बाइबलसित सम्बन्धित ३,००० वर्ष पुरानो क्यालेन्डर फेला पर्‍यो

ख्रिस्टाब्द १९०८ मा प्राचीन सहर गेजरमा चुनढुङ्गामा लिखित एउटा शिलालेख फेला पारियो । यस शिलालेखलाई उचित किसिमले ‘गेजेर क्यालेन्डर’ भनिएको छ । गेजेर एउटा प्राचीन सहरको नाउँ हो जुन यरूशलेमदेखि २० माइल पश्चिममा पर्छ । आएरल्यान्डका पुरातत्त्वविद् आर. ए. स्टेवार्ट मेकालिस्टरले यो खोज पत्ता लगाएका थिए ।

११.१ सेन्टिमिटर लमाइ र ७.२ सेन्टिमिटर चौडाइ भएको यो शिलालेखलाई दसौँ शताब्दी ख्रिस्टपूर्वको मिति दिइएको छ । यसको अर्थ हुन्छ कि यस क्यालेन्डरलाई आजभन्दा तीन हजार वर्ष पहिले तयार पारिएको थियो । हाल यसलाई टर्कीस्थित स्तानबुल आर्खियोलोजी म्युजियम्समा राखिएको छ ।

यस खोजमा कृषिसित सम्बन्धित गतिविधिको १२ महिनाको व्याख्या पाइन्छ । यस शिलालेखमा ७ ओटा हरफ छन् र यसलाई हिब्रू भाषामा लेखिएको छ । शिलालेखमा लिखित भाषा यस प्रकार रहेको छ, “कटनीको लागि दुई महिना, रोप्नको लागि दुई महिना, पछिल्लो वृद्धिको लागि दुई महिना, सनपाट कटनीको लागि एक महिना, जौ कटनीको लागि एक महिना, अन्न लेखाजोखाको लागि एक महिना, छिँवल्नको लागि दुई महिना, फल कटनीको लागि एक महिना ।”

दसौँ शताब्दी ख्रिस्टपूर्वतिर प्राचीन इस्राएलीहरूले १२ महिना भएको पात्रोलाई प्रयोग गर्दा रहेछन् भनी यस खोजले प्रकट गर्छ । पुरानो करारका विभिन्न खण्डहरूबाट कृषिसित सम्बन्धित इस्राएलीहरूका विविध गतिविधि र तिनीहरूले प्रयोग गर्ने पात्रोलाई पुनर्निर्माण गर्न सकिन्छ । बिसौँ शताब्दीको पूर्वार्द्धमा फेला पारिएको यस क्यालेन्डरमा महिनाका नाउँहरू उल्लेख नभए तापनि ती नाउँहरू यस प्रकार छन्: (१) आबीब, (२) जीभ, (३) सीवान, (४) तम्मूज, (५) आव, (६) एलूल, (७) एतानीम, (८) बूल, (९) किसलेव, (१०) तेबेत, (११) शेबात र (१२) अदार ।

पुरानो करारका निम्न लिखित खण्डहरूमा माथिका अधिकांश महिनाहरूका नाउँ उल्लिखित छन्: प्रस्थान १३:४; १ राजा ६:१; एस्तर ८:९; इजकिएल ८:१४; नहेम्याह ६:१५; १ राजा ८:२; १ राजा ६:३८; जकरिया ७:१; एस्तर २:१६; जकरिया १:७ र एस्तर ३:७ ।

यस क्यालेन्डरमा हिब्रू नाम ‘अबिया’ को उल्लेख पनि पाइन्छ । यस नाउँको अर्थ हुन्छ— यहोवे मेरा पिता हुनुहुन्छ । यो लेखकको हस्ताक्षर हुन सक्ने अनुमानलाई नकार्न सकिँदैन । शमूएल, राजा र इतिहासका पुस्तकहरूमा यो नाउँ पाइन्छ । क्यालेन्डरमा यो नाउँको उल्लेखले दसौँ शताब्दी ख्रिस्टपूर्वमा इस्राएल र यहूदामा यो एउटा सामान्य नाउँ रहेछ भनेर पनि पुष्टि गर्दछ ।

Facebook Comments

Powered by Youth Circle