थोमास अक्विनास मध्यकालका महान्तम दार्शनिकसाथै ईश्वरशास्त्री थिए । तिनी मण्डलीका डाक्टर थिए । प्राकृतिक ईश्वरशास्त्रका अग्रणी अक्विनासले पाश्चात्य विचारमा व्यापक प्रभाव पारे । खास गरी नीतिशास्त्र, प्राकृतिक नियम, पराभौतिक दर्शन र राजनीतिक सिद्धान्तमा प्रस्तुत तिनका विचारको पक्षमा वा विपक्षमा अधिकांश आधुनिक दर्शनशास्त्र खडा छ । सुम्मा थियोलोजिका र सुम्मा कन्ट्रा जेन्टाएल्स नामक आफ्ना दुईवटा कृतिका लागि अक्विनास निकै परिचित छन् । थोमास अक्विनासको जन्म ख्रिस्टाब्द १२२५ मा भएको मानिन्छ ।
१८ वर्षको उमेरमा तिनी नेपल्स विश्वविद्यालयमा गए । यही विश्वविद्यालयमा अध्ययन गर्दा तिनी डोमिनिकान नाम गरेको धार्मिक समूहसित परिचित हुन पुगे । यस समूहप्रति तिनको रुचि बढेपछि तिनी यही समूहमा आउन चाहे जुन तिनको बुबा आमाको इच्छा थिएन ।
डोमिनिकान समूहमा जाने अक्विनासको इच्छाले बुबा आमालाई क्रुद्ध तुल्यायो । अक्विनासले आफ्नो मन नबद्ल्ने थाहा पाएपछि तिनको परिवारले तिनलाई घरमै थुनेर राख्ने सोच बनायो । डोमिनिकान समूहसित मिल्न रोमतर्फ जाँदै गर्दा अक्विनासका दाजुभाइहरूले तिनलाई बाटोमा समाती घरमा ल्याए अनि पारिवारिक महलभित्र थुने जहाँ तिनले लगभग एक वर्ष बिताउनुपर्यो । तरै पनि अक्विनासले आफ्नो मन बद्लेनन् । पछि पारिवारिक बन्धनबाट मुक्त हुनेबित्तिकै तिनी डोमिनिकान समूहमा गईकन छाडे ।
ख्रिस्टाब्द १२४५ मा अक्विनास अध्ययनको लागि पेरिस विश्वविद्यालयमा गए । विश्वविद्यालयमा तिनी शान्त र धेरै नबोल्ने भएकाले तिनका केही सङ्गी विद्यार्थीहरूले तिनलाई शारीरिकसाथै मानसिक रूपमा सुस्त ठानी ‘लाटो गोरु’ भन्थे । तथापि आफ्ना ती मित्रहरूलाई गलत साबित गर्दै अक्विनासले आफ्नो अध्ययन मात्र पूरा गरेनन्, तर तिनी शिक्षकसमेत बने ।
१२५६ सम्म आइपुग्दा अक्विनासले ईश्वरशास्त्रमा स्नतकोत्तर पूरा गरिसकेका थिए । ४५ वर्षको उमेरमा तिनी अनमोल सेवक भइसकेका थिए ।
अक्विनासले ९० ओटाभन्दा बेसी कृति लेखेका छन् जुन विभिन्न विषयहरूसित सम्बन्धित छन् । अगस्टिनले जस्तै अक्विनासले पनि विश्वास धर्मशास्त्रमा अभिलिखित प्रकाशमा आधारित थियो भनी मान्थे, तर तिनले कारणलाई पनि भरमग्दुर प्रयोग गरे ।
परमेश्वरको अस्तित्वको पक्षमा अक्विनासले प्रस्तुत गरेका पाँचवटा तर्कका लागि तिनी निकै प्रसिद्ध छन् । केवल परमेश्वर अनन्त हुनुहुन्छ र उहाँमात्रै असृजित हुनुहुन्छ । परमेश्वरले समयको सृजना गर्नुअगि यो अस्तित्वमा थिएन । चाखलाग्दो कुरो यो हो कि आधुनिक वैज्ञानिक खोजहरू अनन्तता र सृष्टिबारे तिनका विचारहरूसित मेल खान्छन् ।