बेथानी— बायाँ हात गुमे तापनि पानीसित खेल्ने स्त्रीको रूपमा परिचित

१३ वर्षकी छँदा बेथानी आफ्ना दौँतरी र नातेदारहरूसँगै समुद्री तटमा गइन् । उनी समुद्रको छालसँगै बहने खेल खेल्न गएकी थिइन् जसलाई सर्फिङ्ग भनिन्छ । मिति ३१ अक्टोबर २००३ को हो । बिहानको साढे सात बजेको थियो । सर्फिङ्ग खेल्दा प्रयोग गरिने आफ्नो फलेकमाथि पल्टिरहँदा उनले आफ्नो बायाँ हात पानीमा झारेकी थिइन् । १४ फिट लामो समुद्री माछाले उनलाई आक्रमण गर्‍यो र उनको बायाँ हातको काँधभन्दा तल बेसरी चोट पुर्‍यायो । माछाको आक्रमणबाट बाँच्न सफल भए तापनि उनले आफ्नो बायाँ हात भने सदाको लागि गुमाइन् । तथापि येशू ख्रीष्ट उनको शान्तिदाता हुनुहुन्थ्यो, “सार्कले मेरो पाखुरालाई अलग गर्दा मलाई शान्ति दिनुहुने येशू नै हुनुहुन्थ्यो । मैले जहिलेसुकै कठिन समयको सामना गर्दा म येशूमा भरोसा गर्छु ।”

माछाको आक्रमण कारण बेथानी हामिल्टनले आफ्नो बायाँ हात गुमाए तापनि उनी दुनियाँको लागि प्रेरणाकी स्रोत बनेकी छन् । पिता टोम र माता चेरीबाट ८ फेब्रुअरी १९९० मा अमेरिकामा जन्मेकी बेथानी समुद्रसित खेल्ने स्त्रीको रूपमा अन्तर्राष्ट्रिय जगत्‌मा परिचित छिन् । सानै उमेरदेखि पानीको छालसित रमाउन थालेकी उनले ८ वर्षकै कलिलो उमेरदेखि प्रतिस्पर्धात्मक सर्फिङ्ग खेल्न सुरु गरेकी थिइन् ।

आफ्नो एउटा हात गुमे तापनि परमेश्वरमाथि भरोसा राख्दै उनी अगाडि बढिरहिन् । उनले जीवन जिउने इच्छालाई त्याग गरिनन् । उनी जीवनमा केही असाधारण कुरो गरेर देखाउन चाहन्थिन् । उनले आफ्नो असाधारण प्रतिभा संसारलाई देखाइरहेकी छन् ।

बेथानीका पास्टर स्टिभ थोम्पसनले उनको बारेमा भनेका छन्, “उनी भविष्यको प्रतीक्षा गर्दै छिन् । उनले आफैलाई सोधेकी छन्, ‘मसित जीवन छ; म जीवनमा रमाउँछु र मेरो जीवन आनन्दले भरिएको छ भनेर म संसारलाई कसरी देखाउन सक्छु ?’ परमेश्वरले उनको हेरचाह गर्दै हुनुहुन्छ भन्ने कुरामा उनको प्रस्ट भरोसा छ ।”

माछाको आक्रमणपश्चात् बेथानी विभिन्न टेलिभिजन सोहरूमा देखा परिसकेकी छन् । झन्डै पाँच वर्षकै कलिलो उमेरमा आफ्नो हृदय येशू ख्रीष्टलाई सुम्पेकी बेथानीले विभिन्न पुरस्कारसाथै इनामहरू जितेकी छन् ।

उनको कथा पुस्तक र फिल्ममार्फत प्रचार-प्रसार हुँदै छ । २००४ मा प्रकाशित आत्मकथामा उनले आफ्नो अनुभव समेटेकी छन् । त्यसको ७ वर्षपछि अर्थात् २०११ मा उनकै आत्मकथालाई आधार बनाई एउटा फिल्म पनि रिलिज भएको थियो ।

एउटा हातको क्षति सर्फिङ्गसम्बन्धी आफ्ना लक्ष्यहरू पूरा गर्न अवरोध बनेको छैन भनी उनले प्रस्ट रूपमा देखाएकी छन् । २००७ मा स्थापित फ्रेन्ड्स अफ बेथानी नामक उनको मुनाफारहित संस्था येशू ख्रीष्टमा प्राप्त हुने आशा र प्रेम बाँड्न समर्पित छ ।

२०१३ मा आदम डिर्क्ससित वैवाहिक बन्धनमा बाँधिएकी बेथानीको दम्पत्तीलाई परमेश्वरले दुई छोरासहित आशिषित तुल्याउनुभएको छ ।

सर्फिङ्गका अतिरिक्त बेथाली टेनिस खेल्छिन्; भलिबल खेल्छिन्; पौडी खेल्छिन्; पहाडहरूमा दौडिन्छन् । धेरैका लागि प्रेरणा बनेकी यी साहसी स्त्री हरेक दिन बिहान पाँच बजे उठ्छिन् ।

आफूसित जे छैन त्यो भइदिएको भए भनेर कल्पनाको सागरमा डुब्नुको साटो आफूसित जे छ त्यसैलाई सदुपयोग गरी यथार्थताको संसारमा अगाडि बढ्ने हामिल्टनजस्ता व्यक्तिहरू सफलताको खुड्किलो चढ्छन् ।

Facebook Comments

Powered by Youth Circle