येशूले “यी सबै पूरा नहोउञ्‍जेल यो पुस्‍ता बितिजानेछैन” (मत्ती २४:३४) भन्नुहुँदा ‘यो पुस्ता’ को अर्थ के हो ?

मत्तीको सुसमाचारमा उल्लिखित ५ ओटा उपदेशमध्ये एउटालाई जैतुने उपदेश (मत्ती २४-२५) को नाउँले चिनिन्छ । जैतुन डाँडामा बसेर येशूले शिक्षा दिनुभएकोले यसलाई जैतुने उपदेश भनिएको हो । यस प्रवचनमा येशूले अन्त्यका चिन्हहरूको बारेमा बताउनुभएको छ । मत्तीको सुसमाचारमा सविस्तार वर्णन पाइने भए तापनि मर्कूस १३ र लूका २१ अध्यायमा पनि समानान्तर प्रवचन पाइन्छ ।

मत्ती २४ अध्यायमा अन्त्यका दिनका चिन्हहरूको उल्लेख गर्नुभएपछि येशूले भन्नुभयो, “यी सबै पूरा नहोउञ्‍जेल यो पुस्‍ता बितिजानेछैन” (पद ३४) । ‘यो पुस्ता’ ले कसलाई जनाउँछ ?

‘यो पुस्ता’ ले कसलाई जनाउँछ भनेर हेर्नुभन्दा पहिले ‘यी सबै’ कुरामा के-के पर्छन् भनेर जान्नु बुद्धिमानी हुन्छ । पदहरू ४-३१ मा येशूले यी कुराहरूको चर्चा गर्नुभएको छ । विनाशकारी घृणित थोक (पद १५), जगत्‌को सुरुदेखि येशूले बोल्नुभएको क्षणसम्म कहिल्यै देखा नपरेको महासङ्कष्ट (पद २१), स्वर्गमा मानिसको पुत्रको चिन्ह (पद ३०) आदिजस्ता कुराहरू ‘यी कुरा’ मा पर्छन् । येशूका स्रोताहरूको जीवनकालमा यी घटनाहरू नभएकाले यी भविष्यमा हुने छन् भन्ने अर्थ खोलाइ तर्कसङ्गत नै छ ।

मत्ती २४ अध्यायमा येशूले वर्णन गर्नुभएका कुराहरू न उहाँका स्रोताहरूको जीवनकालमा घटे, न हालसम्म घटेका छन् । त्यसो हो भने ‘यो पुस्ता’ को अर्थ के हो त ?

मत्ती २४:३४ मा अभिलिखित ‘पुस्ता’ शब्द ग्रिक भाषाको गेनेअको अनुवाद हो । यहाँ यसले यहूदी जातिलाई उल्लेख गर्न सक्छ । येशूले त्यसै भन्न खोज्नुभएको हो भने महासङ्कष्टको बाबजुद पनि यहूदी जाति बचाइने छ । स्मरण रहोस्, यहूदी यस्तो जाति हो जससित परमेश्वरले मनग्गे प्रतिज्ञा गर्नुभएको थियो । उहाँले तिनीहरूलाई सदाको निम्ति प्यालेसटाइन देश दिनु प्रतिज्ञा मात्र गर्नुभएन तर दाऊदको सन्तानमार्फत राज्य स्थापना गर्ने प्रतिज्ञा पनि गर्नुभएको थियो (उत्पत्ति १२, १७; २ शमूएल ७) । यी ईश्वरीय प्रतिज्ञाहरू पूरा गर्न इस्राएलको बचावट खाँचो थियो भनी येशूले भन्नुभएको हुन सक्छ ।

Facebook Comments

Powered by Youth Circle