जोन गिब्सन पाटोन ख्रिस्टाब्द १८२४ मा स्कटल्यान्डमा जन्मेका परमेश्वरका सेवक थिए जो प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा पर्ने न्यु हेब्रिडेस भन्ने टापुमा मिसनरी भएर गए । तिनले त्यस टापुका स्थानीयहरूको बिचमा शिक्षा र ख्रीष्टियान सन्देशलाई पुर्याएका थिए । पाटोनको जीवनका थुप्रै सङ्घर्ष र रोचक प्रसङ्गहरूमध्ये यहाँ एउटा उल्लिखित छ ।
पाटोन त्यस्तो ठाउँमा मिसनरी बनेर गएका थिए जहाँका मानिसहरूले कहिल्यै सुसमाचार सुन्ने मौका पाएका थिएनन् । त्यहाँका स्थानीय बासिन्दाहरू तिनीप्रति मैत्रीपूर्ण थिएनन् । एक पटकको कुरो हो । टुनामुना गर्ने त्यहाँका तीन जना मानिसले अर्को आइतबारसम्ममा तिनीहरूको टुनामुनाद्वारा पाटोनलाई मार्ने सार्वजनिक घोषणा गरे । तिनीहरूले आफूसँग मृत्युसम्म ल्याउने शक्ति भएको दाबी गरे । तिनीहरूको मन्त्रलाई कार्यान्वयन गर्न तिनीहरूलाई यस्तो खानाको आवश्यक पर्थ्यो जसलाई पाटोनले आंशिक रूपमा खाएको हुनुपर्थ्यो भनी तिनीहरूले बताए । पाटोनले तीनवटा रसिलो फललाई अलि–अलि टोकी बाँकी भाग ती झाँक्रीहरूलाई दिए जसले तिनको मृत्युको षड्यन्त्र गर्दै थिए ।
आइतबार आयो । मिसनरी मुस्कुराउँदै गाउँमा प्रवेश गरे । ती व्यक्ति पाटोन हुन सक्दैनन् भनी मानिसहरू एक-अर्कालाई हेर्दै छक्क परे किनकि तिनी मर्नेथिए भन्ने कुरामा गाउँलेहरू विश्वस्त थिए । मिसनरीलाई मार्न टुनामुनासम्बन्धी आफ्ना सबै विधिलाई तिनीहरूले प्रयोग गरेका थिए भनी ती झाँक्रीहरूले स्वीकार गरे । तर तिनी मरेनन् । ती टुनामुना गर्नेहरू किन असफल भए भनी तिनीहरूलाई सोध्दा तिनीहरूले जवाफ फर्काए, “मिसनरी हामीजस्तै पवित्र मानिस हुन् । तर तिनको परमेश्वर हाम्रो परमेश्वरभन्दा महान्तर हुनुहुन्छ ।” त्यस क्षणदेखि तिनको प्रभाव बढ्यो र छिट्टै नै केही गाउँलेहरूले प्रभु येशूमाथि विश्वास गरे ।