स्टिभेन— जसले आफूलाई तीन गोली हान्नेलाई क्षमा दिए

स्टिभेन म्याकडोनाल्ड न्युयोर्क पुलिस विभागका गुप्तचर थिए । १२ जुलाई १९८६ का दिन तिनी आफ्ना सहकर्मीसँगै अमेरिकाको न्युयोर्कस्थित सेन्ट्रल पार्कमा गस्ती गर्दै थिए । तिनीहरूले त्यहाँ साइकल चोरी भएको खबर पाएका थिए । १३-१५ वर्ष उमेरका तीन जना केटा शङ्कास्पद देखिए । तिनीहरूसित सोधपुछ गर्ने क्रममा साभोद जोन्स नाउँ गरेका १५ वर्षे ठिटोले म्याकडोनाल्डलाई तीन गोली हान्यो । पहिलो गोली आँखामाथि टाउकोमा, दोस्रो गोली घाँटीमा र तेस्रो गोली मेरुदण्डमा लाग्न पुगे । तथापि तिनी बाँच्न सफल भए ।

म्याकडोनाल्डले १८ महिना अस्पतालमा बिताए । उपचारपश्चात् डाक्टरहरूले मुश्किलैले तिनको जीवन बचाए तापनि त्यस अनपेक्षित घटनाले तिनको गर्धनभन्दा तलको भागलाई सदाको लागि पक्षाघाती बनाइदियो । तिनले रेस्पिरेटर (कृत्रिम रूपमा स्वासप्रश्वास गराउने यन्त्र) को माध्यमद्वारा मात्र सास फेर्न सक्ने भए । तिनले ह्विलचेएरमा बसेर जीवन बिताउनुपर्ने भयो ।

हृदयलाई छिया-छिया बनाउने यस्तो घटना त्यस बेला घट्न पुगेको थियो जुन बेला म्याकडोनाल्ड बुबा बन्ने तरखरमा थिए । आफ्नो जीवनमा जस्तोसुकै परिस्थिति आइपरे तापनि बदला तिनले चाहेको उत्तर थिएन भनी तिनले निर्णय गरे । हृदयमा वैमनस्य पाल्नुको साटो तिनले आफूलाई गोली हान्ने ठिटोलाई क्षमा दिए, “कहिले कहीँ मलाई गोली हान्ने किशोरदेखि म रिसाउँछु । तर अक्सर मलाई तिनीप्रति दुःख लाग्छ । मेरो आशा यति मात्र हो कि तिनले आफ्नो जीवन मानिसहरूको हानिको लागि नभई मदतको लागि फर्काउन् । म तिनलाई क्षमा दिन्छु र तिनले आफ्नो जीवनमा शान्ति र उद्देश्य प्राप्त गर्न सकुन् भनी अपेक्षा गर्दछु ।” क्षमा दिन सजिलो थिएन, यसको लागि समय लाग्यो, “मैले साभोदलाई तत्कालै क्षमा दिइनँ । यसको लागि समय लाग्यो । विगत चौध वर्षमा धेरै कुरा विकास भएका छन् । मेरो विचारमा मैले प्रायः हरेक दिन नै यसबारे सोच्ने गर्छु । तर म योचाहिँ भन्न सक्छु कि तिनलाई क्षमा दिएर मैले कहिल्यै पछुतो मानेको छैनँ ।”

स्टिभेनले किन क्षमा दिए ? “मैले साभोदलाई क्षमा दिएँ किनकि म विश्वास गर्दछु कि मेरो मेरुदण्डमा गोली लाग्नुभन्दा अझै खराब कुरो भनेको मेरो ह्रदयमा बदलालाई हुर्काउनु हो । यस्तो किसिमको मनसायले मेरो चोटलाई मेरो आत्मासम्म फैलाउँथ्यो जसले मेरी पत्नी, मेरो छोरो र अरूहरूलाई झनै हानि पुर्‍याउँथ्यो । … शारीरिक असर स्थायी भए तापनि म आत्मिक चोटलाई रोक्ने छनोट गर्न सक्छु ।”

तिनको क्षमा यति पूर्ण थियो कि साभोदले झ्यालखानामा नै जेल जीवन बिताइरहँदा म्याकडोनाल्डले तिनलाई भेट्न खोजेका थिए, यद्यपि त्यो सम्भव भएन । ९ वर्ष जेल जीवन बिताएपछि साभोद रिहा भए । तर जेलमुक्त भएको तीन दिनपश्चात् मोटरसाइकल दुर्घटनामा परेर तिनको निधन हुन पुग्यो ।

म्याकडोनाल्डका मित्रसाथै पास्टर जे. सी. अर्नोल्डद्वारा लिखित ह्वाई फरगिभनेस ? नामक पुस्तकमा म्याकडोनाल्डले प्रस्तावना लेखेका छन् जसमा तिनले आफूले क्षमा दिनुको कारणलाई सबिस्तार ढङ्गमा प्रस्तुत गरेका छन् ।

१ मार्च १९५७ मा म्याकडोनाल्डको जन्म अमेरिकामा भएको थियो । १० जनवरी २०१७ मा प्रभुको स्थायी घरमा प्रवेश गर्दा तिनी ५९ वर्षका थिए ।

क्षमा येशूले सिकाउनुभएको र अभ्यास गर्नुभएको एउटा उच्चतर सद्गुण हो जसलाई मनग्गे मानिसहरूले आफ्नो जीवनमा उतारेका छन् जसमध्ये एक हुन्, स्टिभेन म्याकडोनाल्ड ।

Facebook Comments

Powered by Youth Circle