येशू परमेश्‍वर हुनुहुन्छ भन्‍नाका लागि ४ ओटा दरिला साक्षी

येशू को हुनुहुन्छ ? सम्भवतः सारा मानव इतिहासमा अन्य कुनै प्रश्‍नभन्दा यो प्रश्‍नको बारेमा बढी खोज र अनुसन्धान गरिएको छ । येशू गैरख्रिस्टियानहरूका लागि असल शिक्षक, मुसलमानहरूका लागि एक अगमवक्ता त ख्रीष्‍टियानहरूका लागि परमेश्‍वरका पुत्र हुनुहुन्छ । किन ख्रीष्‍टियानहरूले येशूलाई परमेश्‍वरको रूपमा आराधना चढाउँछन् त ?

१. येशूले ३०० ओटाभन्दा बेसी मसीहसम्बन्धी भविष्यवाणी पूरा गर्नुभयो ।
सारा मानव इतिहासमा येशू मात्रै एक यस्तो व्यक्तित्व हुनुहुन्छ जसले मनग्गे भविष्यवाणीहरू पूरा गर्नुभयो । गौतम बुद्ध, मुहम्मद, कन्फ्युसियस, कार्लमाक्स वा अन्य धार्मिक, राजनीतिकसाथै दार्शनिक अगुवाहरूको जन्मअगि तिनीहरूको बारेमा कुनै विशुद्ध भविष्यवाणी गरिएको जानकारी हामीसँग छैन । मानव धरतीमा येशू मात्रै एक यस्तो अनुपम व्यक्तित्व हुनुहुन्छ जसको जीवन, मृत्यु र पुनरुत्थानको विषयमा उहाँको जन्मभन्दा सैयौँ वर्षअगि सैयौँ भविष्यवाणी गरिए । यहाँ मसीहको बारेमा गरिएका चारवटा भविष्यवाणी उल्लेख गरिएका छन् जुन येशूको जीवनमा अक्षरशः पूरा भएः

  • उहाँ कन्याबाट जन्मनुहुनेथियो (यशैया (७:१४) ।
  • उहाँको जन्म बेथलेहेममा हुनेथियो (मीका ५:२) ।
  • उहाँले दर्दनाक दुःख भोग्‍नुहुने थियो (यशैया ५३) ।
  • उहाँ मृतकहरूबाट पुनरुत्थान हुनुहुनेथियो (भजनसंग्रह १६:१०) ।

मानव चोलामा ओर्लनुभएका परमेश्‍वरले मात्रै यी भविष्यवाणीहरूलाई पूरा गर्न सक्‍नुहुन्थ्यो ।

२. येशूले आफ्नै शक्तिले अनगिन्ती आश्‍चर्यकर्महरू गर्नुभयो ।
आफ्नो ईश्‍वरत्वको पुष्‍टि गर्नको लागि येशूले आफ्नो सेवा अवधिमा आश्‍चर्यकर्महरू गर्नुभयो भनी धर्मशास्‍त्रले बताउँछ । उहाँका आश्‍चर्यकर्महरूले विभिन्‍न हातामाथि उहाँको शक्तिलाई प्रदर्शित गर्छन्— प्रकृति, रोग, भूतात्मा, सृष्‍टिसाथै मृत्यु ।

  • येशूले आँधिलाई शान्त पार्नुभयो (मत्ती ८:२३-२७) ।
  • उहाँले अठतिस वर्षदेखि बिरामी भएको व्यक्तिलाई निको पार्नुभयो (यूहन्‍ना ५:१-९) ।
  • उहाँले पाँचवटा रोटी र दुईवटा माछाले पाँच हजारलाई खुवाउनुभयो (लूका ९:१-१७) ।
  • उहाँले मरेको लाजरसलाई पुनः जीवित पार्नुभयो (यूहन्‍ना ११:१-४४) ।

उहाँका आश्‍चर्यकर्महरूका यी केही नमुनाहरू मात्र हुन् । येशूले कति धेरै आश्‍चर्यकर्म गर्नुभएको थियो भनी यूहन्‍ना लेख्छन्, “येशूले अरू धेरै चिन्हहरू चेलाहरूका सामुन्‍ने गर्नुभयो, जुनचाहिँ यस पुस्तकमा लेखिएका छैनन् । तर यी लेखिएका छन् कि तिमीहरूले येशू परमेश्‍वरका पुत्र, ख्रीष्‍ट हुनुहुन्छ भनी विश्‍वास गर, र विश्‍वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्‍त होस्” (यूहन्‍ना २०:३०-३१) ।

३. येशूले पापरहित जीवन जिउनुभयो ।
येशू दुष्‍ट र भ्रष्‍ट पुस्ताको बिचमा बाँच्नुभए तापनि उहाँले निष्पाप जीवन जिउनुभयो भनी धर्मशास्‍त्रले गवाही दिन्छ । येशू आफैले यसको दाबी गर्नुभएको छ र उहाँका मित्रहरू मात्र नभई उहाँका शत्रुहरूले पनि यसको साक्षी दिएका छन् ।

  • येशूले यहूदीहरूलाई प्रश्‍न गर्नुभयो, “तिमीहरूमध्ये कसले मलाई पापको दोष लाउन सक्छ ?” (यूहन्‍ना ८:४६) । कसैले उत्तर दिने आँट गर्न सकेन ।
  •  येशूसँगै साढे तीन वर्ष बिताउने शिमोन पत्रुसले येशूको बारेमा गवाही दिए, “उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन” (१ पत्रुस २:२२)
  •  मण्डलीको सतावटकर्ताबाट सुसमाचारको राजकुमारमा रूपान्तरित प्रेरित पावल येशूको बारेमा यसो भन्छन्, “किनकि हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौं भनेर पाप नचिन्‍नुहुनेलाई परमेश्‍वरले हाम्रा खातिर पाप बनाउनुभयो” (२ कोरिन्थी ५:२१) ।
  •  येशूको विरुद्धमा लागेका अभियोगहरूलाई जाँच पडताल गरेपछि तत्कालीन बडाहाकिम पन्तियस पिलातसले येशूको बारेमा भने, “… तिमीहरूकै सामुन्‍ने केरकार गर्दा तिमीहरूले यिनीमाथि लाएका अभियोगको दोष भेट्टाइनँ” (लूका २३:१४) ।

४. येशू मृतकहरूबाट पुनरुत्थान हुनुभयो ।
चारवटा सुसमाचारलाई सरसरती पढ्ने मान्छेलाई पनि छर्लङ्ग हुन्छ कि येशू मृतकहरूबाट पुनरुत्थान हुनुभयो भन्‍ने सत्यतालाई येशूका चारै जना जीवनीकारले महत्त्वका साथ अभिलिखित गरेका छन् । आफ्नो पुनरुत्थानको विषयमा येशू आफैले बारम्बार भविष्यवाणी गर्नुभएको थियो (मत्ती १२:३८-४०; मर्कूस ८: ३१; लूका ९:२२-२७; यूहन्‍ना २:१८-२२) । येशूको ईश्‍वरत्वको प्रमाणको रूपमा आदि मण्डलीका प्रचारकहरूले पुनरुत्थानलाई पटक-पटक उल्लेख गरेका छन् (प्रेरित २:३२; १३:३०) । निम्‍नलिखित चारवटा बुँदाले येशूको पुनरुत्थानलाई एउटा ऐतिहासिक घटनाको रूपमा पुष्‍टि गर्छन्ः

  • रित्तो चिहान— येशूलाई जुन चिहानमा राखिएको थियो त्यो हप्‍ताको पहिलो दिन रित्तो देखा पर्‍यो ।
  •  पुनरुत्थानोत्तर प्रकटीकरणहरू— पुनरुत्थान हुनुभएपछि येशू विभिन्‍न क्षणमा विभिन्‍न मानिसहरूकहाँ देखा पर्नुभयो ।
  •  चेलाहरूको परिवर्तन— येशूको पुनरुत्थानपश्‍चात् चेलाहरूका जीवन यसरी परिवर्तन भए कि ती डरपोक भनिने चेलाहरू सिंहझैँ आँटिला भए ।
  •  शबाथ-दिनको परिवर्तन—यहूदी पृष्‍ठभूमिबाट आएका चेलाहरू जसले शताब्दीऔँदेखि सातौँ दिनलाई विश्राम दिनको रूपमा लिँदै आएका थिए त्यस धार्मिक अभ्यासलाई रातारात परिवर्तन गरी तिनीहरू हप्‍ताको पहिलो दिनमा आराधनाको निम्ति जम्मा हुन थाले ।

सारा मानव इतिहासमा येशू मात्रै एक यस्तो अद्वितीय व्यक्तित्व हुनुहुन्छ जसले सैयौँ वर्षअगिका सैयौँ भविष्यवाणीहरूलाई पूरा गर्नुभयो; आफ्नै शक्तिले अनगिन्ती आश्‍चर्यकर्महरू गर्नुभयो; पापरहित जीवत जिउनुभयो र मृत्युमाथि विजय हासिल गर्नुभयो । ईश्‍वरशास्‍त्रका विद्यार्थीहरूलाई थाहा छ कि येशूको ईश्‍वरत्वको लागि अन्य साक्षीहरू पनि छन् तर यी पङ्‌क्तिकारको लागि यी चारवटा दरिला छन् ।

Facebook Comments

Powered by Youth Circle