बाटो, सत्‍य र जीवन म नै हुँ— येशू ख्रीष्ट

जाँच पडतालको निम्ति प्रभु येशू ख्रीष्ट हाकिम पिलातसको सामु उभ्याइनुहुँदा तिनले उहाँलाई सोधेका थिए, “सत्य के हो ?” (यूहन्ना १८:३८) । पिलातसले मात्र नभई इतिहासमा मनग्गे चिन्तकहरूले सोधेका प्रश्न यही हो— “सत्य के हो ?” यसलाई वर्तमानमा झनै बेसी सोधिने गरिएको छ । मैले पछिल्लो समयमा पढेर सिद्ध्याएको पुस्तक यही प्रश्नबारे केन्द्रित छ । पुस्तकको नाउँ True for You, But Not for Me: Overcoming Objections to Christian Faith हो । पुस्तक पठन यात्रामा यो मेरो पचासौँ पुस्तक हो । यसका लेखक हुन्, पावल कोपान ।

पावल रक्षाशास्त्री, ईश्वरशास्त्रीसाथै विश्लेषणात्मक दार्शनिक हुन् । तिनी २५ ओटाभन्दा बेसी पुस्तकका रचनाकारसाथै सम्पादक हुन् । तिनले धर्मको दर्शनशास्त्र, रक्षाशास्त्र, ईश्वरशास्त्र, विज्ञान र धर्मसाथै येशू ख्रीष्टको ऐतिहासिकताजस्ता विषयहरूमा कलम चलाएका छन् ।

ख्रिस्टाब्द २००० मा धर्मको दर्शनशास्त्रमा विद्यावारिधि गरेका पावलद्वारा लिखित यो कृतिमा लेखकले प्रस्ट, सङ्क्षिप्तसाथै विश्वास दिलाउने तर्कहरू पेस गरेका छन् । ख्रिस्टाब्द २००९ मा प्रकाशित यस संशोधित पुस्तकमा लेखकले ख्रीष्टियान विश्वासको विरुद्ध उठाइएका प्रश्नहरूको जवाफ दिएका छन् । २४२ पृष्ठको यस रचनालाई पढेर फत्ते गर्न मलाई १० दिन (अक्टोबर ४-१३) लाग्यो । पुस्तकमा जम्माजम्मी ३३ ओटा पाठ छन् जसलाई ५ ओटा भागमा विभाजन गरिएको छ ।

विज्ञान र प्रविधिको विकाससँगै विश्व एउटा ग्रामीण गाउँको रूपमा परिणत भएको छ । आज संसारको एउटा कुनामा सृजित विचारधारा एकै छिनमा अर्को कुनामा पुग्छ । पाश्चात्य जगत्‌मा मात्र नभएर पूर्वीय जगत्‌मा पनि व्याप्त एउटा अवधारणा हो— सापेक्षवाद । निरपेक्ष सत्यता भन्ने कुरो छैन, सत्यता केवल सापेक्ष हुन्छ भनी यसले दाबी गर्दछ । ‘त्यो तपाईंको लागि साँचो हुन सक्छ, तर मेरो लागि भने होइन,’ ‘धेरै मानिस असहमत छन्, त्यसैले सापेक्षवाद साँचो हुनुपर्छ,’ ‘तपाईंले केवल पाश्चात्य लोजिकको प्रयोग गर्दै हुनुहुन्छ,’ ‘अरूको न्याय गर्ने तपाईं को हो र ?,’ ‘ख्रीष्टियानहरू अन्य दृष्टिकोणहरूप्रति असहिष्णु हुन्छन्,’ ‘सबैको आआफ्नै हेराइ हुन्छ,’ ‘यो केवल तपाईंको दृष्टिकोण हो’ आदिजस्ता अभिव्यक्तिहरूमा सापेक्षवाद प्रकट हुन्छ ।

ख्रीष्टियान विश्वासबारे उठान गरिने सामान्य गलत बुझाइहरूलाई लेखकले पुस्तकमा सटिक ढङ्गमा सम्बोधन गरेका छन् । तार्किक ढङ्गमा जवाफ दिन सक्ने लेखकको अद्भूत क्षमताको तारिफ गरिनुपर्छ । यो हरेक विश्वासीले पढ्नुपर्ने कृति हो । रक्षाशास्त्रसम्बन्धी पुस्तकहरूको सूचीमा यो एउटा उत्कृष्ट कृति हो । आफ्नो ख्रीष्टियान विश्वासलाई मजबुत बनाउन चाहने हरेक ख्रीष्टियानको व्यक्तिगत पुस्तकालयमा यसले ठाउँ पाउनुपर्छ ।

पुस्तकमा लेखकले सापेक्षवादद्वारा उठान गरिने यस्ता अवरोधहरूलाई तार्किक ढङ्गमा जवाफ दिएका छन् । तर हामीले बुझेको हुनुपर्छ कि सत्यता सापेक्ष नभई निरपेक्ष हुन्छ । दुईमा दुई जोड्दा कति हुन्छ ? चाहे अमेरिकामा होस् वा नेपालमा, चाहे दसौँ शताब्दीमा होस् वा एक्काइसौँ शताब्दीमा, यसको सही जवाफ सधैँ चार हुन्छ । अन्य सबै जवाफ गलत छन् । “तपाईंको लागि चार होला तर मेरो लागि तीन हुन्छ”, भनी तपाईं दाबी गर्न सक्नुहुन्न । हाल नेपालको राजधानी काठमाडौँ हो; नेपाललाई ७ ओटा प्रदेशमा विभाजन गरिएको छ; नेपालको वर्तमान प्रधानमन्त्री केपी ओली हुन् । के यी भनाइहरू मेरा लागि मात्र साँचा हुन्छन् र ? तपाईंको लागि हुँदैनन् र ? अवश्य हुन्छ । “तपाईंले अहिले नेपाली भाषामा लिखित लेख पढ्दै हुनुहुन्छ ।” के यो भनाइ कसैका लागि बेठिक हुन सक्छ र ?

सत्य के हो ? येशूले जवाफ दिनुभएको छ, “बाटो, सत्‍य र जीवन म नै हुँ” (यूहन्ना १४:६) ।

Facebook Comments

Powered by Youth Circle