बाइबलमाथि विश्वास गर्नुपर्ने १०० ओटा कारण

अमेरिकाका ४० औँ राष्ट्रपतिको नाउँ हो, रोनाल्ड रेगन । ख्रिस्टाब्द १९८१-१९८९ सम्म शासन गरेका तिनले बाइबलको बारेमा भनेका छन्, “बाइबलका पानाहरूभित्र मानिसहरूले सामना गर्ने सबै समस्याका जवाफ छन् । बाइबलले ह्रदयलाई छुन सक्छ, दिमागलाई आज्ञा दिन सक्छ र आत्मालाई ताजगी बनाउन सक्छ ।” राष्ट्रपतिको यो शानदार भनाइ साइन्टिफिक फ्याक्ट्स इन द बाइबल (अर्थात् बाइबलमा पाइने वैज्ञानिक सत्यताहरू) नामक पुस्तकबाट साभार गरिएको हो । बाइबलको अलौकिक उत्पत्तिमाथि विश्वास गर्नुपर्ने १०० कारण यसको उपशीर्षक रहेको छ ।

पुस्तक पठन यात्रामा यो मेरो ४८ औँ पुस्तक हो । १०१ पृष्ठ भएको यो सानो पुस्तकलाई पढेर सक्न मलाई केवल २ दिन (सेप्टेम्बर ११-१२) लाग्यो । ख्रिस्टाब्द २००१ मा प्रकाशित यस कृतिका लेखक रे कम्फोर्ट हुन् । ७१ वर्षका तिनले ८० ओटाभन्द बढी पुस्तकसाथै पर्चाहरू लेखेका छन् । न्युजिल्यान्डमा जन्मेका तिनी अमेरिकामा बस्छन् ।

पुस्तकलाई जम्माजम्मी १३ ओटा अध्यायमा विभाजन गरिएको छ । १ अध्यायमा बाइबल र विज्ञानको बारेमा उल्लेख गरिएको छ भने २ अध्यायले अय्यूबको पुस्तकमा अभिलिखित वैज्ञानिक सत्यताहरूलाई बाहिर ल्याउने काम गर्छ । ३ अध्यायमा बाइबलमा उल्लिखित औषधी विज्ञानको बारेमा चर्चा गरिएको छ भने ४ अध्यायमा उत्पत्तिको पुस्तकलाई वैज्ञानिक आँखाबाट हेरिएको छ । ५ अध्यायमा बाइबलमाथि विश्वास गर्ने महान् वैज्ञानिकहरूले बाइबलको बारेमा के-के भनेका छन् भनी उल्लेख गरिएको छ । ६ अध्याय बाइबल र जीवशास्त्रसित सम्बन्धित छ भने ७ अध्यायमा बाइबलका भविष्यवाणीहरू कति साँचा छन् भनी प्रस्ट पारिएको छ । ८ अध्यायले बाइबलमा अभिलिखित खगोल विज्ञानको चर्चा गर्छ भने ९ अध्यायमा इतिहासमा आफ्नो नाउँ अमर राखेका मानिसहरूले बाइबलको बारेमा के-कस्ता मन छुने भनाइहरू व्यक्त गरेका छन् भनी उल्लेख गरिएको छ । १० अध्यायमा बाइबल र पुरातत्त्वविद्याको बारेमा पढ्न पाइन्छ भने ११ अध्यायमा बाइबलको ऐतिहासिक सत्यताको बारेमा । १२ अध्याय बाइबल र विकासवादबारे सम्बन्धित छ भने १३ अध्यायमा वैज्ञानिक परिप्रेक्ष्यमा विकासवादको चिरफार गरिएको छ ।

प्रत्येक अध्यायमा छोटा-छोटा पाठहरू पाइन्छन् र ती पाठहरू जम्माजम्मी १०० ओटा छन् । तसर्थ पुस्तक बाइबलमाथि विश्वास गर्नुपर्ने १०० ओटा कारणको बारेमा हो । यो छोटो भए पनि पढ्न लायक पुस्तक हो ।

निस्सन्देह बाइबलमाथि विश्वास गर्नुपर्ने मनग्गे कारण छन् । बाइबलमा हामी विज्ञानका विविध शाखाहरूको उल्लेख भएको पाउँछौँ । बाइबलमा भौतिकशास्त्रका सन्दर्भहरू मात्र पाईंदैनन् तर खगोल विज्ञानबारे पनि प्रचुर मात्रामा लेखिएको छ । यसले औषधी विज्ञानको बारेमा मात्र उल्लेख गरेको छैन तर जीव विज्ञानको बारेमा पनि । चाहे तपाईंले वैज्ञानिक दृष्टिकोणबाट हेर्नुहोस् वा ऐतिहासिक दृष्टिकोणबाट, चाहे तपाईंले भविष्यवाणीको दृष्टिकोणबाट हेर्नुहोस् वा पुरातात्त्विक दृष्टिकोणबाट बाइबल एउटा अद्भुत पुस्तक हो ।

परमेश्वरले सम्पूर्ण युग र सम्पूर्ण भूगोलका मानिसहरूलाई सित्तैँमा दिनुभएको सर्वोत्तम खजानाको नाउँ हो, बाइबल ।

Facebook Comments

Powered by Youth Circle