एक जना जँड्याहाको परिवर्तनले गर्दा सयभन्दा बढीले प्रभुलाई पाए 

ख्रिस्टाब्द १९३९ मा अमेरिकामा जन्मेका जोस म्याकडोल कुनै समय ख्रिस्टियमतका वैरी थिए । तिनी ख्रीष्टियान विश्वासलाई खण्डन गर्न तम्सिएका थिए । तर नसकेपछि तिनी बौद्धिक रूपमा बेइमान हुन सकेनन् । अन्ततोगत्वा, १९५९ डिसेम्बर १८ का दिन राती ८ बजेर ३० मिनेट जाँदा तिनले आफ्नो जीवन प्रभु येशूको चरणमा सुम्पे । ८१ वर्षका म्याकडोल हाल परिचित ख्रीष्टियान रक्षाशास्त्री, प्रचारकसाथै लेखक हुन् । तिनले १२५ ओटा मुलुकमा २ करोड ५० लाखभन्दा बेसी मानिसलाई सम्बोधन गरिसकेका छन् ।

म्याकडोल १३८ ओटा पुस्तकका लेखकसाथै सहलेखक हुन् । क्रिस्चियानिटी टुडे नामक पत्रिकाले प्रकाशित गरेको दोस्रो विश्वयुद्धपश्चात् सर्वाधिक प्रभावशाली इभान्जलिकल पुस्तकहरूको सूचीमा The New Evidence That Demands A Verdict नामक तिनको कृति तेर्‍हौँ श्रेणीमा परेको थियो । ख्रिस्टाब्द १९९९ मा प्रकाशित ८०० भन्दा बेसी पृष्ठ भएको यस बडेमाको पुस्तकको पृष्ठ सङ्ख्या XXVII मा येशूमाथि विश्वास गरेपछि तिनका जँड्याहा पिताको जीवनमा कसरी आमूल परिवर्तन आएको थियो भनी लेखकले व्यक्त गरेका छन्ः

मेरा पिताले ख्रीष्टमाथि भरोसा गर्नुभएपछि मेरा आँखाकै सामुन्ने उहाँको जीवन परिवर्तन भयो । लाग्थ्यो, कोही उहाँकहाँ आएर उहाँभित्र ज्योति चम्काइदिएको थियो । त्यसपछि उहाँले केवल एक पटक मद्यपान गर्नुभयो । त्यही पनि उहाँले आफ्नो ओठसम्म मात्र पुर्‍याउनुभयो, त्यो पनि चालिस वर्षसम्म खाने बानी परेको मान्छेले । त्यसपछि उहाँलाई त्यसको आवश्यकता परेन । मद्यपानको नतिजास्वरूप देखा परेका रोगहरूको कारणले चौध महिनापश्चात् उहाँको निधन भयो । तर त्यो चौध महिनाको अवधिमा मेरो सानो सहरको वरिपरि भएका सयभन्दा बढी मानिसले आफ्ना जीवन येशू ख्रीष्टमा समर्पित गरे किनकि तिनीहरूले सहरको जँड्याहा व्यक्ति अर्थात् मेरा बुबाको जीवनमा परिवर्तन देखेका थिए ।

Facebook Comments

Powered by Youth Circle