आधुनिक संसार निर्माणमा ख्रीष्टियान विश्वासको भूमिका

“धार्मिक स्वतन्त्रता, राजनीतिक जवाफदेहिता, असल सरकार, परोपकारिता र समुदायमाथि हाम्रो विश्वास सबै नै ख्रीष्टियान प्रभावको कारणले उदय भएका हुन् ।” यो हाऊ क्रिस्चियानिटी मेड द मोडर्न वर्ल्ड नामक पुस्तकबाट साभार गरिएको अंश हो ।

पुस्तक पठन यात्रामा यो मेरो ४३ औँ पुस्तक हो । २७० पृष्ठको यस कृतिलाई पढेर सिद्ध्याउन मलाई १५ दिन (२७ जुलाई-१० अगस्ट) लाग्यो । ख्रिस्टाब्द २०१४ मा प्रकाशित यस कृतिमा ३७ ओटा पाठ पाइन्छन् । यस किताबले विविध विषयहरूलाई सम्बोधन गरेको छ र हरेक विषयबारे ठेलीका ठेली लेखिएका छन् र अझै लेख्न सकिन्छ । मैले यसलाई निकै रुचि लिएर आद्योपान्त पढेँ ।

यस कृतिका लेखक हुन्, पावल ब्याकहोलर । तिनी इभान्जलिकल लेखक, अन्वेषकसाथै मिसनरी हुन् । विश्वव्यापी रूपमा ख्रीष्टियान च्यानलहरूमा देखा परिसकेका तिनी ByFaith Media का सहसंस्थापक हुन् ।

ख्रिस्टाब्द २०१०-२०१६ सम्म ब्रिटिस प्रधानमन्त्रीको पदमा रहेका डेभिड क्यामरुनले बाइबलको प्रभावबारे शानदार अभिव्यक्ति दिएका छन्, “बाइबल एउटा यस्तो पुस्तक हो जसले हाम्रो देशलाई मात्र आकार दिएको छैन तर संसारलाई पनि ।” रुसबाट अलस्कालाई किन्ने विलियम हेन्‍री सेवार्डले भने, “मानवीय उन्नतिको सम्पूर्ण आशा बाइबलको बढ्दो प्रभावमा अडेको छ ।” आफ्नो समयका एक सर्वाधिक प्रभावशाली दार्शनिक इम्मानुएल कान्टले व्यक्त गरे, “मानिसहरूका निम्ति पुस्तकको रूपमा बाइबलको अस्तित्व मानव-जातिले अनुभूति गरेको सर्वोत्तम लाभ हो ।” पाश्चात्य सभ्यताको इतिहासमा बाइबललाई सबैभन्दा प्रभावशाली पुस्तकको रूपमा आदर गरिन्छ ।

ख्रीष्टियान इतिहास सिद्ध छैन भनी प्रत्येक ख्रीष्टियानले स्वीकार गर्नुपर्छ र इतिहासको अध्ययनकर्ताले स्वीकार गर्छ पनि । यो कुरो साँचो हो कि इतिहासमा ‘चर्च’ को नाउँमा कतिपय दुष्कर्महरू घटे । तर मानव सभ्यता निर्माणमा ख्रीष्टियानहरूले अतुलनीय योगदान पुर्‍याएका छन् ।

हाल मानव-जातिले जुन स्वतन्त्रता प्राप्त गरेको छ त्यसको लागि अग्रस्थानमा रहेर मुकाबिला गर्नेहरूमा अक्सर ख्रीष्टियानहरू नै थिए । त्यही स्वतन्त्रताले आज हामीलाई हाम्रा मूल्य-मान्यता, कानुनसाथै सभ्यता प्रदान गरेको छ । स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रहरूमा मात्र नभई आधुनिक लोकतन्त्रको विकासमा पनि ख्रीष्टियानहरू अग्रस्थानमा खडा भए । आधुनिक संसारका धेरै उपलब्धिहरूका निम्ति हामी सबै बाइबल विश्वास गर्ने ख्रीष्टियानहरू र ख्रीष्टियान शिक्षाको निम्ति ऋणी छौँ ।

ख्रिस्टियमतको स्थापनासँगै पाश्चात्य जगत्‌मा शताब्दीऔँदेखि अभ्यास गरिँदै आएका अन्धविश्वास, कुरीति, कुसंस्कारसाथै अमानवीय अभ्यासहरूमा पूर्ण विराम लाग्यो । दासप्रथाको उन्मुलनदेखि लिएर गरिबीलाई इतिहास बनाउने अभियानहरूको केन्द्रमा विश्वासका मानिसहरू रहेका छन् । ख्रीष्टियान विचारधाराले ओतप्रोत देशहरूमा मात्रै राजनीतिक जवाफदेहिता, वाक्‌स्वतन्त्रतासाथै धार्मिक स्वतन्त्रताजस्ता आदर्शहरूको विकास हुन्छन् ।

ख्रीष्टियान शिक्षाले नैतिकताको स्तरलाई माथि उठाउने काम मात्र गरेको छैन तर मानवीय जीवनको मूल्यलाई पनि वृद्धि गरेको छ । यसले शिशु हत्यालाई रोक्नुका अतिरिक्त दासप्रथालाई निर्मुलन गरेको छ । परोपकार र राहतसम्बन्धी संस्थाहरू जन्माउन, अस्पतालको सृजना गर्न अनि अनाथालयसाथै स्कुलहरू स्थापना गर्नमा ख्रीष्टका अनुयायीहरू नै जिम्मेवार छन् ।

कलेजसाथै विश्वविद्यालयहरूको स्थापना गर्नेहरू; श्रमलाई ईश्वरीय पेसाको रूपमा सम्मान दिनेहरू र सभ्यताको ज्योतिलाई सीमा क्षेत्रमा बस्ने असभ्यहरूकहाँ पुर्‍याउनेहरू ख्रीष्टियानहरू नै थिए ।

ख्रीष्टका अनुयायीहरूले विज्ञानलाई मात्र अगाडि बढाएका छैनन् तर राजनीति, सामाजिक र आर्थिक स्वतन्त्रताको अवधारणालाई दृढतापूर्वक स्थापित गरेका छन् । न्यायको विकास गर्नुका साथै र वर्तमान समयसम्म हाम्रो सम्पत्तिको रूपमा रहेका कला, वास्तुकला, सङ्गीतसाथै साहित्यमा विद्यमान वैभवशाली प्राप्तिहरूका लागि प्रभु येशू नै महान्‌तम प्रेरणाको स्रोत बन्नुभएको छ ।

कतिपय मुलुकसाथै समाजहरूमा ख्रीष्टियान विश्वासलाई तिरस्कार गर्नुका अतिरिक्त निषेध गर्ने झुकाव भए तापनि त्यसो गर्नु भनेको आफू रुखमा बसेर हातमा बञ्चरो लिई फेद गेड्न खोज्नुजस्तै हो; घरको छतमा बसेर जग भत्काउन खोज्नुजस्तै हो किनकि आज हामीले हासिल गरेका मनग्गे उपलब्धिहरू ख्रीष्टका अनुयायीहरूका सङ्घर्षका नतिजा हुन् । बाइबल यस धरतीमा नलेखिएको भए र मानवीय चोला धारण गरी येशू यस धरतीमा नओर्लनुभएको भए हामीले यो सभ्यता देख्न पाउनेथिएनौँ । येशू २,००० वर्षअगि प्राचीन प्यालेसटाइनमा जन्मनुभए तापनि एक्काइसौँ शताब्दीमा उहाँ आफ्नो वचनमार्फत हाम्रो भूगोलमा तपाईं र मसँगै बोल्दै हुनुहुन्छ र उहाँको वचन व्यक्ति, परिवार, समाजसाथै देश निर्माणमा इन्धन साबित भएको छ ।

आज संसारका एक-तिहाइ जनसङ्ख्या ख्रीष्टियान छन् र स्वैच्छिक धर्मान्तरणको आधारमा ख्रिस्टियमत यस ग्रहमा सर्वाधिक वृद्धि हुन सफल आस्था हो ।

Facebook Comments

Powered by Youth Circle