म्याकडोलले असम्भवजस्तो देखिने प्रार्थनाको जवाफ पाए

ख्रिस्टाब्द १९३९ मा अमेरिकामा जन्मेका जोस म्याकडोल ख्रीष्टियान रक्षाशास्त्री, सुसमाचार प्रचारकसाथै लेखक हुन् । तिनी लगभग ११५ ओटा पुस्तकका लेखकसाथै सहलेखक हुन् ।

म्याकडोल क्यालिफोर्नियास्थित सेमिनारीमा अध्ययन गरिरहँदा तिनका पिता प्रभुको घरमा प्रस्थान गरेका थिए । तिनकी आमाको वर्षौं पहिले नै निधन भइसकेको थियो । तर आमाले उद्धार पाएकी थिइन् या थिइनन् भन्ने विषयमा म्याकडोल अन्योलमा थिए । कतै उनले मुक्ति नै पाएकी थिइनन् कि भनेर म्याकडोल चिन्तित थिए ।

त्यसैले तिनले प्रार्थना गरे, “हे प्रभु, मलाई कुनै तरिकाले तपाईंले जवाफ दिनुहोस् ताकि म सामान्य अवस्थामा फर्कन सकूँ । म यो जान्न चाहन्छु ।” लाग्थ्यो, यो एउटा असम्भव अनुरोध थियो ।

दुई दिनपश्चात् म्याकडोलले एउटी स्त्रीलाई भेटे जसले तिनलाई सोधिन्, “तपाईंको मूल घर कहाँ हो ?”

म्याकडोलको जवाफ थियो, “मिचिगनको युनियन सहरमा ।”

स्त्रीले भनिन्, “त्यहाँ मेरो एक जना नातेदार थियो । के तपाईंले म्याकडोलको परिवारलाई चिन्नुहुन्थ्यो ?”

छक्क पर्दै म्याकडोले जवाफ फर्काए, “म जोस म्याकडोल हुँ ।”

स्त्रीले भनिन्, “पत्याउनै गार्‍हो भो त । म तपाईंकी आमाको काकीकी छोरी हुँ ।”

“मेरो आमाको आत्मिक जीवनबारे तपाईंलाई केही याद छ ?” म्याकडोलले जान्न चाहे ।

उनले व्याख्या गरिन्, “याद छ नि । सहरमा जागृति सभा आउँदा हामी किशोरी अवस्थाका केटीहरू थियौँ । चौथो साँझमा ख्रीष्टलाई स्वीकार गर्न हामी दुवै जना अगाडि बढेका थियौँ ।”

खुसीले गद्गद् हुँदै म्याकडोल उफ्रिए, “प्रभुको स्तुति होस्!” तिनले आफूले खोजेका प्रार्थनाको जवाफ पाएका थिए ।

Facebook Comments

Powered by Youth Circle