बाइबल परमेश्वरको प्रेमको प्रकाश हो— नासाका वैज्ञानिक ब्राउन

मण्डली र बाइबलसित सम्बन्धित कुराहरूप्रति चासो नदेखाउने एक जना व्यक्ति ख्रिस्टाब्द १९४६ मा अरुचिपूर्वक अमेरिकाको टेक्सासस्थित एउटा मण्डलीमा गए । परिणामत: तिनले अपेक्षा नगरेका सम्पत्ति अर्थात् अनन्त जीवन पाए जसको बारेमा तिनी आफैले भनेका छन्:

“एक दिन फोर्ट ब्लिसमा एक जना छिमेकीले मलाई उहाँसँगै मण्डली जान अनुरोध गरे । मैले स्वीकार गरेँ किनकि अमेरिकाको मण्डली सामाजिक क्लबजस्तै छ कि छैन भनेर म हेर्न चाहन्थेँ । मण्डली क्लबजस्तै हो भन्ने मेरो बुझाइ रहेको थियो । मैले सोचेभन्दा विपरीत मैले एउटा सानो सेतो भवन देखेँ । … ती मानिसहरूको समुदाय जीवन्त र उत्साही थियो । धर्म भनेको विगतले सुम्पिदिएको ठुलो-ठुलो मण्डली भवन वा आखिरी घडीमा गरिने शीघ्र प्रार्थना होइन रहेछ भनी मैले पहिलो पटक वास्तवमै बुझेँ । प्रभावकारी हुनका लागि धर्मलाई अनुशासन र प्रयत्नद्वारा समर्थन गरिनुपर्छ ।”

१९१२ मा जर्मनीमा जन्मेका ती मानिसको नाउँ हो— भोन ब्राउन । तिनी अन्तरिक्ष-यात्रासम्बन्धी इन्जिनिएरसाथै अन्तरिक्ष कालिगड हुन् । रकेटको प्राविधिक विकासमा तिनको उल्लेखनीय भूमिका रहेको छ । नासाले तिनलाई “रकेट विज्ञानका पिता” भनेको छ । तिनले नै सेल फोन, सेटलाइट रेडियो, इन्टरनेट, जीपीएस र राडरको लागि जग बसाल्ने काम गरे ।

२२ वर्षकै उमेरमा भौतिकशास्त्रमा विद्यावारिधि प्राप्त गर्न सफल ब्राउन ३० वर्ष नपुग्दै तिनको लागि असि जना वैज्ञानिक र प्राविधिकहरू काम गर्थे । तिनकै नेतृत्वमा १९४२ मा पहिलो साँचो रकेट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।

ख्रीष्टियान भइसकेपछि ब्राउनले आफ्नो जीवनको पछिल्लो घडीमा धार्मिक क्षेत्रमा निकै चासो देखाए । विज्ञान र धर्मको पुरक, मृत्युपछिको जीवनसाथै परमेश्वरमाथि तिनको विश्वासबारे तिनले सार्वजनिक रूपमा बोले र लेखे । तिनले भनेका छन्, “विज्ञानद्वारा मान्छेले सृष्टिका रहस्यहरूबारे थप जान्न प्रयत्न गर्दछ । धर्मद्वारा उसले सृष्टिकर्ताबारे जान्ने कोसिस गर्दछ ।”

सृष्टिवाद “विश्व, जीव र मानिसको उत्पत्तिको लागि व्यवहार्य वैज्ञानिक सिद्धान्त” हो भन्ने ब्राउनको ठम्याइ रहेको छ । अर्को ठाउँमा तिनले व्यक्त गरेका छन्, “विज्ञान र धर्म एउटै घरमा भएका दुईवटा झ्यालजस्ता हुन् जसबाट हामी सृष्टिकर्ताको वास्तविकतासाथै उहाँको सृष्टिमा प्रदर्शित नियमहरूलाई हेर्छौं ।” तिनको लागि बाइबल परमेश्वरको स्वभाव र प्रेमको प्रकाश हो । तिनको लागि प्रार्थना पनि निकै महत्त्वपूर्ण विषय थियो ।

Facebook Comments

Powered by Youth Circle