किम ली केवल ६ वर्षको छँदा तिनका बुबा आमालाई उत्तर कोरियाले मृत्युदण्ड दिएको थियो । उत्तर कोरियामा कोही आफन्त नभएपछि ९ वर्षकी आफ्नी दिदीसँग किम दक्षिण कोरियाको राजधानी सियोलतर्फ हिँडे । यात्रामा दिदीसँग विच्छेद भएपछि तिनले जीवनमा फेरि दिदीको अनुहार हेर्ने मौका कहिल्यै पाएनन् । भोकले झन्डै मरेका किम आलुको थुप्रोमा पुगे र त्यहीँ नै सुत्न पुगे ।
एक जना अमेरिकी सिपाहीले किमलाई ब्युँझाए । केटोको हालत देखेर सिपाहीलाई दया लाग्यो र तिनले ठिटोलाई आफ्नो शिविरमा लगे, किमलाई केही काम दिनका लागि । यसले किमको ज्यान त बचायो तर शिविरमा तिनले सिपाहीहरूका खराब आदत पनि सिके ।
पछि किमले स्कुल जाने मौका पाए तापनि तिनले पढाइलाई बिचैमा छाडे र तिनी गलत साथीहरूको सङ्गतमा पुगे । अन्ततः तिनी पेसेवार अपराधी बने । बैङ्क लुट्ने क्रममा एक जना कर्मचारीको हत्या गरेपछि तिनी पक्रिए र जेलमा थुनिए ।
झ्यालखानामा बाइबलको नयाँ करार बाँडिदोरहेछ भन्ने थाहा पाएपछि तिनले पनि त्यो प्राप्त गर्न चाहे, चुरोट बेर्नको लागि ।
एक रातको कुरो हो । किम झ्यालखानाका पहरेदारद्वारा पक्रिए । तिनले किमलाई बाइबल पढ्नुको साटो बाइबलका पानाहरूलाई चुरोट बेर्नको लागि प्रयोग गरेका देखे । तर किमले भने, “त्यसो होइन । म मेरो बाइबल पढ्दै थिएँ ।”
“तिमी झुट बोल्दै छै किम । तिमीलाई त पढ्न पनि आउँदैन”, भन्ने पहरेदारको जवाफमा किमले भने, “म पढ्न सक्छु ।”
पहरेदारले प्रमाण चाहे, “मलाई पढेर सुनाऊ त ।”
किमले नयाँ करार पल्टाउँदा यूहन्ना ३:१६ मा तिनका आँखा पुगे, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् ।”
त्यसपछि पहरेदार किमबाट अलग्गिए । तिनले बाइबल बाँड्ने ख्रीष्टियान सेवकबाट येशूको बारेमा सुनेका भए तापनि तिनलाई अर्थ लागिरहेको थिएन । उक्त पद पढ्ने बित्तिकै तिनलाई सुसमाचारको अर्थ लाग्यो र तिनले येशूमाथि तुरुन्तै विश्वास गरे ।
ती ख्रीष्टियान सेवकले किमलाई प्रभुमा हुर्काए र तिनी अति नै जोसिलो सुसमाचार प्रचारक बने । पछि तिनी जेलमुक्त भए र तिनले कैयौँ मानिसलाई प्रभु येशूमा डोर्याए ।