७ ओटा ख्रीष्टियान अवधारणा जसले संसार बदल्दियो

दक्षिण-पूर्वी एसियामा अवस्थित मुलुक क्याम्बोडियाको एउटा परिवारमा एक छोरीको जन्म भयो । छोरी परिवारको चाहना नभएकोले तिनीहरूले छोरीलाई जङ्गलमा लगी खाडल खनेर बाकसमा राखी जिउँदै पुरिदिए । उक्त परिवारले आफ्नै छोरीलाई जङ्गलमा गाड्ने योजना बनाउँदै थियो भन्ने जानकारी पाएकी एक जना ख्रीष्टियान नर्स पछि-पछि गइन् । परिवारको प्रस्थानपश्चात् हतारसँग उनले बच्चीलाई निकालिन् । बच्ची पूर्णत: स्वस्थ र सामान्य अवस्थामा थिइन् । नर्सले बच्चीलाई ख्रीष्टियान अनाथालयमा लगिन् जहाँ उनले हुर्कने मौका पाइन् । किन नर्सले बच्चीको ज्यान जोगाउने आँट गरिन् ? किनकि ख्रीष्टियान दृष्टिकोणमा जीवन अमूल्य छ ।

माथिको ह्रदयस्पर्शी प्रसङ्ग सेभेन आइडियाज द्याट चेन्ज्ड द वर्ल्ड नामक पुस्तकबाट साभार गरिएको हो । पुस्तक पठन यात्रामा यो मेरो ४६ औँ पुस्तक हो । ८८ पृष्ठको यस सानो पुस्तकलाई पढेर सक्न मलाई केवल ५ दिन (अगस्ट ३१-सेप्टेम्बर ४) लाग्यो । दैनिक १ घण्टा किताब पढ्नु मेरो आदत भएको छ । यही सालको गत फेब्रुअरीमा प्रकाशित यस पुस्तकका लेखक हुन्, फिलिप मिचेल । पुस्तक पढ्दा थाहा भयो कि लेखकले नेपाली भूमिमा पनि पाइला टेकिसकेका रहेछन् ।

पुस्तकमा जम्माजम्मी आठवटा अध्याय छन् । अगिल्ला सातवटा अध्याय सातवटा अवधारणामा केन्द्रित छन् भने अन्तिम अध्यायमा थप ख्रीष्टियान अवधारणाहरूबारे चर्चा गरिएको छ । पुस्तकमा अभिलिखित सातवटा अवधारणा निम्नानुसार छन्:

१. जीवनको पवित्रता

के सबै मानिस समान रूपमा मूल्यावान् छन् ? के सबै उत्तिकै महत्त्वका छन् ? यो प्रश्नले पश्चिमी जगत्‌का मानिसहरूलाई चोट पुर्‍याउँछन् किनकि तिनीहरूका लागि सबै मानिस समान् छन् भन्ने तथ्य काँचझैँ छर्लङ्ग छ । तर कैयौँ भूभागसाथै संस्कृतिहरूमा आज पनि धनी, सफल र शक्तिशाली मानिसहरूको तुलनामा गरिब, कमजोर, बिरामीहरूलाई कम मूल्यावान् ठानिन्छ । हामी जुनसुकै भूगोल, संस्कृति, समुदाय वा धर्मका भए तापनि हरेक मानिस मूल्यावन् छ भन्ने धारणा बाइबलीय शिक्षा हो । यसबारे उत्पत्तिको पुस्तकमा निकै शक्तशाली भनाइ पाइन्छ, “यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो । परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो” (१:२७) । हरेक मानिस किन मूल्यवान् छ भन्नाका लागि यस ग्रहमा यो भन्दा शक्तिशाली भनाइ कुन होला र ?

२. स्त्रीहरूको मूल्य

इतिहास केलाएर हेर्दा हामी छर्लङ्ग हुन्छौँ कि एउटा समूहले अर्को समूहलाई दबाएका नमुनाहरू मनग्गे छन् तर एउटा समूह भने निरन्तर रूपमा पेलिएको छ र त्यो स्त्रीहरूको समूह हो । स्त्री भएकै कारण उसलाई दोस्रो दर्जाको नागरिक मात्र ठानिएन, तर पशुसमान व्यवहार पनि गरियो । उसलाई न शिक्षा दिइन्थ्यो, न जागिर । उसलाई केवल बच्चा जन्माउने भाँडोको रूपमा हेरिन्थ्यो । तर ढिलै भए पनि लैङ्गिक समानताको अवधारणाले हाम्रो भूगोल र संस्कृतिमा पनि पक्कड जमाउन थालिसकेको छ । बाइबल धर्मशास्त्रअनुसार परमेश्वरले स्त्री र पुरुष दुवैलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएकोले दुवै समान महत्त्वका छन्, “नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो” (उत्पत्ति १:२७) । “अब … न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ” (गलाती ३:२८) ।

३. दयासम्बन्धी सेवाहरू

पाँचौँ शताब्दी ख्रिस्टपूर्वमा जन्मेका ग्रिक दार्शनिक प्लेटोका अनुसार बिरामी भएको कारण काम गर्न असक्षम गरिब मानिसलाई मर्नको लागि छाडिनुपर्छ । पहिलो शताब्दीका रोमी दार्शनिक सेनेकाको भनाइमाथि मनन गर्नुहोस्, “जन्ममा कमजोर वा असमान्य बच्चाबच्चीलाई हामी पानीमा डुबाएर मारिदिन्छौँ ।” यी दुईवटा भनाइले कमजोर मानिसहरूप्रति प्राचीन संसारको दृष्टिकोणलाई प्रस्ट पार्छन् । येशूले यस्तै निष्ठुर संसारमा जन्म लिनुभयो जो दयाका खानी हुनुहुन्थ्यो, “भीडहरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्‍ति दयाले भरियो” (मत्ती ९:३६) । बाइबलको सुरुदेखि अन्त्यसम्म दयाका कामहरूमा लाग्न वचनले प्रेरित गर्छ । मदत, पुनर्स्थापना र चङ्गाइमा लाग्न ख्रीष्टियानहरूलाई आज्ञा दिइएको छ । अध्ययनले प्रकट गरेको छ कि सहयोगी हात बढाउने काममा गैरख्रिस्टियानहरूको तुलनामा ख्रीष्टियानहरू निकै अगाडि छन् ।

४. सामाजिक न्याय

ख्रीष्टियान पुस्तक पढेलगत्तै आफ्नो बौद्धिक अहम्‌ चक्नाचुर भएपछि नयाँ जन्म पाई आफ्नो जीवन येशूको कामको लागि समर्पित गरेका अमेरिकी राष्ट्रपतिका सल्लाहकार चार्ल्स कोलसनका अनुसार येशू ख्रीष्ट येशू धरतीमा बाँच्नुभएका सबैभन्दा महान् नागरिक छुटकारादाता हुनुहुन्छ । उहाँको जीवन, मृत्यु र पुनरुत्थानको कारण ख्रीष्टियानहरूले संसारभरि न्यायको अभियान चलाए । कानुनभन्दा माथि कोही हुँदैन भनी ‘विधिको शासन’ ले घोषणा गर्छ । कानुनको कार्यान्वयन गरी हरेक व्यक्तिको हक अधिकारको रक्षा गर्नु सरकारको उत्तरदायित्व हो । ख्रीष्टियानहरू न्यायलाई प्रेम गर्ने मानिसहरू हुन् जुन कुरो तिनीहरूले बाइबलबाट सिकेका हुन् । इतिहासमा मानव अधिकारको रक्षाको लागि सबैभन्दा समर्पित संस्था हो, ख्रीष्टियान मण्डली । हाम्रा परमेश्वर न्यायी हुनुहुन्छ र उहाँले हामीबाट न्यायको अपेक्षा गर्नुहुन्छ, “न्‍यायचाहिँ नदीझैँ … बगिरहोस्‌!” (आमोस ५:२४) ।

५. स्वतन्त्र इच्छा

समुदायहरू अक्सर स्वतन्त्र इच्छा वा भाग्यवादको आधारमा चलिरहेका हुन्छन् । भाग्यवादमाथि विश्वास गर्नेहरूले हाम्रो रोजाइले केही प्रभाव पार्न सक्दैन भनी मानिलिन्छन् जब कि स्वतन्त्र इच्छाको अवधारणालाई अङ्गाल्नेहरूले हाम्रो रोजाइले अवश्य प्रभाव पार्छ भनी स्वीकार गर्छन् । प्राचीन संसारका अधिकांश मानिसहरूले मात्र भाग्यवादमा विश्वास गर्दैनथ्ये तर वर्तमानमा पनि यस धारणामा विश्वास गर्नेहरूको जमात ठुलै छ । तर ख्रीष्टियानहरूले भाग्यवादमा नभई स्वतन्त्र इच्छामा विश्वास गर्छन् । पश्चिमी जगत्‌को उन्नतिको एउटा प्रमुख पक्ष हो, स्वतन्त्रता अर्थात् काम गर्ने स्वतन्त्रता, लगानी गर्ने स्वतन्त्रता, सोच्ने स्वतन्त्रता । स्वतन्त्रताविना सृजनशीलता अस्तित्वमा रहन सक्दैन । यही स्वतन्त्रताको प्रयोग गरी मानव-जाति सफलताको यस उचाइसम्म आइपुग्न सफल भएको हो । “अब प्रभु आत्‍मा हुनुहुन्‍छ, अनि जहाँ प्रभुका आत्‍मा हुनुहुन्‍छ, त्‍यहाँ स्‍वतन्‍त्रता हुन्‍छ” (२ कोरिन्थी ३:१७) ।

६. यौनसम्बन्धी नीतिशास्त्र

यौन परमेश्वरको वरदान हो । समुदाय कस्तो हुने भन्ने कुरामा यसको सदुपयोग र दुरुपयोगले भूमिका खेल्छ । एक अर्थमा यो समुदायको लागि साँचो हो । अनियन्त्रित यौन इतिहासमा विनाशकारी शक्ति साबित भएको छ । पुरानो करारको समयमा इस्राएलीहरूका वरिपरिका जातिहरूले अनियन्त्रित यौनको अभ्यास गर्थे जसलाई आज संसारभरि घृणित कार्यको रूपमा हेरिन्छ । अर्कोतिर विवाह समाजको एउटा महत्त्वपूर्ण कडी हो । विवाहद्वारा परिवारको निर्माण हुन्छ जसमा यौनको अभ्यास गरिन्छ । ख्रिस्टियमतले यौनलाई सार्वजनिक दृष्टिबाट वैवाहिक कोठामा लगेको थियो । येशूले भन्नुभयो, “‘यसैकारण मानिसले आफ्‍ना बुबा र आमालाई छोडेर आफ्‍नी पत्‍नीसँग मिलिरहन्‍छ, र ती दुई जना एउटै शरीर हुनेछन्‌ ।’ ती अब दुई होइनन्‌, तर एउटै शरीर हुन्‍छन्‌ । यसकारण परमेश्‍वरले जसलाई एकसाथ जोर्नुभएको छ, त्‍यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌” (मत्ती १९:५-६) ।

७. विज्ञान र प्रविधिमा ख्रीष्टियान जरा

वैज्ञानिक क्रान्तिको संसार रूपान्तरण गर्ने शक्ति र यसको भाइ प्राविधिक क्रान्तिमाथि कसैले पनि आशङ्का गर्दैन । तर ती केवल ३५० वर्षअगि देखा परे र त्यो पनि पाश्चात्य माटोमा । किन ? विज्ञानका इतिहासकारहरू हामीलाई बताउँछन् आधुनिक विज्ञान ख्रीष्टियान दृष्टिकोणको उपज हो । परमेश्वर यो भौतिक संसारभन्दा पर हुनुहुन्छ र उहाँले मानिसलाई यसको अनुसन्धान गर्ने जिम्मा दिनुभएको छ भन्ने अवधारणामा विज्ञानले जन्म लिई यो हुर्कन सक्छ । परमेश्वरले भन्नुभयो कि मानिसहरूले “समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌” (उत्पत्ति १:२६) । आधुनिक विज्ञानको उदयसँगै मानिसले जल, थल र नभ तीनवटै क्षेत्रमा अधिकार गरेको छ ।

नेपालमा जनसङ्ख्याको दृष्टिकोणबाट ख्रीष्टियानहरू अल्पसङ्ख्यामा परे तापनि अविधारणाको दृष्टिकोणबाट तिनीहरू अगाडि नै छन् । किनकि हाम्रो देशमा हामीले अभ्यास गरेका मनग्गे अवधारणा बाइबलबाट उदय भएका हुन् । समाजसाथै देश निर्माणमा यस्ता विचारहरू नितान्त आवश्यक छन् ।

Facebook Comments

Powered by Youth Circle