तपाईंको विश्वस्तता महान् छ

५८६ ख्रिस्टपूर्वमा यरूशलेमको विनाश भएपछि लेखकले शोकाकुल आवाजमा कवितात्मक शैलीमा व्यक्त गरेका गीत हो विलापको पुस्तक । विलाप ३:२२–२३ मा लेखिएको छ, “परमप्रभुको महान् प्रेमले गर्दा हामी भस्म भएका छैनौं, उहाँका कृपाको अन्त कहिल्यै हुँदैन । हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ । तपाईंको विश्वस्तता महान् छ ।” यस खण्डले एक जना रचनाकारलाई एउटा सुमधर भजन लेख्न प्रेरित गरेको छ । ती भजन लेखक हुन्— थोमस ओबदिया खिजम । तिनले रचेका चर्चित भजनहरूमध्ये एउटा भजनको शीर्षक नै माथि उल्लिखित खण्डको अन्तिम वाक्यबाट बनेको छः तपाईंको विश्वस्तता महान् छ । निकै लोकप्रिय यस भजनलाई तिनले ख्रिस्टाब्द १९२३ मा सन्ताउन्न वर्षको उमेरमा रचेका थिए ।

थोमसको जन्म उन्नाइसौँ शताब्दीमा अमेरिकामा काठले बनेको घरमा भएको थियो । तिनी १६ वर्षको उमेरमा आफू पढेकै स्कुलमा शिक्षक बने । डा. हेन्‍री सी. मोरिसनद्वारा नेतृत्व गरिएको जागृति सभामा २७ वर्षको उमेरमा तिनले प्रभु येशूलाई पाए । कलेज वा सेमिनारीको शिक्षाविना नै ३६ वर्षको उमेरमा तिनी पास्टर बने । तिनले एक वर्षसम्म मेथोडिस्ट मण्डलीमा गोठालो बनी प्रभुको सेवा गरे । तर कमजोर स्वास्थ्यको कारण तिनले उक्त सेवालाई निरन्तरता दिन सकेनन् ।

पछि तिनले विमा कम्पनी खोले तापनि धेरै पैसा भने कमाउन सकेनन् । तर तिनले परमेश्वरको त्यस विश्वस्ततालाई भने वास्तवमै अनुभव गरे । कविता लेख्न सौखिन थोमसले जीवन कालमा १,२०० ओटाभन्दा बेसी कविता लेखे ।

हालसम्म १ करोड ४४ लाखभन्दा बेसी भिउ बटुलिसकेको यस भजनलाई सुन्न यस लिङ्कमा जानुहोस्: https://www.youtube.com/watch?v=0k1WhFtVp0o

Facebook Comments

Powered by Youth Circle