बाइबलको इतिहाससित सम्बन्धित ३,२०० वर्ष पुरानो स्मारक फेला पारियो

ख्रिस्टाब्द १८९६ मा  विश्वविख्यात ब्रिटिस पुरातत्त्वविद् फ्लिन्डर्स पेट्रीले मिश्रमा एउटा शिलालेख पत्ता लगाए जसलाई मर्नेप्ता स्मारक स्तम्भ भनिन्छ । ‘इस्राएल’ को उल्लेख गर्ने बाइबल बाहिरको यो नै प्राचीनतम सन्दर्भ भएकोले यसलाई इस्राएल स्मारक स्तम्भ पनि भनेर चिनिन्छ ।

मर्नेप्ता प्राचीन मिश्रका राजा थिए जसले १२१३–१२०३ ख्रिस्टपूर्वसम्म शासन गरेका थिए । तिनी रामसेस महान् (रामसेस द्वितीय) का छोरा थिए ।

यस शिलालेखलाई करिब १२१० ख्रिस्टपूर्वमा तयार पारिएको थियो । यसको अर्थ हुन्छ कि यो आजभन्दा लगभग ३,२०० वर्ष पुरानो शिलालेख हो । भजनको रूपमा वर्णित यस रचनामा २८ ओटा हरफ छन् । यस महत्त्वपूर्ण स्मारकलाई हाल मिश्रको राजधानी काइरोस्थित मिश्री सङ्ग्रहालयमा राखिएको छ ।

यस स्तम्भमा खास गरी लिबियालीहरू र तिनीहरूका मित्र राष्ट्रहरूमाथि राजा मर्नेप्ताको विजयलाई बयान गरिएको छ । तर बाइबलीय पुरातत्त्वविद्याको अध्ययनमा यस खोजको महत्त्व यस हेतुले रहेको छ कि यसको अन्त्यतिर इस्राएल जातिको चर्चा गरिएको छ, “इस्राएल निर्जन भएको छ; त्यससँग कुनै अन्न छैन ।”

यस खोजका मनग्गे महत्त्व रहेका छन् । ‘इस्राएल’ जातिको उल्लेख गर्ने यो नै प्राचीनतम बाइबलेतर (बाइबलभन्दा बाहिरको) सन्दर्भ हो । मिश्री अभिलेखहरूमा इस्राएलको चर्चा गर्ने यही मात्र एउटा शिलालेख हो । विभाजित राज्यअगि इस्राएलको उल्लेख गर्ने यही मात्र एउटा सन्दर्भ हो । इस्राएल भन्ने जाति अस्तित्वमा थियो र तेर्‍हौँ शताब्दीमा तिनीहरू प्यालेसटाइनमा बसेका थिए भनी यसले प्रमाणित गर्दछ । जुन तरिकाले ‘इस्राएल’ शब्दलाई लेखिएको छ त्यसले इस्राएल भौगोलिक सीमानाहरू भएको कुनै देश नभई मानिसहरूको एउटा समूह अर्थात् जाति थियो भनी अङ्कित गर्दछ । तब यो प्रस्ट छ कि यसले इस्राएलको त्यो काल खण्डलाई उल्लेख गर्दछ जुन बेला त्यहाँ कुनै शासक थिएन । न्यायकर्ताको पुस्तकमा पटक–पटक यस्ता भनाइहरू उल्लेख भएको पाइन्छ, “ती दिनमा इस्राएलमा कुनै राजा थिएन, र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्यो त्यही गर्दथ्यो” (न्यायकर्ता २१:२५) । यस स्तम्भमा अन्य स्थापित सहरहरू र बाइबलीय भूमिहरू (जस्तैः अश्कलोन, गेजेर आदि) को सूचीमा इस्राएलको नाउँ पनि अभिलेख गरिएकोले इस्राएल नगण्य जाति नभई तुलनाको लागि योग्यसाथै महत्त्वपूर्ण रहेछ भनेर पनि यसले सूचित गर्दछ । यस शिलालेखलाई दिइएको मिति न्यायकर्ताको पुस्तकमा इस्राएल जातिको उपस्थितिको मितिसित सोर्‍है आना मेल खाएको छ ।

Facebook Comments

Powered by Youth Circle