डाँडाको उपदेशमा येशूले भन्नुभयो, “तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ, त्यो महासभामा जवाफदेही हुनेछ । तर जसले आफ्नो भाइलाई ‘तँ मूर्ख’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ” (मत्ती ५:२२) । तर येशू आफैले धार्मिक अगुवाहरूलाई ‘मूर्ख’ भन्नुभयो, “मूर्ख र अन्धा हो, कुनचाहिँ ठूलो हो ? सुन कि सुनलाई पवित्र पार्ने मन्दिर ?” (मत्ती २३:१७) । पावलले पनि गलातियाका विश्वासीहरूलाई ‘मूर्ख’ भने, “हे मूर्ख गलाती हो, कसले तिमीहरूलाई मोहनी लाएर वशमा पार्यो ? तिमीहरूका आँखाकै सामुन्ने येशू ख्रीष्ट क्रूसमा टाँगिनुभएको कुरा स्पष्ट रूपले वर्णन गरिएको थियो” (गलाती ३:१) । के हामीले कसैलाई ‘मूर्ख’ भन्न मिल्छ ?
एउटै शब्दका विविध अर्थ हुन्छन् भन्ने सत्यतालाई ख्याल गरियो भने माथिका सन्दर्भहरूलाई बुझ्न सजिलो हुन्छ । उही शब्दलाई बेग्लाबेग्लै सन्दर्भमा बेग्लाबेग्लै अर्थमा प्रयोग गर्न सकिन्छ । माउसको अर्थ मुसा मात्र हुँदैन, तर कम्प्युटरको लागि प्रयोग गरिने उपकरण पनि हुन्छ । पशु कुकुरको लागि मात्र नभएर घृणित व्यक्तिको लागि पनि ‘कुकुर’ शब्दको प्रयोग गरिन्छ ।
मत्ती ५:२२ मा येशूद्वारा व्यक्त ‘मूर्ख’ (ग्रिकमा राका जुन आरमेइक रेकाबाट आएको हो) शब्दलाई त्यही प्रसङ्गमा बुझिनुपर्छ । राकाको अर्थ हुन्छ— बुद्धू । येशूले यहाँ हत्याको विरुद्धमा भएको व्यवस्थाबारे सिकाउँदै हुनुहुन्छ (मत्ती ५:२२-२६) । कसैको ज्यान लिनु मात्र हत्या हुन्थ्यो भनी धार्मिक अगुवाहरूले सिकाउने गर्थे । तर येशूले तिनीहरूको शिक्षालाई चुनौती दिँदै भन्नुभयो कि हत्यामा पुर्याउने भित्री मनसाय पनि दोषी हुन्छ । निस्सन्देह, हत्या अपराध हो तर हत्यामा पुर्याउने रिस पनि उत्तिकै दोषी हुन्छ । येशूको शिक्षाअनुसार यो अर्थमा कसैलाई ‘मूर्ख’ भन्दा उसले आफ्नो हृदयमा रिस साँचिरहेको हुन्छ जसले हत्यामा पुर्याउन सक्छ र यो भित्री पापिष्ठ मनसाय नै परमेश्वरको सामु दोषी ठहरिन पर्याप्त हुन्छ ।
मत्ती २३ अध्यायमा येशूले घृणाको भाव राखी धार्मिक अगुवाहरूलाई ‘मूर्ख’ भन्नुभएको होइन । तिनीहरूले उहाँलाई मसीहको रूपमा इन्कार गरे । फलत: तिनीहरू मूर्ख भए किनकि जसकहाँ येशू आउनुभयो तिनीहरूले उहाँलाई चिन्न सकेनन् ।
गलाती ३:१ मा पावलले गलातियाका विश्वासीहरूलाई ‘मूर्ख’ भन्दा घृणाको भाव राखी बोलेका थिएनन् । परमेश्वरको सामु धर्मी ठहरिन मोशाको व्यवस्था पालना गर्नुपर्छ भनी विश्वास गरेकाले पावलले तिनीहरूलाई ‘मूर्ख’ भनेका थिए ।