एक जना सेवकले फेन्नी क्रज्बीप्रति सहानुभूति देखाउँदै भन्यो, “परमेश्वरले तिमीमाथि प्रशस्त वरदानहरू खन्याउनुभएको छ । तर मेरो विचारमा उहाँले तिमीलाई दृष्टि नदिनुचाहिँ ज्यादै दुःखको कुरो हो ।”
फेन्नीले तुरुन्तै उसलाई यसो भन्दै हप्काइन्, “के तपाईंलाई थाहा छ कि जन्मने बेलामा मेरा सृष्टिकर्तालाई एउटा बिन्ती चढाउने मौका मलाई प्रदान गरिएको भए म दृष्टिविहीन भएर नै जन्मन पाऊँ भन्थेँ ?”
“किन ?” सेवकले तुरुन्तै प्रश्न गर्यो ।
“किनकि जब म स्वर्गमा पुग्छु मेरा आँखाले पहिलो पटक मेरा मुक्तिदातालाई हेर्ने छन् ।”
दृष्टिविहीन भएर पनि फेन्नीले जीवनमा ८,००० ओटाभन्दा बेसी भजन लेखिन् । उनी कवि, गीतकारसाथै मिसनकर्मी थिइन् । २४ मार्च १८२० मा फेन्नीको जन्म अमेरिकाको न्युयोर्क सहरमा भएको थियो । उनी एक वर्ष पुग्न नपाउँदै उनका पिता जोनको मृत्यु भयो, तर उनकी आमा मर्सी भने ९१ वर्षसम्म बाँचिन् ।
फेन्नी ६ हप्ताको पुग्दा उनको आँखामा केही समस्या देखा पर्यो । घरेलु डाक्टरको अनुपस्थितिमा कुनै घुमन्ते डाक्टरले उनको उपचार गर्दा उनले सदाको निम्ति आँखाको ज्योति गुमाउनुपर्यो । तर आफू दृष्टिविहीन भएकोमा उनले कहिल्यै पछुतो गरिनन्, बरु यसो भनिन्, “मैले सधैँ विश्वास गरेकी छु कि असल परमेश्वरले उहाँको असीमित कृपामा यस माध्यमद्वारा उहाँले मलाई त्यो कामको लागि अर्पण गर्नुभयो जुन काम गर्ने अनुमति मैले अहिलेसम्म पाएको छु ।”
आठ वर्षको उमेरमा उनले भजनका यी शब्दहरू कोरेकी थिइन्ः
मैले देख्न नसके तापनि
मेरो आत्मा कति खुसी छ!
यस संसारमा सन्तुष्ट रहने
मैले इच्छा गरेकी छु ।
मैले कति धेरै आशिष्हरू पाएको छु
जुन अरूहरूले पाएका छैनन्
दृष्टिविहीन भएको कारणले
म रुने, कराउने गर्दिनँ ।
१६ वर्षको उमेरमा फेन्नी दृष्टिविहीनहरूका निम्ति खोलिएको न्युयोर्क इन्स्टिच्युटमा भर्ना भइन् जहाँ उनले उत्कृष्ट शिक्षा हासिल गरिन् । पछि उनी त्यहीँको शिक्षिका बनिन् ।
१८५० मा नयाँ जन्म पाएकी उनी न्युयोर्कस्थित एउटा मण्डलीको सदस्य थिइन् । अभिषिक्त मिसनरी, डिकन र प्रचारक बनेर उनले सेवा पुर्याइन् ।
ख्रीष्टीय भजनको २८१ नम्बरको भजन फेन्नीका परिचितसाथै लोकप्रिय भजनमा पर्छ जसको पहिलो श्लोकमा लेखिएको छ,
“येशू हुन् मेरो कस्तो विलास, दिँदछन् मनमा महिमाको आश
मुक्तिको भागी स्वर्ग मेरो घर, उनमा म बस्छु सधैँ निडर ।”
नेपालीमा अनूदित यस भजनलाई ख्रिस्टाब्द १८७३ मा रचना गरिएको थियो । यस भजनमा फिबी न्यापले सङ्गीत भरेकी थिइन् ।
“सुसमाचारीय भजन लेखकहरूकी रानी” को उपनाम पाएकी फेन्नीका भजनहरू करोडौँको सङ्ख्यामा छापिएका छन् । प्रशंसाले ओतप्रोत उनका भजनहरू नेपालीलगायत विभिन्न भाषाहरूमा अनुवाद गरिएका छन् । केही प्रकाशकहरूले उही नाउँबाट मनग्गे भजनहरू छाप्न हिच्किचाएकाले जीवनमा उनका झन्डै २०० ओटा छद्मभेषी नाउँ थिए । उनले १,००० भन्दा बेसी ख्रिस्टियानेतर कविताहरू पनि रचिन् । उनका चारवटा कविता सङ्ग्रहसाथै दुईवटा आत्मकथा प्रकाशित छन् ।
भजन लेखनका अतिरिक्त फेन्नी लोकप्रिय वक्ता पनि थिइन् । मानिसहरूलाई प्रेरित गर्न उनले संसारको चारैतिर यात्रा गरिन् । जोन क्विन्सी आदम्स, जोन टेलर, आन्द्रु जोनसन, ग्रोभर क्लेभल्यान्डजस्ता अमेरिकाका पूर्वराष्ट्रपतिहरूको निमन्त्रणमा उनी पाहुना बनी ह्वाइट हाउस (श्वेत गृह) सम्म पुगिन् । आफ्नो प्रसिद्धीको बाबजुत पनि उनले मौका मिलेसम्म सुसमाचार सुनाउने अवसरलाई कहिल्यै गुमाइनन् । ९४ वर्षको दीर्घायुमा १२ फेब्रुअरी १९१५ मा उनी सधैँको निम्ति प्रभुको साथमा पुगिन् ।
संसारमा परिवर्तन ल्याउन चाहनेहरू र जीवनमा सफलता हासिल गर्न चाहनेहरूले सम्भावनाहरूलाई हेर्छन्, आफ्ना कमजोरीहरूलाई होइन ।