२० नोभेम्बर १८३९ का दिन मिसनरीद्वय जोन विलियम्स र जेम्स हेरिस प्रशान्त महासागरको दक्षिणमा पर्ने न्यु हेब्रिडेस नामक देशको इरोमाङ्गो टापुको तटमा उत्रे । त्यसको केही मिनेटभित्रमा त्यहाँका स्थानीहरूले दुवै जनाको हत्या गरी तिनीहरूका मृत शरीर पकाएर खाइदिए । त्यहाँका स्थानीहरू नरभक्षी अर्थात् मान्छेको मासु खाने जातिहरू रहेछन् जसले येशूको सुसमाचार लिएर गएका परमेश्वरका सेवकहरूलाई सहिद बनाइदिए । त्यहाँका परिवर्तित स्थानीहरूको पश्चात्ताप तथा मेलमिलाप कार्यक्रममा सहभागी हुन १७० वर्षपछि ख्रिस्टाब्द २००९ को नोभेम्बर महिनामा स्वर्गीय जोन विलियम्सका सन्तानहरू न्यु हेब्रिडेस (हाल भानुआतुको हिस्सा) गए । विगतको इतिहासलाई सम्झँदै भानुआतुका राष्ट्रपति आइओलु जोनसन अबिलले सम्बोधन गरे, “हामी ख्रीष्टियान मुलुक हौँ भनी दाबी गर्ने भएकोले मेलमिलाजस्तो यस्तो कार्यक्रम हुनु निकै महत्त्वपूर्ण छ । … इरोमाङ्गोलाई झन् यसको खाँचो छ ।” २०१० को तथ्याङ्कअनुसार भानुआतुमा ९३% जनसङ्ख्या ख्रीष्टियान छन् । केले मान्छेको मासु खाने भानुआतुका नरभक्षीहरूलाई सभ्यताको बाटोमा हिँड्न सिकायो ? जवाफ हुन्छ— येशूको सुसमाचार भलै यसको लागि ख्रीष्टियान जगत्ले ठुलै मूल्य चुकाउनुपर्यो । मानव सभ्यता निर्माणमा ख्रीष्टियान जगत्ले ठुलै क्षति व्यहोरेर भए पनि कति ठुलो योगदान दिएको छ भन्ने एउटा उदाहरण हो यो । वास्तवमा रूपान्तरणका यस्ता नमुनाहरू मनग्गे छन् । यो प्रसङ्ग ग्लोबल रिभाइभल वर्ल्डवाइड आउटपाओरिङ्ग्स नामक पुस्तकमा अभिलिखित मनग्गे रूपान्तरणका नमुनाहरूमध्ये एउटा हो ।
पुस्तक पठन यात्रामा यो मेरो ४४ औँ पुस्तक हो । २०८ पृष्ठको यो कृति पढेर सक्न मलाई १२ दिन (अगस्ट ११-२२) लाग्यो । २०१३ मा प्रकाशित यस कृतिका लेखक हुन्, मत्ती ब्याकहोलर । लेखक जागृतिका इतिहासकार, लेखकसाथै अनुसन्धानकर्ता हुन् । पुस्तकमा जम्माजम्मी २५ ओटा पाठ र १० ओटा परिशिष्ट छन् ।
परमप्रभु परमेश्वर भन्नुहुन्छ, “किनकि म सुकेको जमिनमा पानी र सुक्खा भूमिमा खोलाहरू खन्याइदिनेछु । म तेरो वंशमाथि मेरो आत्मा खन्याउनेछु, र तेरो सन्तानलाई आशिष् दिनेछु” (यशैया ४४:३) । एसिया, अफ्रिका, युरोप, उत्तर र दक्षिण अमेरिका अनि अस्ट्रेलियामा के-कस्ता जागृतिहरू आए भनी पुस्तकमा उल्लेख गरिएको छ ।
१-७ अध्याय जागृतिका परिभाषासाथै धारणाबारे समर्पित छन् भने ८ अध्यायदेखि संसारमा कुन-कुन ठाउँमा के-कस्ता जागृतिहरू देखा परे भनी व्यक्त गरिएको छ । अठारौँ शताब्दीमा मिसनरी डेभिड ब्रेनार्डको अगुवाइमा आदिवासी अमेरिकीहरूको बिचमा जागृति आएको थियो भनी ८ अध्यायमा अभिलिखित छ भने ९ अध्याय उन्नाइसौँ शताब्दीमा भारत, स्विजरल्यान्ड, हवाईमा आएका जागृतिहरूबारे केन्द्रित छ । १० अध्यायमा जमैका, न्यु हेब्रिडेस, क्यानडामा देखा परेका जागृतिहरूबारे चर्चा गरिएको छ भने ११ अध्याय स्कटल्यान्ड, जापान र भारतका तेलुगु मानिसहरूका बिचमा पवित्र आत्माले ल्याउनुभएका जागृतिहरू उल्लेख गरिएका छन् ।
त्यसै गरी, १२-१५ अध्यायमा अस्ट्रेलिया, न्युजिल्यान्ड, कोरिया, गाजाल्यान्ड, लाटभिया, इस्टोनिया, चीन, नाइजेरिया, न्युयोर्कसाथै सुडानमा देखा परेका अद्भुत जागृतिहरूबारे चर्चा गरिएका छन् । अर्जेन्टिना, इन्डिनेसिया, नागाल्यान्ड, जिम्बाब्बे, मिश्र, एरिट्रिआ, चीनको तिब्बत, ब्राजिल, बुर्किना फासो, भारतको सिलोङ्ग अनि उत्तरी अल्जेरियामा आएका विस्मयकारी जागृतिहरूबारे १६-१९ अध्यायमा व्यक्त गरिएको छ ।
पुस्तकको परिशिष्ट ‘ग’ मा नेपालमा आएको जागृतिको विषयमा उल्लेख गरिएको छ । एउटा स्रोतअनुसार ख्रिस्टाब्द १९५२ मा नेपालमा केवल २९ जना विश्वासी थिए जुन समयमा नेपाललाई अत्यधिक गरिब देशको रूपमा हेरिन्थ्यो । न बिजुली थियो, न शुद्ध खानेपानी । त्यस बेला नेपालीको सरदर आयु केवल ३४ वर्ष थियो जब कि अहिले ६५ वर्ष छ । सतावटको पराकाष्टा हुँदा पनि १९९० मा २ लाख ख्रीष्टियान पुग्यो र २०१० मा आइपुग्दा त्यो बढेर झन्डै ८५०,००० पुग्यो । अहिले नेपालको हरेक जिल्लामा कम्तीमा एउटा स्थानीय मण्डली स्थापना भइसकेको अवस्था छ । नेपालमा भएको द्रुततर ख्रीष्टियान वृद्धिलाई आदि मण्डलीको वृद्धिसित तुलना गर्न सकिन्छ जसको बारेमा प्रेरितको पुस्तकमा लेखिएको छ, “तर वचन सुन्नेहरूमध्ये धेरैले नै विश्वास गरे, र विश्वास गर्ने मानिसहरूको संख्या प्राय: पाँच हजार भयो” (४:४) । नेपालमा ख्रीष्टियानहरूको वृद्धिलाई विस्मयकारी मान्नुपर्छ । परमेश्वरले अद्भुत रूपमा यस देशमा आफ्नो काम गरिरहनुभएको तथ्य केही दशकको इतिहास केलाउँदा पनि छर्लङ्ग छ ।