इथेलबर्थ: ख्रीष्टियान बन्ने प्रथम अङ्ग्रेज राजा

ख्रिस्टाब्द ५९६ मा पोप ग्रेगोरी महान्‌ले अगस्टिनलाई मिसनरी बनाएर इङ्गल्यान्डमा पठाए । सुरुमा मूर्तिपूजक राजा इथेलबर्थ ख्रीष्‍टियान विश्‍वासबाट प्रभावित नभए तापनि तिनले अगस्टिनलाई भेट गर्न चाहे, तर त्यो भेटघाट खुला आकाशमुनि होस् भन्‍ने राजाको इच्छा थियो जहाँ अगस्टिनको ‘जादु’ ले राजालाई असर गर्ने थिएन भनी तिनले अपेक्षा गरेका थिए । तर राजा इथेलबर्थको इच्छा विपरीत मिसनरी अगस्‍टिनको प्रचारबाट तिनी प्रभावित भए । परिणामतः राजाले येशूलाई आफ्ना व्यक्‍तिगत प्रभु र मुक्‍तिदाताको रूपमा स्वीकार गरे । यसरी इथेलबर्थ ख्रीष्‍टियान बन्‍ने पहिलो अङ्ग्रेज राजा बनेका थिए । एउटा स्रोतअनुसार ५९७ मा अगस्टिनले राजालाई बप्‍तिस्मा दिए ।

करिब ख्रिस्टाब्द ५५० मा इथेलबर्थको जन्म भएको थियो । करिब ५८९ देखि आफ्नो मृत्यु नहोउञ्जेलसम्म तिनी केन्ट (वर्तमान इङ्गल्यान्डको दक्षिण-पूर्वी क्षेत्र) का राजा थिए । परमेश्‍वरको राज्यमा आउनुभन्दा अगि राजा इथेलबर्थ मूर्तिपूजक थिए । राजाले येशू ख्रीष्‍टमा सत्यताको आविष्‍कार गरी आफूले नयाँ जन्म पाए तापनि तिनले आफ्ना जनताहरूलाई जबरजस्ती नयाँ विश्वासलाई अङ्गाल्न लगाएनन् । तथापि चार वर्षभित्रमा तिनका १०,००० जना जनताले पनि राजाकै बाटोलाई पछ्याए । ख्रीष्‍टको सन्देश राजाको देशको चारैतिर फैलियो ।

नयाँ ख्रीष्टियान राजाले मण्डली भवनहरू बनाउन मदत गरे । तिनकै सहयोगमा सन्त पत्रुस र सन्त पावलका नाउँमा मण्डलीहरू बनाइए । भनिन्छ, पहिले मन्दिर भएको ठाउँमा यी आराधना स्थलहरू बनाइएका थिए । यही ठाउँमा नै अगस्टिन र उनका केही उत्तराधिकारीहरूलाई दफन गरिएको थियो । अङ्ग्रेजीमा पहिलो लिखित कानुन ल्याउने श्रेय पनि राजा इथेलबर्थलाई नै जान्छ । तिनले ल्याएको कानुनलाई “डुम्स अफ इथेलबर्थ” भनेर चिनिन्छ । ब्रिटिस टापुहरूमा ख्रीष्टियान विश्वासको फैलावटमा यी राजाको परिवर्तन र शासनले उल्लेखनीय भूमिका निर्वाह गरेको थियो ।

मिसनरी अगस्टिनको मृत्युपश्‍चात् तिनको चिहानमा यी शब्दहरू लेखिएका थिएः “यहीँ नै अगस्टिनले विश्राम गरेका छन् जो कान्टरबेरीका प्रथम प्रधान बिशप थिए । रोमका बिशप ग्रेगोरीद्वारा तिनी यहाँ पठाइएका थिए जसले राजा इथेलबर्थ र तिनको राज्यलाई मूर्तिपूजाबाट ख्रीष्‍टको विश्‍वासतर्फ परिवर्तन गरे ।”

Facebook Comments

Powered by Youth Circle