‘परमेश्वर येशू ख्रीष्ट’ लेखिएको १,७०० वर्ष पुरानो शिलालेख फेला पर्‍यो

ख्रिस्टाब्द २००५ मा इस्राएलको मगिद्दोमा एउटा प्राचीन मण्डलीको भुइँ पत्ता लाग्यो जुन एक्काइसौँ शताब्दीकै एउटा विस्मयकारी पुरातात्त्विक खोज साबित भयो । मगिद्दोस्थित झ्यालखानाको आकार बढाउनलाई पुरातत्त्वविद्हरूले बन्दीहरूसँगै मिलेर खन्ने क्रममा अकस्मात् फेला पारिएको यस भुइँको क्षेत्रफल ५१२ वर्ग फिट रहेको छ । थप उत्खनन गर्दा अन्य थुप्रै शिलालेखहरू फेला पारिए जसमध्ये एउटा शिलालेख अत्यधिक महत्त्वपूर्ण छ जसमा येशूलाई ‘परमेश्वर येशू ख्रीष्ट’ भनिएको छ । यो शिलालेखलाई ख्रिस्टाब्द तेस्रो शताब्दीको मिति दिइएको छ जसको अर्थ हुन्छ कि यो लगभग १,७०० वर्ष पुरानो लेखोट हो ।

ख्रिस्टाब्द ३१३ भन्दा पहिले ख्रीष्टियान बन्नु गैरकानुनी थियो । रोमी साम्राज्यले ख्रीष्टियानहरूलाई खुलमखुल्ला आराधना गर्न र आफ्नो विश्वासको अभ्यास गर्न निषेध गरेको थियो । ख्रीष्टियानहरूले लुकीछिपी येशूलाई परमेश्वरको रूपमा आराधना चढाउने गर्थे ।

आदि मण्डलीले येशूलाई परमेश्वरको रूपमा पुजेका थिए र यो पछिल्लो आविष्कार होइन भनी यस खोजले पुष्टि गरेको छ । इस्राएलका सिमानाहरू र भूमध्यसागर वरिपरिका क्षेत्रहरूमा ख्रीष्टियान विश्वास फैलिसकेको थियो र यसलाई स्वीकार गरिएको थियो भनेर पनि यस आविष्कारले प्रमाणित गर्दछ ।

Facebook Comments

Powered by Youth Circle