केही विद्यार्थीहरूसँगै म कोठामा थिएँ । हातमा किताबहरूको ठेली लिँदै एक जना व्यक्ति हाम्रो कोठाभित्र प्रवेश गर्यो । हामीलाई किताब बेच्नु उसको उद्देश्य थियो । उसले आफूले ल्याएका किताबहरूको महत्त्व दर्शाउन थाल्यो । त्यस बेला किताब किन्ने मेरो चाहना नभए तापनि उसको प्रस्तुतिले मलाई किन्न आकर्षण गर्यो । मसँग पैसा थिएन तर साथीसँग सापट लिई १५० भारतीय रुपियाँमा एउटा किताब किनेँ । पुस्तकको नाउँ Evidence That Demands a Verdict (Vol 2) थियो ।
माथिको प्रसङ्ग ख्रिस्टाब्द २००२ को हो जुन बेला म बाइबल कलेजको विद्यार्थी थिएँ । दक्षिण भारतमा पर्ने तामिलनाडु राज्यस्थित South India Baptist Bible College & Seminary मा म ईश्वरशास्त्रमा स्नातक तेस्रो वर्षमा अध्ययनरत थिएँ । केही नेपाली विद्यार्थीहरूसँगै म अगिल्लो वर्ष (२००१) मा त्यहाँ पुगेको थिएँ ।
म राजधानी काठमाडौँस्थित बाइबल इन्स्टिच्युटमा विद्यार्थी छँदा भारतबाट पाहुना शिक्षक बनी आउनुभएका बाबु भर्गिजले हामीलाई एक महिनासम्म येशूको दोस्रो आगमनको बारेमा सिकाउनुभएको थियो । उहाँको शिक्षाबाट म यति धेरै प्रभावित भएको थिएँ कि पछि म उहाँले पढाउनुहुने कलेजमा ईश्वरशास्त्रबारे थप अध्ययन गर्न गएँ । येशू ख्रीष्टको दोस्रो आगमनबारे अझै ज्ञान हासिल गर्नु उहाँको कलेजमा जानुको एउटा उद्देश्य थियो । म अन्तशास्त्रबारे पोख्त हुन चाहन्थेँ । त्यस विषयमा मलाई निकै रुचि थियो ।
तर माथि उल्लिखित पुस्तक हात परेपछि त्यसको अध्ययनसँगै मेरो रुचिको धार सदाको लागि परिवर्तन भयो । म तेस्रो वर्षको विद्यार्थी भए तापनि पुस्तकको अङ्ग्रेजी भाषा निकै कठिन पाएँ । मलाई बुझ्न हम्मेहम्मे हुन्थ्यो । तरै पनि घण्टौँ लगाएर मैले मेहनतसाथ पुस्तक पढ्न थालेँ । शब्दकोश पल्टाएर नबुझेका शब्दहरूको अर्थ खोजेँ । पुस्तकमा अभिलिखित ऐतिहासिक, पुरातात्त्विकसाथै तार्किक प्रस्तुतीकरणले मेरो मस्तिष्कमा प्रहार गर्यो र ख्रीष्टियान विश्वासको पक्षमा दरिला साक्षीहरू देख्दा म छक्क परेँ । ख्रीष्टियान विश्वास कुनै अन्धविश्वास नभई बौद्धिक विश्वास रहेछ र यसको लागि हामीसँग पर्याप्त साक्षीहरू रहेछन् भन्ने बोधले मलाई प्रसन्न मात्र तुल्याएन तर थप अध्ययन गर्न प्रेरित पनि गर्यो ।
पछि मैले थाहा पाएँ कि अपोलोजेटिक्स अर्थात् रक्षाशास्त्र ख्रीष्टियान ईश्वरशास्त्रको एउटा हाँगा रहेछ जसले ख्रीष्टियान विश्वासको पक्षमा साक्षीहरू पेस गर्छ । पुस्तक त्यसैको बारेमा लेखिएको रहेछ ।
पुस्तकका लेखक हुन्, जोस म्याकडोल । तिनले पहिले बाइबलमाथि विश्वास गर्दैनथ्ये । ख्रिस्टियमत बौद्धिक वृत्तमा टिक्दैनथ्यो भन्ने तिनको बुझाइ थियो । तर तिनका मित्रहरूले ख्रीष्टियान दाबीहरूको जाँच गर्न तिनलाई हाँक दिए जसलाई तिनले आत्मसात् गरे । आफ्नो गहन अनुसन्धानपश्चात् तिनले निष्कर्ष निकाले कि ख्रीष्टियान विश्वास साक्षीमा आधारित विश्वास रहेछ । फलत: १९५९ मा तिनले येशूलाई आफ्ना प्रभु र मुक्तिदाता भनी ग्रहण गरे । त्यसपछिको बाँकी जीवनमा तिनले आफूलाई विश्वव्यापी रूपमा परिचित लेखकसाथै रक्षाशास्त्रीको रूपमा उभ्याएका छन् । येशू को हुनुहुन्छ ? नामक शीर्षकमा तिनको एउटा कृति नेपालीमा पनि अनुवाद भएको छ ।
मेरो जीवनमा बाइबलपछि सर्वाधिक प्रभावशाली पुस्तक कुनै छ भने त्यसको नाउँ Evidence That Demands a Verdict (Vol 2) नै हो । यही पुस्तकले मलाई रक्षाशास्त्रमा डुबुल्की मार्न अभिप्रेरित गरेको थियो । ईश्वरशास्त्रमा चार-वर्षे अध्ययनपश्चात् २००५ मा म नेपाल फर्कें । समय बित्दै गएपछि मलाई राजधानीस्थित आटेन लाइब्रेरीको बारेमा जानकारी भयो जहाँ मैले अपोलोजेटिक्सबारे केही पुस्तकहरू फेला पारेँ । प्रविधिको सदुपयोग गर्दै रक्षाशास्त्रसित सम्बन्धित दर्जनौँ पीडीएफ बुकहरू पनि डाउनलोड गरेँ । स्रोतहरू बढ्दै गए ।
ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक दृष्टिकोणबाट कलम चलाउन थालेँ । हाम्रो आशिष् मासिक पत्रिक एउटा यस्तो प्लेटफर्म बन्यो जहाँ रक्षाशास्त्रसित सम्बन्धित मेरा दर्जनौँ लेख रचना छापिए । विभिन्न पत्र-पत्रिकासाथै अनलाइनमार्फत रक्षाशास्त्रसित सम्बन्धित मेरा सैयौँ लेख छापिएका छन् भने हालसम्म प्रकाशित मेरा ५ ओटा पुस्तकमध्ये ४ ओटा रक्षाशास्त्रसित नै सम्बन्धित छन् । मेरो व्यक्तिगत लाइब्रेरी (विद्युतीय र गैरविद्युतीय) मा यही विषयसित सम्बन्धित पुस्तकहरूको वर्चस्व रहेको छ । म अक्सर रक्षाशास्त्रसित सम्बन्धित पुस्तकहरू पढ्छु र यही विषयबारे लेख्छु । यो मेरो मनपर्ने विषय हो ।
यही लेखमार्फत म लेखक जोस म्याकडोल र मेरो रुचिको धार नै बदल्ने तिनको कृतिप्रति आभार व्यक्त गर्न चाहन्छु । मान्छेको जीवन परिवर्तनमा एउटै पुस्तक पनि पर्याप्त हुन्छ भन्नाका लागि इतिहासमा मात्र मनग्गे उदाहरण छैनन् तर वर्तमानमा पनि छन् जसमध्ये म एक हुँ । तरवार र कलममध्ये कुनचाहिँ बलियो हो भन्ने विवाद कहिल्यै पनि निष्कर्षमा नपुग्ने भए तापनि मेरो हकमा भने कलम नै बलियो साबित भयो । ख्रीष्टियान विश्वास बौद्धिक विश्वास हो र यसका लागि वैज्ञानिक, ऐतिहासिक, पुरातात्त्विकसाथै दार्शनिक साक्षीहरू छन् भन्ने कुरामा म विश्वस्त छु ।