“मानिसको पुत्रबाहेक कोही पनि स्‍वर्गमा उक्‍लेको छैन” भन्नुहुँदा येशूको भनाइको मतलब के हो ?

येशूले भन्नुभयो, “स्‍वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्‍वर्गमा उक्‍लेको छैन” (यूहन्ना ३:१३) । तर बाइबलमा दुई जना व्यक्ति मृत्यु नचाखी स्वर्ग उक्ले— हनोक र एलीया । हनोक जिउँदै स्वर्ग लगिए भनी हिब्रूका लेखकले प्रस्ट पारेक छन्, “विश्‍वासद्वारा मृत्‍यु नचाखी हनोक स्‍वर्गमा उठाइलगिए, र तिनी कतै फेला परेनन्‌, किनकि परमेश्‍वरले तिनलाई लानुभएको थियो । तिनी उठाइलगिनुभन्‍दा अघि परमेश्‍वरलाई तिनले प्रसन्‍न पारेका कुराको पुष्‍टि भएको थियो” (११:५) । यस विषयमा उत्पत्तिको पुस्तकमा पनि लेखिएको छ (५:२२-२४) । एलीयाको बारेमा चाहिँ २ राजाको पुस्तकमा उल्लेख गरिएको छ, “जब तिनीहरू कुरा गर्दै अगि हिँड़िरहेका थिए, तब एक्‍कासि एउटा अग्‍निमय रथ र घोड़ाहरू देखा परे, र दुईलाई एक-अर्काबाट अलग गरे, र एलिया भुमरीमा माथि स्‍वर्गतिर लगिए” (२:११) । हनोक र एलीया जिउँदै स्वर्ग लगिएका थिए भने येशूको भनाइको तात्पर्य के हो ?

हामीले येशूद्वारा व्यक्त भनाइको सन्दर्भलाई बुझ्यौँ भने उहाँको भनाइलाई सजिलैसित बुझ्छौँ । उहाँ धार्मिक गुरु निकोदेमससित कुराकानी गर्दै हुनुहुन्थ्यो । यूहन्ना ३:१२ मा उहाँले निकोदेमसलाई सोध्नुभयो, “मैले तिमीहरूलाई पृथ्‍वीका कुरा भनें, र पनि तिमीहरू विश्‍वास गर्दैनौ, त तिमीहरूलाई स्‍वर्गका कुरा बताएँ भने कसरी विश्‍वास गर्न सक्‍छौ ?” त्यसपछि येशूले भन्नुभयो कि स्वर्गका कुराहरूबारे प्रस्टसित सिकाउन स्वर्गबाट कोही पनि पृथ्वीमा ओर्लेको छैन । येशू मात्र यसको अपवाद हुनुहुन्छ । उहाँ स्वर्ग र पृथ्वीको भर्‍याङ हुनुहुन्छ । आफ्नो देहधारणमा उहाँ पृथ्वीमा ओर्नुभयो भने आफ्नो स्वर्गारोहणमा स्वर्ग उक्लनुभयो । देहधारणअगि उहाँ स्वर्गमा हुनुभएकोले उहाँलाई स्वर्गीय कुराहरू थाहा छ । स्वर्गीय कुराहरूबारे उहाँलाई जत्तिको कसैलाई थाहा छैन ।

हनोक र एलीया जिउँदै स्वर्ग लगिएका थिए भन्ने कुरोलाई येशूले इन्कार गर्नुभएको होइन, बरु उहाँको भनाइको मतलब यही थियो कि स्वर्गीय कुराहरू बताउन कोही पनि स्वर्ग उक्लेर पृथ्वीमा ओर्लेको छैन ।

Facebook Comments

Powered by Youth Circle