बाइबलीय पात्र बारूकका २,६०० वर्ष पुराना २ ओटा छाप फेला पारिए

यर्मिया ३६:४ मा लेखिएको छ, “यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए, र बारूकले एउटा पत्रको मुट्ठोमा यर्मियाले लेखाएका सबै कुरा, जो परमप्रभुले यर्मियालाई भन्नुभएको थियो, सो लेखे ।”

छैटौँ शताब्दी ख्रिस्टपूर्व अर्थात् आजभन्दा २,६०० वर्षअगि बाँचेका बारूक बाइबलका परिचित पात्र हुन् । बाइबलीय विवरणहरूअनुसार बारूक शास्त्री, चेला, सचिवसाथै यर्मिया अगमवक्ताका घनिष्ठ मित्र थिए । तिनको बारेमा बाइबलका यी खण्डहरूमा पढ्न पाइन्छः यर्मिया ३२:१२–१६; ३६:४–३२; ४३:३–६; ४५:१–२ ।

बाइबल र यहूदी इतिहासकार योसिफसका रचनाहरूमा मात्र बारूकको नाउँ उल्लेख भएको छैन तर बिसौँ शताब्दीमा दृश्यमा आएका दुईवटा छापमा पनि तिनको नाउँ कुँदिएको छ ।

ख्रिस्टाब्द १९७५ मा माटोले बनेका २०० ओटा छाप इस्राएलको बजारमा देखा परे जसमध्ये एउटा छापमा बारूकको नाउँ उल्लेख छ । हाल यरूशलेमस्थित इजराएल सङ्ग्रहालयमा राखिएको यस छापमा लेखिएको छ, “नेरियाहका छोरा शास्त्री बेरेक्याहको ।” बारूक बेरेक्याहको सङ्क्षिप्त नाउँ हो । पुरातत्त्वविद्याअनुसार यो छैटौँ शताब्दी ख्रिस्टपूर्वको छाप हो जुन समयमा बाइबलीय बारूक यस धरतीमा बाँचेका थिए ।

१९९६ मा उस्तै खालको छाप दृश्यमा आयो । चाखलाग्दो कुरोचाहिँ यो थियो कि दोस्रो छापमा औँठा छाप पनि थियो । त्यो औँठा छाप कसको भनेर निश्चयतासाथ भन्न नसकिने भए तापनि त्यो बारूककै हो भनेर अनुमानचाहिँ गर्न सकिन्छ ।

बारूकसित सम्बन्धित यस पुरातात्त्विक खोजले एकातिर बारूक एक ऐतिहासिक व्यक्तित्व थिए भनी पुष्टि गर्दछ भने अर्कोतिर यसले बाइबलको ऐतिहासिक सच्चाइलाई प्रमाणित गर्दछ ।

Facebook Comments

Powered by Youth Circle