‘परमप्रभुको मन्दिर’ लेखिएको २,६०० वर्ष पुरानो शिलालेख पत्ता लाग्यो 

इस्राएलको दक्षिणमा पर्ने अरद (प्राचीन यहूदा) नामक सहरमा एउटा शिलालेख फेला पारिएको छ जसमा अन्य केही लेखहरूसँगै ‘परमप्रभुको मन्दिर’ भनेर पनि लेखिएको छ । यस आविष्कारलाई छैटौँ शताब्दी ख्रिस्टपूर्वको मिति दिइएको छ जसको अर्थ हुन्छ कि यो २,६०० वर्ष पुरानो लेखोट हो ।

यसको लेखक अज्ञात भए तापनि यसको प्रापक भने प्रस्ट छः एलियासिब । यी व्यक्तिको बारेमा हामीलाई केही पनि थाहा छैन ।

यस शिलालेखमा उल्लिखित सबैभन्दा उल्लेखनीय सन्दर्भ ‘परमप्रभुको मन्दिर’ ले पक्कै पनि दसौँ शताब्दी ख्रिस्टपूर्वमा सोलोमनद्वारा निर्मित मन्दिरलाई उल्लेख गर्दछ । सोलोमनको मन्दिरलाई उल्लेख गर्न यस्तो अभिव्यक्तिलाई बाइबलमा बारम्बार प्रयोग गरिएको छ । उदाहरणको लागि १ राजा ६:१४ मा लेखिएको छ, “यसरी सोलोमनले परमप्रभुको मन्दिर बनाएर सिद्ध्याए ।”

प्राचीन संसारमा सोलोमनको मन्दिर एउटा वैभवशाली मन्दिर थियो । यो इस्राएलीहरूको धार्मिक गतिविधिको केन्द्र मात्र नभएर परमप्रभुको बासस्थान पनि थियो (१ राजा ८:१०,११) । ५८७ ख्रिस्टपूर्वमा राजा नबूकदनेसर द्वितीयद्वारा यसको विनाश नगरिएसम्म यो प्राचीन यरूशलेमको सियोन पर्वतमा खडा थियो । यस मन्दिरको बारेमा बाइबलले सविस्तार ढङ्गमा वर्णन गरेको छ ।

बाइबलको पुरातात्त्विक अध्ययनमा यस खोजको उल्लेखनीय महत्त्व रहेको छ । सोलोमनको मन्दिरलाई उल्लेख गर्ने यो दोस्रो प्राचीनतम खोज हो । सोलोमनको मन्दिर विनाश हुनुभन्दा केही वर्षअगि मात्र यसको रचना गरिएको थियो ।

यस शिलालेखलाई अहिले इस्राएलस्थित इजराएल सङ्ग्रहालयमा राखिएको छ ।

Facebook Comments

Powered by Youth Circle