ख्रिस्टाब्द १८४६ मा पुरातत्त्वविद् अस्टिन हेन्री लेयार्डले एउटा स्मारक फेला पारे जसलाई शलमनेशर तृतीय अश्वेत स्मारक नाउँ दिइएको छ । यस स्तम्भलाई ८२५ ख्रिस्टपूर्वमा तयार पारिएको थियो । यसको अर्थ हुन्छ कि यो आजभन्दा झन्डै २,८०० वर्ष पुरानो ऐतिहासिकसाथै पुरातात्त्विक महत्त्व बोकेको खोज हो ।
सार्वजनिक स्तम्भको रूपमा खडा गरिएको यस स्मारकमा अश्शूरी राजा शलमनेशर तृतीय (८५८–८२४ ख्रिस्टपूर्व) को सैनिक पराक्रमको तारिफ गरिएको छ । १.९८ मिटर उचाइ र ४५ सेन्टिमिटर चौडाइ भएको यस स्मारकलाई हाल इङ्गल्यान्डको राजधानी लन्डनस्थित ब्रिटिस सङ्ग्रहालयमा राखिएको छ । चुनढुङ्गाबाट निर्मित यस खोजलाई इराकको निर्मुद सहरमा पत्ता लगाइएको हो । यो प्राचीन अश्शूरको राजधानी क्षेत्र थियो ।
यस स्मारकमा बाइबलीय पात्र येहूको उल्लेख भएकोले बाइबलका विद्यार्थीहरूको लागि यो अति नै महत्त्वपूर्ण ऐतिहासिक स्मारक हो । वास्तवमा येहूको उल्लेख गर्ने यो नै प्राचीनतम खोज हो ।
येहू इस्राएलका दसौँ राजा थिए जसले ८४१–८१४ ख्रिस्टपूर्वसम्म शासन गरे । २ राजा १०:३६ मा लेखिएको छ, “येहूले सामरियामा इस्राएलमाथि राज्य गरेको समय अट्ठाईस वर्ष थियो ।” राजा येहूको बारेमा बताउने मुख्य स्रोत २ राजा ९–१० अध्यायहरू हुन् ।
एकातिर यस खोजले येहू नाउँका राजा थिए भनी थप पुष्टि गर्दछ भने अर्कोतिर इस्राएलको उत्तरी राज्यको अस्तित्वलाई प्रमाणित गर्दछ । इस्राएलको राजाको उल्लेख गर्ने यो नै प्राचीनतम खोज हो । संसारकै शक्तिशाली साम्राज्यका राजाले इस्राएलका राजाको नाउँलाई आफ्नो स्मारकमा उल्लेख गर्नुलाई उदेकको नै मान्नुपर्छ ।