाँका शत्रुहरू पनि बद्लिए । ख्रीष्टियानहरूमाथि उग्र सतावट गर्ने एक जना पावल नाउँका मानिस थिए जो पुनरुत्थान हुनुभएका येशूसँग जम्काभेट गरेपछि उहाँकै बारेमा बताउने एक प्रमुख चेला बने (गलाती १:११–२४) । येशूद्वारा ऐतिहासिक अनपढहरू मात्र रूपान्तरित भएका छैनन् तर आधुनिक विद्वान्‌हरू पनि ।

. यसले समाजमा असाधारण प्रभाव पारेको छ

नासरतका एक जना सिकर्मीले संसारलाई परिवर्तन गरिदिनुभयो । पात्रो र मितिहरू उहाँको जन्मका मौन गवाहहरू हुन् । घरको छत, हार, कुण्डल, क्रूसको चिन्ह आदिजस्ता मानव निर्मित वस्तुहरू उहाँको मृत्युका दृश्यवान् साक्षीहरू हुन् । सामाजिक नीतिशास्त्र, वैज्ञानिक विधिसाथै कल कारखानासम्बन्धी नीति नियमको लागि पाश्चात्य दृष्टिकोणले जुन आधार तय गर्‍यो, त्यसको जग आधारभूत ख्रीष्टियान मूल्य-मान्यतामा गडेको थियो । पूर्वीयसाथै पश्चिमी जगत्‌मा भएका सामाजिक राहतका सङ्घ–संस्थाहरू हिन्दु धर्म, बुद्ध धर्म, नास्तिकवादसाथै गैरख्रिस्टियान अज्ञेयवादमा मौलाएका होइनन्, तर प्रत्यक्ष वा परोक्ष रूपमा बाइबलका मूल्य मान्यताहरूमा । समाज सुधारको निम्ति ख्रीष्टियान शिक्षाले जुन भूमिका खेलेको छ त्यो अतुलनीय छ ।

. यसमा उद्धार पाइन्छ    

वैकल्पिक धार्मिक दृष्टिकोणका पनि आआफ्नै मुक्तिदाताहरू छन् जो चिहानमा नै सीमित रहे । मृत्युमाथि विजय हासिल गर्नुहुनेमाथि भरोसा गर्नेहरूलाई अनन्त जीवन दिने प्रतिज्ञा अन्य कुनै धार्मिक प्रणालीले गर्दैन । ख्रीष्टले प्रस्ताव गर्नुभएको उद्धार हाम्रो काममा आश्रित छैन तर उहाँले हाम्रो निम्ति जे गर्नुभयो त्यसको स्वीकारमा । नैतिक वा धार्मिक प्रयासको साटो यस उद्धारको निम्ति केवल हामी पापी छौँ भन्ने स्वीकारको खाँचो छ (एफिसी २:८–१०) ।

Facebook Comments

Powered by Youth Circle