यस साइटमार्फत तपाईंले धेरै मानिस तथा धेरै विषयमा धेरै कुरा सिकिसक्नुभएको छ । आज मैले आफ्नै बारेमा अवगत गराउने जमर्को गरेको छु ।
मेरो नाम कमल अधिकारी हो । आजभन्दा ४० वर्षअगि अर्थात् ख्रिस्टाब्द १९८० मा मेरो जन्म गोरखा जिल्लाको आँपपिपल अस्पतालमा भएको थियो । यो अस्पताल १९६९ मा यूनाईटेड मिसन टु नेपालद्वरा स्थापना भएको थियो । मेरो बुबा राष्ट्रिय वाणिज्य बैङ्कको कर्मचारी हुनुहुन्थ्यो र जागिरको सिलसिलामा उहाँ गोरखा सदरमुकाम पुग्नुभएको थियो भलै हाम्रो घरचाहिँ धादिङ हो । उहाँको निवृत्तिभरण (पेन्सन) पश्चात्त् आमाले उही बैङ्कमा काम सुरु गर्नुभयो । आमालाई पढ्न-लेख्न आउँदैनथ्यो । धेरै पछि मात्र प्रौढ शिक्षा पढेर उहाँले पढ्न-लेख्नसाथै हस्ताक्षर गर्न सिक्नुभयो । तर त्यो एउटा यस्तो जमाना थियो जुन बेला विनायोग्यता जागिर खान सकिँदोरहेछ ।
म सानै छँदा आमा गोरखा जिल्लाको आरुघाट बजारस्थित बैङ्कमा सरुवा हुनुभयो । यो अहिले आरुघाट गाउँपालिकामा पर्छ । यस पालिकाको पूर्वमा धादिङ जिल्ला पर्छ र केही मिनेटमै बुढीगण्डकी पार गरेपछि अर्को जिल्ला पुगिन्छ । यस नदीले जिल्ला मात्र नभई अञ्चल र प्रदेश पनि छुट्ट्याउने काम गर्छ । आमाको कार्यालय गोरखापट्टिको बजारमा भए तापनि हाम्रो बसाइ भने धादिङपट्टिको बजारमा थियो । वारिपारिको दुवै बजारलाई आरुघाट भनिन्छ ।
श्री भीमोदय माध्यमिक विद्यालयबाट मेरो स्कुलको थालनी भयो । आमाको भनाइअनुसार किताब हराएकोले म १ कक्षामा अनुत्तीर्ण भएँ । तर त्यसपछि भने मलाई याद भएसम्म ७ कक्षासम्म म प्रतिभावान् विद्यार्थी थिएँ । कक्षा ८ मा पुगेपछि म फेरि गुल्टिएँ । यस पटक फेल हुनुको कारणचाहिँ किताब हराएकोले नभई तासको कुलत एउटा प्रमुख कारण थियो । म तास खेल्न ‘च्याम्पिएन’ थिएँ । मलाई ताससम्बन्धी थरीथरीका खेलहरू आउँथ्यो । सामाजिक दृष्टिकोणबाट चाडपर्वबाहेक अन्य अवसरहरूमा तास खेल्नुलाई उपयुक्त नमानिने भएकोले हामी अक्सर लुकीछिपी खेल्ने गर्थ्यौं ।
तासका अलवा क्यारिमबोर्ड, ह्वाक्रा, खोपी, लङ्गुरबुर्जा आदिजस्ता खेलहरूको माध्यमद्वारा जुवा खेल्नु मेरो लागि सामान्य गतिविधि थियो । रक्सी र चुरोट सेवनमा विरलै संलग्न भए तापनि ती आदतको रूपमा कहिल्यै विकास नभएकोमा म मेरो इतिहासप्रति कृतज्ञ छु । समग्रमा भन्नुपर्दा, सामाजिक दृष्टिकोणबाट म ‘बिग्रेको’ युवक थिएँ ।
पञ्चायती व्यवस्थाको अवसानपश्चात् बहुदलीय व्यवस्थाले भर्खरै च्याँ गरेको अवस्था थियो । धनसुरु गुरुङमार्फत हाम्रो बजारमा पहिलो पटक येशूको सुसमाचार भित्रियो । राम बहादुर ढकाल (जो अहिले मेरो ससुरा हुनुहुन्छ) प्रथम विश्वासी बन्नुभयो । पछि हाम्रो परिवारका चार जना सदस्यमध्ये मबाहेक तीनै जना (बुबा मान बहादुर, आमा धनमाया र भाइ सुरेन्द्र) ले पनि विश्वास गर्नुभयो जब कि मचाहिँ एक किसिमको विद्रोही बनेँ । विदेशी धर्म, दिदी-बहिनी नमान्ने धर्म, संस्कृति मास्ने धर्मजस्ता आरोपहरू सामान्य थिए जसले मलाई पनि बहकाएका थिए । मैले विश्वास नगरेको कारण आमा चिन्तित हुनुहुन्थ्यो तथापि मेरो धर्मान्तरणको लागि एकातिर उहाँ आफैले निरन्तर रूपमा प्रार्थना गर्नुहुन्थ्यो भने अर्कोतिर मण्डलीलाई पनि प्रार्थना गर्न अनुरोध गर्नुहुन्थ्यो ।
अन्तत: आमालगायत विश्वासीहरूको प्रार्थना शक्तिशाली साबित भयो । मेरो अविच्छिन्न अविश्वासको बाटोमा तयारो लाग्यो र परिवारले विश्वास गरेको केही वर्षपछि मैले पनि येशूलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनी ग्रहण गरेँ । हिन्दु धर्ममा जन्मेर हिन्दु धर्ममा हुर्के तापनि आफ्नो युवावस्थामा मैले ख्रीष्टमा ‘नयाँ जन्म’ पाएँ । बाइबलीय भाषामा भन्नुपर्दा म अन्धकारको राज्यदेखि ज्योतिको राज्यमा प्रवेश गरेँ । एउटा कार्यक्रमको अवसरमा पास्टर रेभरेन्ड गोपाल रेग्मीसहित उहाँको टिमको हातबाट मैले बुढीगण्डकीमा पानीको बप्तिस्मा लिएँ ।
१० कक्षा उत्तीर्ण भएपछि म वैवाहिक बन्धनमा बाँधिए । त्यस बेला म केवल १९ वर्षको थिएँ भने मेरी पत्नी जानकी १८ वर्षकी थिइन् । एसएलसी (प्रवेशिका परीक्षा) पश्चात् मेरो ससुराको करमा मलाई राजधानीस्थित इम्मानुएल बाइबल इन्स्टिच्युटमा भर्ना गरियो । बाइबल स्कुलमा ल्याइनुको एउटा कारण मलाई सुधार्नु थियो किनकि परिवारको दृष्टिमा म बिग्रेको छोरो थिएँ भने ससुरालीको दृष्टिमा बिग्रेको ज्वाइँ । अनेक थरीका नियमहरू मान्नुपर्ने भएकोले बाइबल स्कुल मेरो लागि कारागारझैँ भयो । घरमा बिहान ८ बजेसम्म सुत्दा पनि कसैले केही भन्दैनथ्यो जब कि बाइबल स्कुलमा बिहान साढे पाँच बजे उठ्नुपर्थ्यो । अन्य विविध नियमहरूसाथै पूर्णत: नयाँ वातावरणको कारण भाग्ने प्रयासमा नै मेरो पहिलो हप्ता बित्यो । तर भाग्ने प्रयास कार्यान्वयन हुनेजस्तो नदेखिएपछि विस्तारै-विस्तारै अध्ययनतर्फ मन लगाइयो ।
यहाँ पाहुना शिक्षक बनी भारतबाट आउनुभएका बाबु भर्गिजको प्रसङ्ग जोड्नु मुनासिब हुन्छ । उहाँले हामीलाई एक महिनासम्म येशूको दोस्रो आगमनको विषयमा पढाउनुभयो र उहाँको शिक्षाबाट म औधी प्रभावित भएँ । म बाइबलको लागि नयाँ विद्यार्थी भएकोले उहाँका गहकिला शिक्षाहरू बुझ्न सक्दिनथेँ भलै मनले चाहिँ भन्दै थियो, “भविष्यमा बाइबलसम्बन्धी थप अध्ययन गरियो भने उहाँकै कलेजमा जानुपर्छ ।”
दुई वर्षे (१९९९-२०००) बाइबल स्कुल पूरा गरेपछि आफूले अठोट गरेझैँ म थप अध्ययनको लागि भारतको तामिलनाडुस्थित साउथ इन्डिया ब्याप्टिस्ट बाइबल कलेज एन्ड सेमिनारीमा भर्ना भएँ । चार वर्ष (२००१-२००५) को अध्ययनपश्चात् ईश्वरशास्त्रमा ब्याचुलर अफ डिभिनिटीसहित म दीक्षित भएँ । २००५ मा नेपाल फर्केपछि मैले त्यही बाइबल स्कुलमा पूर्णकालीन शिक्षक भएर पढाउन सुरु गरेँ जहाँ म एक पटक विद्यार्थी थिएँ । त्यस बेलादेखि हालसम्म म उही इन्स्टिच्युटमा शिक्षकको रूपमा पढाउँदै आएको छु यद्यपि विगत केही वर्षदेखि प्रिन्सिपलको भूमिकामा सक्रिय छु ।
२०१० मा डेभलोपमेन्ट एसोसिएट्स इन्टरनेसनल र नेपाल एबेनेजर बाइबल कलेजको सहकार्यमा सञ्चालित स्नातकोत्तर प्रोग्राम अर्थात् मास्टर्स अफ आर्ट्स इन अर्गनाइजेसनल लिडरसिपको थालनी गरी मैले २०१६ मा यसलाई पूरा गरेँ ।
म आफूलाई रक्षाशास्त्री (अपोलोजिस्ट) भन्न रुचाउँछु यद्यपि अध्यापन, लेखनसाथै अनुवादमा आफ्नो समय बिताउने गर्छु । मैले ६६ ओटा पुस्तक–पुस्तिकासाथै ३० ओटाभन्दा बढी रचना अनुवाद गर्नुका अतिरिक्त १५५ ओटा पुस्तक–पुस्तिकासाथै झन्डै १०० ओटा रचना सम्पादन गरिसकेको छु । अर्को शब्दमा भन्नुपर्दा, मैले झन्डै १७ लाखवटा शब्द अनुवाद गर्नुका साथै झन्डै ३० लाखवटा शब्द सम्पादन गरेको छु । मेरा विभिन्न ख्रीष्टियान पत्र–पत्रिकामा दर्जनौँ लेख रचना छापिनुका अतिरिक्त पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन् । यसका अतिरिक्त, रेडियो पर्यावरणमार्फत हरेक बुधबार ‘आशाको जीवन’ कार्यक्रम प्रस्तुत गर्छु ।
हाल म आफ्नी पत्नी जानकी, तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) र आमा धनमायासँगै ललितपुरमा बस्छु ।
ख्रीष्टियान नभएको भए मेरो अवस्था कस्तो हुन्थ्यो होला ? बाइबल स्कुल प्रवेश नगरेको भए म अहिले कहाँ हुन्थेँ होला ? समय बितिसकेकोले यस्ता प्रश्नहरूको जवाफ काल्पनिक हुने भए तापनि एउटा कुरा भने निश्चित छ: ख्रीष्टियान भई बाइबल स्कुल प्रवेश गरेपछि मैले जीवनको वास्तविक अर्थ बुझ्ने मौका पाएँ । मैले येशूलाई नआङ्गेलको भए जुवाडे भएर जीवन बिताउँथे कि ? समाजमा ‘बिग्रेको’ मान्छे भनेर नाम कमाउँथे कि ? परिवारको वास्ता नगर्ने निर्दयी बुबा बन्थेँ कि ? ख्रीष्टियान भएकै कारण आज मैले यो रूपान्तरित जीवन जिउने मौका पाएको छु । येशू पृथ्वीमा हुनुहुँदा उहाँले भन्नुभएको थियो, “म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ” (यूहन्ना १०:१०) । उहाँको कारण मैले प्रशस्तताको जीवन पाएकोले म उहाँप्रति सधैँ आभारी छु ।