बुद्ध धर्मको दृष्टिकोणमा येशू 

छैटौँ शताब्दी ख्रिस्टपूर्वमा नेपालमा जन्मेका गौतम बुद्धले यस धर्मको सुरुआत गरेका थिए । संसारको जम्मा जनसङ्ख्याको झन्डै ७% (करिब ४७ करोड) अनुयायी भएको यस धर्ममा पनि हिन्दु धर्ममा झैँ विभिन्न परम्परा, विश्वास र अभ्यासहरू पाइन्छन् । यसका अनुयायीहरू मूलतः एसिया महादेशमा बस्दछन् । संसारको १४ ओटा देशमा यस धर्मको बाहुल्यता रहेको छ ।

अधिकांश बौद्ध धर्मावलम्बीहरूले येशूलाई ज्ञानोदय प्राप्त व्यक्तिको रूपमा आदर गर्छन् । उहाँले बलिदानपूर्ण जीवन जिउनुभयो र आत्मिक खाँचोमा परेकाहरूलाई टिठ्याउनुभयो भन्ने तिनीहरूको ठम्याइ छ । जीवनको खुसी र ज्ञानोदयको लागि यस्तो दयाको खाँचो पर्छ भनी तिनीहरू विश्वास गर्छन् । बुद्धका अनुयायीहरूको दृष्टिमा येशू एक बुद्धिमान् शिक्षक हुनुहुन्थ्यो । दयासम्बन्धी येशूको शिक्षाले दलाई लामालाई निकै प्रभाव पारेको थियो । चौधौँ दलाई लामा तेन्जिन ग्यात्सोजस्ता बौद्ध धर्मावलम्बीहरूले येशूलाई बोधिसत्भाको रूपमा हेरे । बोधिसत्भा भनेको आफ्नो जीवन अरूहरूको सेवा र भलाइको लागि समर्पित गर्ने व्यक्ति हो ।

वर्तमान दलाई लामाले येशूलाई प्रायः “पवित्र मान्छे” को रूपमा उल्लेख गरेका छन् । तिनले यस्ता मानिसहरूको सूचीमा उहाँको नाउँलाई समावेश गर्छन् । यी दुई पात्रहरू (येशू र बुद्ध) को विषयमा छलफल गर्दा लामाले बुद्धलाई माथि उचाल्दैनन् । २१ औँ शताब्दीको प्रारम्भमा दलाई लामाले पोपसवग भेटघाट गरे र येशू ख्रीष्टको शिक्षा र व्यक्तित्वको लागि असीम श्रद्धा व्यक्त गरे । तर बौद्ध धर्मावलम्बीहरू येशूलाई “ईश्वर” को रूपमा भने पुज्दैनन् ।

यसरी बौद्ध धर्मावलम्बीहरूको दृष्टिमा येशू ज्ञानोदय प्राप्त व्यक्ति, बुद्धिमान् शिक्षक र पवित्र मान्छे हुनुहुन्थ्यो ।

(नोट: यो लेख कमल अधिकारीद्वारा लिखित येशू को हुनुहुन्छ ? नामक पुस्तकबाट साभार गरिएको हो ।)
Facebook Comments

Powered by Youth Circle