परमेश्वरको अवर्णनीय सृष्टि जसले तपाईंलाई छक्क पारिदिन्छ

“महलाई कहिलेकाहीँ आश्चर्यपूर्ण खाना भनिन्छ । त्यसो भन्नुको कारणचाहिँ यसमा जीवनको लागि आवश्यक प्राय: हरेक पोषण तत्त्व पाइन्छ र यो हजारौँ वर्षसम्म पनि बिग्रँदैन । वास्तवमा पुरातत्त्वविद्‌हरूले प्राचीन मिश्रका चिहानहरूमा महले भरिएका भाँडाहरू फेला पारेका छन् र त्यसलाई अहिले पनि खान सकिन्छ ।” बाइबलको वचन महभन्दा पनि स्वादिष्ट छ, “तपाईंका वचनहरू मेरो जिब्रोमा अति स्‍वादिष्‍ठ छन्‌,  महभन्‍दा पनि मेरो मुखमा ती बढी मीठा छन्‌” (भजनसंग्रह ११९:१०३) ।

महबारे वर्णित माथिको प्रसङ्ग इन्डिस्क्राइएबल: १०० डिभोसन्स एबाउट गड एन्ड साइन्स नाम गरेको पुस्तकबाट साभार गरिएको अंश हो । पुस्तक पठन यात्रामा यो मेरो ४७ औँ पुस्तक हो । ११० पृष्ठको यस कृतिलाई पढेर सिद्ध्याउन मलाई ६ दिन (सेप्टेम्बर ५-१०) लाग्यो । ख्रिस्टाब्द १९८२ मा प्रकाशित यस पुस्तकका लेखक हुन्, लुई गिग्लिओ । लेखक अमेरिकाको जर्जियास्थित प्यासन सिटी चर्चका पास्टर हुन् ।

पुस्तकमा मुख्य गरी अन्तरिक्ष, पृथ्वी, जनावर र मानिस गरी चारवटा विषयबारे चर्चा गरिएको छ । यी चारवटा विषयलाई १०० ओटा छोटा-छोटा अध्यायमा विभाजन गरिएको छ र पुस्तक पढ्दा निस्सन्देह तपाईं परमेश्वरको विचत्रको सृष्टिबारे छक्क पर्नुहुने छ । पुस्तकमा समावेश गरिएका मनग्गे रङ्गिन तस्बिरहरूले पुस्तकको वर्णनलाई बुझ्न झनै सजिलो बनाएका छन् । बुद्धिमानी परमेश्वरद्वारा सृजित उहाँको सृष्टि कति विस्मयकारी छ!

मानव-जाति उहाँको स्वरूपमा सृष्टि गरिएकोले मानिससित सृष्टिबारे खोज अनुसन्धान गर्ने क्षमता छ जुन अन्य प्राणीहरूसित छैन । विज्ञानले त्यही गर्ने काम गर्दछ । परमेश्वरले विज्ञानलाई प्रेम मात्र गर्नुहुन्न तर उहाँ नै सर्वोत्तम वैज्ञानिक हुनुहुन्छ । उहाँले सृष्टि मात्र गर्नुभएको छैन, तर विस्मयकारी ढङ्गमा र अकल्पनीय रूपमा पनि सृष्टि गर्नुभएको छ ।

पुस्तकमा उहाँको सृष्टिबारे छक्क पर्नुपर्ने मनग्गे कुराहरू समावेश गरिएका छन् । महासागरमा सबैभन्दा गहिरो भूभाग प्रशान्त महासागरको मारियाना ट्रेन्चमा अवस्थित छ जसलाई च्यालेन्जर डिप भनिन्छ । यो लगभग ३६ हजार फिट गहिरो छ । संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा यसभित्र सजिलैसित डुब्छ ।

कोस्ट रेडवुड ट्रि संसारको सबैभन्दा अग्लो रुख हो जुन अमेरिकाको क्यालिफोर्नियामा पाइन्छ । यसको उचाइ ३८० फिट रहेको छ ।

नेफिला नाउँ गरेको माकुराको जालो यति बलियो हुन्छ कि प्रशान्त महासागरको दक्षिणपट्टि बस्ने मानिसहरूले यसलाई माछा मार्ने जालको रूपमा प्रयोग गर्छन् ।

२१ जुलाई १९६९ मा निल आर्मस्ट्रङ्गले पहिलो पटक चन्द्रमाको धरातलमा पाइला टेके । त्यहाँ हावा नभएकोले तिनका पैतलाका डोबहरू अहिले पनि जस्ताको तस्तै छन् ।

सूर्यले प्रति सेकेन्ड ७० करोड टन हाइड्रोजन ग्यासलाई हिलियम ग्यासमा रूपान्तरण गर्छ र त्यो प्राय: सबै शक्तिमा बद्लिन्छ । हाम्रो पृथ्वीमा वर्षभरिको लागि सबै उपकरणको लागि चाहिने शक्ति सूर्यले एक घण्टामा नै उत्पादन गर्छ ।

तपाईंको शरीरमा मानवीय कोषहरूभन्दा ब्याक्टेरियाका कोषहरू धेरै हुन्छन् । तर तपाईंको सम्पूर्ण शरीरमा भएका ब्याक्टेरियाका कोषहरूलाई जम्मा गर्ने हो भने पनि त्यसले मुश्किलैले २ लिटरको भाँडो भरिएला । हाम्रो शरीरमा खाना पचाउन र रोगसित लड्नलाई ब्याक्टेरियाले मदत गर्दछ ।

प्राणी जगत्‌मा स्पर्म ह्वेल माछाको गिदी सबैभन्दा ठुलो हुन्छ जसको तौल १७ पाउन्ड हुन्छ जब कि मान्छेको गिदी केवल ३ पाउन्ड हुन्छ । तर आकारको कारण ह्वेल माछा बौद्धिक छैन किनकि बौद्धिकता गिदी अर्थात् मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरामा भर पर्छ कति ठुलो छ भन्ने कुरामा होइन ।

साँच्चै, उहाँको सृष्टि कति विचित्रको छ! झन्डै ३,००० वर्षअगि दाऊदले लेखे, “आकाशले परमेश्‍वरका महिमाको वर्णन गर्छ । र तारा-मण्‍डलले उहाँका हातको सीपको घोषणा गर्छ” (भजनसंग्रह १९:१) । “उहाँको अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्‍त शक्ति र ईश्‍वरीय स्‍वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ” (रोमी १:२०) । प्रेरित पावलद्वारा झन्डै २,००० वर्षअगि लिखित यो वचन हाम्रो युगमा झन्झन् साँचो हुँदै आएको छ ।

Facebook Comments

Powered by Youth Circle