उत्तर र पूर्वपट्टि सिरिया, दक्षिणपट्टि इजराएल र पश्चिपट्टि भूमध्यसागरले घेरिएर रहेको देशको नाउँ हो, लेबानोन । पश्चिम एसियामा अवस्थित यस मुलुकमा ख्रिस्टाब्द १९७५–१९९२ सम्म गृह युद्ध चर्किएको थियो । अनुमानित २,५०,००० ले ज्यान गुमाएको यस गृहयुद्धमा एक जना ख्रीष्टियान युवतीको साहसपूर्ण कथा यस प्रकार रहेको छ ।
उनको नाउँ हो, मेरी खुरी । यो ख्रिस्टाब्द १९९१ सालको कुरो हो जुन बेला उनी १७ वर्षकी थिइन् । उनी दामुर नगरकी थिइन् । धर्मान्ध मुसलमानहरूले उनी बसेको गाउँमा आक्रमण गरे । ख्रीष्टियानहरूप्रति भएको घृणा ती मुसलमानहरूको अगुवाको आँखामा छर्लङ्ग देखिन्थ्यो । मेरी र उनको परिवारलाई तमन्चा (पिस्तोल) देखाउँदै ती अगुवाले भने, “तिमीहरू मुसलमान बन्दैनौँ भने तिमीहरूले गोली खाने छौ ।”
ख्रीष्टलाई पनि उही किसिमको छनोट दिइएको थियो र उहाँले क्रूसलाई रोज्नुभयो भनी मेरीलाई थाहा थियो । उनले पनि क्रूसलाई नै रोजिन्, “एउटा ख्रीष्टियानको रूपमा मैले बप्तिस्मा लिएँ र उहाँको वचनले मलाई भन्यो, ‘तिम्रो विश्वासलाई इन्कार नगर ।’ म उहाँको आज्ञा मान्ने छु । मलाई गोली हान्नुहोस् ।” भर्खरै उनका बुबा र आमाको हत्या गर्ने मुसलमानले उनलाई पनि गोली ठोके । मेरीको शरीर भुइँमा लड्यो ।
दुई दिनपश्चात् रेड क्रसका प्रतिनिधिहरू उक्त गाउँमा आइपुगे । मेरीको परिवारका सबै सदस्यहरूमध्ये उनी मात्र अझै जीवितै थिइन् । तर गोलीले मेरुदण्डलाई असर गरेकोले उनी पक्षघाती हुन पुगिन् । शारीरिक दुर्बलताका बाबजुत पनि उनको जीवनमा परमेश्वरको योजना थियो भनी उनलाई थाहा थियो, “हरेकको पेसा छ । म कहिल्यै बिहे गर्न सक्दिनँ न त शारीरिक काम गर्न सक्छु । तसर्थ मेरा पिताको घाँटी काट्ने, मेरी आमालाई सराप दिई उहाँलाई चक्कुले रोप्ने र मलाई मार्न प्रयास गर्नेजस्ता मुसलमानहरूका लागि म मेरो जीवन अर्पण गर्ने छु । मेरो जीवन तिनीहरूका निम्ति प्रार्थना हुने छ ।”