के येशूले कसैलाई बप्तिस्मा दिनुभयो (यूहन्ना ३:२२) ?

यूहन्ना ३ अध्यायअनुसार येशूले बप्तिस्मा दिनुभयो, “यसपछि येशू र उहाँका चेलाहरू यहूदिया देशमा जानुभयो, र त्‍यहाँ तिनीहरूसँग केही दिन वास गर्नुभयो, र बप्‍तिस्‍मा दिनुभयो” (पद २२) । तर यूहन्ना ४ अध्यायबमोजिम येशूले बप्तिस्मा दिनुभएन, “यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्‍छ र बप्‍तिस्‍मा पनि दिँदैहुनुहुन्‍छ भन्‍ने फरिसीहरूले सुने । (वास्‍तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिन्‍थे)” (पदहरू १-२) । येशूले बप्तिस्मा दिनुभयो कि भएन ?

बाइबलमा विविध किसिमका बप्तिस्माहरू उल्लिखित छन् र यूहन्नाको दुवै खण्डमा उल्लिखित बप्तिस्मा पानीको बप्तिस्मा हो । येशूले कुनै पनि व्यक्तिलाई पानीको बप्तिस्मा दिनुभयो भनी बाइबलमा कतै पनि उल्लेख गरिएको छैन । येशूले “बप्‍तिस्‍मा दिनुभयो” (यूहन्ना ३:२२) भन्ने भनाइको अर्थ हुनुपर्छ कि उहाँ आफैले नभई उहाँको अधिकारमुनि रहेर उहाँको नाउँमा उहाँका चेलाहरूले बप्तिस्मा दिए । किनकि लेखकले पछि प्रस्ट पारेका छन्, “वास्‍तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिन्‍थे” (यूहन्ना ४:२) ।

बप्तिस्मा-दिने यूहन्नाले भनेका थिए, “मचाहिँ त तिमीहरूलाई पश्‍चात्तापको लागि पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर मपछि आउनुहुने मभन्‍दा अझ शक्तिशाली हुनुहुन्‍छ, जसका जुत्ता बोक्‍ने योग्‍यको म छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ” (मत्ती ३:११) । यहाँ यूहन्नाले येशूद्वारा दिइने पानीको बप्तिस्मा नभई पवित्र आत्माको बप्तिस्मालाई उल्लेख गर्दै छन् जुन प्रेरित २ अध्यायमा पेन्तिकोसको दिनमा पूरा भयो ।

Facebook Comments

Powered by Youth Circle