पत्रुस र अन्द्रियासको घर कहाँ थियो— कफर्नहुममा वा बेथसेदामा ?

मर्कूसका अनुसार पत्रुस र अन्द्रियासको घर कफर्नहुममा थियो, “तब उहाँहरू कफर्नहुममा जानुभयो, र तुरुन्तै शबाथ-दिनमा सभाघरमा पसी उहाँले शिक्षा दिन लाग्नुभयो । … अब उहाँ तुरुन्तै सभाघरबाट निस्केर याकूब र यूहन्नाका साथमा सिमोन र अन्द्रियासको घरमा पस्नुभयो” (मर्कूस १:२१,२९) । तर यूहन्नाका अनुसार पत्रुस र अन्द्रियासको घर बेथसेदामा थियो, “अन्द्रियास र पत्रुसजस्तै फिलिप पनि बेथसेदा सहरका नै थिए” (यूहन्ना १:४४) । पत्रुस र अन्द्रियासको घर कहाँ थियो कफर्नहुममा कि बेथसेदामा ?

निस्सन्देह, यूहन्नाले भनेझैँ पत्रुस र अन्द्रियासको गृहनगर बेथसेदा नै थियो । मर्कूसको खण्ड (१:२१-२९) ले यी दुई जनाको गृहनगर कहाँ थियो भनी बताउँदैन । मर्कूस १:२९ ले अङ्कित गर्छ कि सभाघरमा सिकाउनुभएपछि येशू सिधै पत्रुस र अन्द्रियासको घरमा जानुभयो । त्यस बेला तिनीहरूको घर कफर्नहुममा भएको हुनुपर्छ । एक पटक पत्रुसले येशूलाई भने, “हेर्नुहोस्, आफ्नो घरद्वार छोडेर हामी तपाईंको पछि लागेका छौं” (लूका १८:२८) ।

निष्कर्षमा, पत्रुस र अन्द्रियास बेथसेदा सहरका थिए । सेवाकार्यको सिलसिलामा तिनीहरू कफर्नहुममा सरेका हुन सक्छन् ।

Facebook Comments

Powered by Youth Circle