तिनको नाउँ हो, कोडी हफ । १२ वर्षको उमेरदेखि तिनले गाँजा तान्न थाले । १३ वर्षमा तिनले सडकमा पत्रिका बेच्न थाले, खाना र ड्रग्सको लागि पैसा जुटाउन । तिनी चोर थिए । तिनले ड्रग्सको कारोबार गर्थे । तिनी बारम्बार जेलमा पनि परे । हफसित पैसा थिएन; तिनको जाने ठाउँ थिएन; यस्तो बेवारिसे जिन्दगी बिताइरहेको बेलामा कसैले तिनलाई चर्चको बारेमा बतायो ।
हफ उक्त मण्डलीमा गए र त्यहाँ कुनै एक जना स्त्रीले तिनलाई भनिन्, “सर, तपाईंलाई मायाको खाँचो छ ।” हफले आफैलाई प्रेम गर्न छाडिसकेका थिए । त्यसैले तिनले लापार्वाही जीवन बिताउँदै आएका थिए । तीन महिनासम्म तिनी नुहाएका थिएनन् । तिनको शरीरबाट दुर्गन्ध आइरहेको थियो । मायाको कुरो सुन्दा हफ छक्क पर्नु अस्वाभाविक थिएन । तिनले त्यहाँ मानिसको प्रेमको अनुभूति मात्र गरेनन्, तर ईश्वरीय प्रेमको बारेमा पनि सुन्ने मौका पाए । तिनले येशूको प्रेमको बारेमा सुने ।
बिस्तारै-बिस्तारै येशूप्रति हफको मोह बढ्दै गयो । तिनलाई धेरै कुरा त थाहा थिएन । तरै पनि तिनी जान्दथे कि येशू तिनको निम्ति मर्नुभएको थियो; तिनी पापी थिए र क्षमा उपलब्ध छ । आफ्नो स्वतन्त्र इच्छाको प्रयोग गरी तिनले येशूलाई पछ्याउने छनोट गरे । जीवनमा तिनले कहिल्यै अनुभूति नगरेको शान्तिको महसुस गरे । तिनी तत्काल नयाँ मान्छे बने । पछि तिनी पास्टर बन्नुकासाथै सामाजिक सेवा लागे ।
मानिसमा भएको परमेश्वरको स्वरूप के हो ? प्रश्नअन्तर्गत आज हामी चौथो वा अन्तिम दिनमा छौँ । विगत तीन दिनमा तपाईंले तीनवटा तत्त्वलाई हेरिसक्नुभएको छ र आज म तपाईंलाई चौथो तत्त्वमा लैजान चाहन्छु ।
(४) स्वतन्त्र इच्छा
स्वतन्त्र इच्छा भनेको छनोट गर्न सक्ने क्षमता हो । अन्य प्राणीहरूबाट हामीलाई अलग गर्ने अर्को तत्त्व हो— स्वतन्त्र इच्छा । अन्य प्राणीहरू तिनीहरूसित भएका आधारभूत नैसर्गिक प्रवृत्तिबाट शासित हुन्छन् । ती प्रवृत्तिहरूलाई मान्नुसिवाय तिनीहरूले थप कुरो गर्न सक्दैनन् । सिंह स्वाभाविक रूपमा मांसाहारी हो । त्यसले कुनै पनि दिन शाकाहारी बन्ने छनोट गर्न सक्दैन । त्यसले यसो भनेर निर्णय लिन सक्दैन, “जङ्गली जनावरहरूका मासु खाँदा-खाँदा म वाक्क भइसकेँ । एकातिर तिनीहरूलाई मारेकोमा मलाई दुःख लागेको छ भने अर्कोतिर दिनप्रति दिन तिनीहरूलाई लखेट्दा-लखेट्दा म थकित भइसकेँ । त्यसैले अब म फलफुल र सागपात खाएर बाँच्ने छु ।” सिंहसित स्वतन्त्र इच्छा नभएकोले त्यसले त्यस्तो किसिमको निर्णय लिन सक्दैन । त्यसले आफ्नो स्वभावअनुसार मात्र काम गर्न सक्छ ।
तर मान्छे फरक किसिमको प्राणी हो । के-कस्ता किसिमका खानेकुरा खाने भनी उसले निर्णय गर्न सक्छ । त्यसैले त कोही शाकाहारी बन्छ त कोही मांसाहारी । तर अन्य प्राणीहरू जे छन्, त्यही हुन्छन् । मांसाहारी छन् भने मांसाहारी त साकाहारी छन् भने साकाहारी ।
निष्कर्षमा, बाइबलअनुसार मानिस परमेश्वरको स्वरूपमा सृजित प्राणी हो (उत्पत्ति १:२६-२७) । संसारको कुनै पनि प्राणीलाई उहाँको स्वरूपमा सृष्टि गरिएको छैन । मानिसमा भएको परमेश्वरको स्वरूपमा निम्न लिखित चारवटा कुरा पर्छन् ।
(१) सृजनात्मकता— नयाँ-नयाँ वस्तुहरू उत्पादन गर्ने वा आविष्कार गर्न सक्ने क्षमता
(२) बौद्धिकता— बुझ्न सक्ने वा तर्क गर्न सक्ने क्षमता
(३) नैतिकता— ठिक र बेठिकको बोध
(४) स्वतन्त्र इच्छा— छनोट गर्न सक्ने क्षमता