ख्रीष्टियान विश्वासले जीवनका सबै पक्षलाई समेट्छ

विज्ञानअनुसार यो सम्पूर्ण विश्व १३.७ अरब वर्षअगि महाविस्फोटमा अस्तित्वमा आयो । यो विश्व फैलिँदै र चिसिँदै गएपछि अणु, तारा, तारापुञ्ज, ग्रह, जीवन र अन्तत: मानव-जाति देखा परे ।

यो माथिको अनुच्छेद क्रिस्चियन वर्ल्डभिउ ह्यान्डबुकबाट सम्पादित अंश हो र यो दृष्टिकोण सृष्टिबारे बाइबलीय विवरणसित मेल खान्छ । बाइबलअनुसार यो सारा विश्व अनन्त नभई एउटा निश्चित बिन्दुमा थालनी भयो (उत्पत्ति १:१) । पुस्तक पठन यात्रामा यो मेरो ४९ औँ पुस्तक हो । ४१२ पृष्ठको यो ठुलो पुस्तक सक्न मलाई २२ दिन (१२ सेप्टम्बर -३ अक्टोबर) लाग्यो । हरेक दिन १ घण्टा पढ्ने आदत भएकोले यसलाई सक्न २२ घण्टा लाग्यो । २०१९ मा प्रकाशित यस कृतिको रचनाको लागि ९० जना लेखकको योगदान रहेको छ । यी लेखकहरू पचासभन्दा बेसी संस्थासाथै मण्डलीका हुन् । डेभिड एस. डोकरी तथा ट्रेभिन के. वाक्सद्वारा सम्पादित यो पुस्तकले ख्रीष्टियान आस्थाका मनग्गे सन्दर्भहरूलाई सम्बोधन गरेको छ । वर्तमान संस्कृतिमा यो निकै प्रभावशाली कृति हो ।

पहिलो भागमा ख्रीष्टियान विश्वदृष्टि (वर्ल्डभिउ) को परिचय दिइएको छ भने दोस्रोमा प्रकाश र बाइबलबारे चर्चा गरिएको छ । ईश्वरशास्त्रमा प्रकाश भन्नाले परमेश्वरले आफैलाई प्रकट गराउनु भन्ने बुझिन्छ । तेस्रो भागमा परमेश्वर र संसारको विषयमा उल्लेख गरिएको छ जसमा परमेश्वरको अस्तित्वको लागि विविध साक्षीहरू पेस गरिएका छन् । चौथो भागले येशू ख्रीष्ट र ख्रीष्टियान सत्यताको नमुनालाई सम्बोधन गर्छ भने पाँचौँ भागमा दर्शनशास्त्र र नीतिशास्त्रबारे छलफल गरिएको छ । छैटौँ भागमा विश्वका प्रमुख धर्महरू र ख्रिस्टियमतसित प्रतिस्पर्धा गर्ने विविध दृष्टिकोणको विषयमा सम्बोधन गरिएको छ । संस्कृतिप्रति कस्तो ख्रीष्टियान दृष्टिकोण हुनुपर्छ भनी सातौँ भागमा उल्लेख गरिएको छ । सरकार भनेको के हो र ख्रिस्टियमतले कसरी सरकारमा प्रभाव पारेको छ भन्ने लगायतका प्रश्नहरू ‘सरकार’ अन्तर्गत आठौँ भागमा बहस गरिएका छन् । नवौँ भाग शिक्षासित सम्बन्धित छ जहाँ कसरी ख्रीष्टियान आस्थाले विश्वव्यापी शिक्षाको निम्ति मलजल गर्‍यो भन्ने तथ्यलाई तपाईंले पाउनुहुने छ । दसौँ भागले विज्ञानको बारेमा चर्चा गर्छ । बाइबलले आधुनिक विज्ञानको उदय गराउन मदत मात्र गरेन तर आधुनिक विज्ञानका संस्थापकहरू बाइबल विश्वास गर्ने विश्वासीहरू थिए भनी प्रस्ट पारिएको छ । भाग ११ कला र मनोरञ्जनसित सम्बन्धित छ भने १२ व्यापार र अर्थतन्त्रसित । भाग १३ मा ख्रीष्टियान विश्वदृष्टि र सेवाकार्यबारे उल्लेख गरिएको छ भने १४ मा विश्वव्यापी मण्डलीबारे सम्बोधन गरिएको छ ।

ख्रीष्टियान आस्था हप्ताको एक दिनको कुरो मात्र होइन । यो त सातै दिन, तिसै दिन र ३६५ दिनै सरोकार राख्ने आस्था हो । यो आत्मिक सवालहरूसित मात्र सम्बन्धित नभई यसले जीवनका सबै पक्षलाई प्रभाव पार्छ । एउटा ख्रीष्टियान जङ्गलको बिचमा झुपडी बनाएर जिउँदैन, ऊ मानिसहरूका बिचमा समाजमा बसेको हुन्छ । यस्तो अवस्थामा कला, साहित्य, सङ्गीत, नीतिशास्त्र, सरकार, कानुन, शिक्षा आदिजस्ता चौतर्फी क्षेत्रमा उसको सम्बन्ध रहेको हुन्छ । ख्रीष्टियान आस्था यी पक्षहरूबाट अलग हुन सक्दैन । यी सबै पक्षसित सम्बन्धित भइरहँदा हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ भनी बुझ्न यस कृतिले पाठकलाई मदत पुर्‍याउँछ ।

एउटा तर्कसङ्गत विश्वदृष्टि व्यक्तिगत निजी हेराइभन्दा बढी हो । विश्वदृष्टि एउटा बृहत् जीवन-शैली हो जसले जीवनका आधारभूत प्रश्नहरूको जवाफ खोज्छ । म को हुँ ? म कहाँबाट आएँ ? मेरो जीवनको अर्थ के हो ? म कता जाँदै छु ? आदिजस्ता प्रश्नहरूसित विश्वदृष्टिले सरोकार राख्दछ । ख्रीष्टियान विश्वदृष्टि व्यक्तिको व्यक्तिगत विश्वासको अभिव्यक्ति मात्र होइन न त यो कुनै सिद्धान्त मात्र हो यो त जीवनका सबै पक्षलाई समेट्ने एउटा मार्ग हो ।

Facebook Comments

Powered by Youth Circle