फेला पर्‍यो पन्तियस पिलातसको शिलालेख

ख्रिस्टाब्द १९६१ को जुन महिनामा एउटा शिलालेख फेला पारियो जसले नयाँ करारको एउटा महत्त्वपूर्ण पात्रको पुष्टि गर्छ । तिनको नाउँ हो— पन्तियस पिलातस । तिनले नै येशूलाई क्रूसमा टाँग्ने आज्ञा दिएका थिए । यस आविष्कारले पिलातसको अस्तित्वलाई आशङ्का गर्नै नसक्ने गरी पुष्टि गरिदिएको छ ।

इटालीका पुरातत्त्वविद् डा. एन्टोनिओ फ्रोभाको नेतृत्वमा गएको टोलीले कैसरिया मरितिमा नामक प्राचीन सहरमा ८२ सेन्टिमिटर लमाइ र ६५ सेन्टिमिटर चौडाइ भएको एउटा कुने–ढुङ्गो फेला पारे जसमा लेखिएको ल्याटिन भाषालाई नेपालीमा अनुवाद गर्दा यस्तो हुन्छ, “यहूदियाका हाकिम पन्तियस पिलातसले तिबेरिअसको नाउँमा [यसलाई] अर्पण गरेका छन् ।” उचित तवरले ‘पिलातसको शिलालेख’ नाउँ दिइएको यस कुने–ढुङ्गोले पिलातससाथै तिबेरिअस दुवैको अस्तित्वलाई प्रमाणित गर्छ । हेरोद महान्‌द्वारा निर्मित प्राचीन रङ्गशालाको उत्खनन गर्दा यो महत्त्वपूर्ण प्राचीन शिलालेख फेला पारिएको हो ।

यो शिलालेख हाल यरूशलेमस्थित इजराएल सङ्ग्रहालयमा सुरक्षितसाथ राखिएको छ । उत्खनन क्षेत्रमा यसको नक्कललाई भने अहिले पनि देख्न सकिन्छ ।

पन्तियस पिलातसले कैसरियामा एउटा मन्दिर निर्माण गरेका थिए जुन तिनले रोमी सम्राट् तिबेरिअस (ख्रिस्टाब्द १४–३७ ख्रिस्टपूर्व) को नाउँमा अर्पण गरेका थिए । यो शिलालेख यसैको बारेमा लेखिएको हो । यसलाई ख्रिस्टाब्द २६–३७ को बिचमा तयार पारिएको देखिन्छ ।

येशूको जाँचपडतालको सम्बन्धमा सुसमाचारीय विवरणहरूलाई पढ्नेहरूले पन्तियस पिलातसको नाउँलाई बिर्सन सक्दैनन् । चारवओटै सुसमाचारले तिनको उल्लेख गरेका छन् (मत्ती २७:११–३१; मर्कूस १५:१–१५; लूका २३:२–३; १८–२५; यूहन्ना १८:२८–४०; १९:१–६) ।

सुसमाचारीय विवरणमुताबिक येशूको गिरफ्तारपछि यहूदी अधिकारीहरूले येशूलाई पन्तियस पिलातसकहाँ ल्याए, “सबै सभासद्हरू उठे, र उहाँलाई पिलातसकहाँ ल्याए । तिनीहरूले उहाँमाथि यसो भन्ने दोष लगाउन लागे, ‘यस मानिसले हाम्रो राष्ट्रलाई बहकाउन लागेको हामीले भेट्टायौं । यसले कैसरलाई कर तिर्नदेखि हामीलाई रोक्छ, आफैलाई चाहिँ ‘म ख्रीष्ट, एक राजा हुँ’ भनी भन्छ’” (लूका २३:१–२) ।

पिलातसको सामु येशूको विरुद्धमा लगाइएका मुख्य अभियोगहरू धार्मिक नभएर राजनीतिक थिए । रोम र कैसरको अधिकारको लागि येशू बाधक हुनुभएको थियो भन्ने आरोप लगाइयो । येशूले राष्ट्रलाई बहकाउनुहुन्छ, करको विरोध गर्नुहुन्छ र आफू राजा हुँ भनी दाबी गर्नुहुन्छ भन्ने यहूदी अधिकारीहरूको आरोप झुटा थिए किनकि राजनीतिक अर्थमा उहाँले राजाको पदवी ग्रहण गर्न चाहनुभएन न त उहाँले करको विरोध नै गर्नुभयो । निश्चय नै धार्मिक विषयहरूमा येशूले धार्मिक अगुवाहरूको खुलेरै आलोचना गर्नुभयो तर राजनीतिक विषयबारे भने होइन । यी तीनवटै अभियोगमा पिलातसको निष्कर्ष थियो, “म यिनमा केही दोष भेट्टाउँदिनँ” (यूहन्ना १८:३८) । येशू निर्दोष हुनुभएकोले पिलातसले उहाँलाई छाडिदिन कोसिस गरे तापनि क्रूद्ध भिडको कारणले गर्दा केही उपाय नलागेपछि “उनले उहाँलाई क्रूसमा टाँग्न तिनीहरूका हातमा सुम्पिदिए” (यूहन्ना १९:१६) ।

इतिहासअनुसार पिलातस ख्रिस्टाब्द २६–३६ सम्म यहूदियाका हाकिम भएका थिए । तिनी यहूदियाका पाँचौँ हाकिम थिए । यहूदियाको रोमी राजधानी कैसरिया मरितिमामा तिनले आफ्नो कार्यालय बनाएका थिए । तिनकै समयमा येशू क्रूसमा टाँगिनुभएको थियो ।

नयाँ करारका अतिरिक्त यहूदी लेखकद्वय योसिफस र फाइलोसाथै रोमी लेखक टासिटसका रचनाहरूमा पिलातसका सन्दर्भहरू उल्लेख भए तापनि वर्षौंसम्म आलोचकहरूले पिलातसको साँचो अस्तित्वमाथि नै प्रश्न गर्दै आएका थिए । तर बिसौँ शताब्दीको उत्तराद्र्धमा फेला पारिएको यस आविष्कारले बाइबलका आलोचकहरूलाई स्तब्ध पारेका छन् । फेरि एक पटक येशूको बारेमा भएको सुसमाचारीय विवरण साँचो ठहरिएको छ भने आलोचकहरू झुटा ।

Facebook Comments

Powered by Youth Circle