इस्लाम धर्मको दृष्टिकोणमा येशू

संसारको दोस्रो ठुलो धर्म हो— इस्लाम । पहिलो ख्रीष्टियान हो । संसारका ५२ ओटा देशमा बाहुल्यता रहेको इस्लाम धर्मका अनुयायीहरू खास गरी एसिया र अफ्रिकामा बस्दछन् । संसारको जम्मा जनसङ्ख्याको झन्डै २३% (करिब १ अरब ५८ करोड) मानिसहरूले यस धर्मलाई अङ्गाल्छन् । इस्लाम धर्मको अनुयायीलाई मुसलमान भनिन्छ र यसको धर्मशास्त्रको नाउँ कुरआन हो । इन्डोनेसिया सबैभन्दा बढी मुसलमानहरू भएको राष्ट्र हो । मुहमदद्वारा स्थापित इस्लाम धर्म ख्रिस्टाब्द सातौँ शताब्दीको पूर्वाद्धमा अरबमा आरम्भ भएको थियो । इस्लाम धर्ममाथि येशूको व्यापक प्रभाव परेको छ र यस धर्मले येशूलाई उल्लेखनीय व्यक्तित्वको रूपमा पहिचान गरेको छ । कुरआनमा येशूलाई ईसा भनिएको छ ।

कुरआनमा येशूको नाउँ पच्चिस पटक उल्लेख गरिएको छ जब कि मुहम्मदको नाउँ केवल चार पटक । कुरआनले येशूलाई परमेश्वरको सन्देशवाहक अर्थात् अगमवक्ता र मसीहको रूपमा परिचित गराएको छ तर परमेश्वरका पुत्रको रूपमा भने होइन । येशू कन्या मरियमबाट जन्मनुभएको थियो भन्ने बाइबलका विवरणसित मुसलमानहरू सहमत छन् ।

मृतकहरूलाई पुनरुत्थान गराउने, दृष्टिविहीनहरूलाई दृष्टि दिने अनि कुष्ठरोगीहरूलाई निको पार्नेजस्ता आश्चर्यकर्महरू गर्न येशू सक्षम हुनुहुन्थ्यो भनी कुरआनले प्रस्ट पार्छ । पुरानो करारमा येशूको बारेमा भविष्यवाणी गरिएकोले उहाँ परमेश्वरबाट आउनुभएको वचन हुनुहुन्थ्यो भनी कुरआनले उल्लेख गर्छ ।

मुसलमानहरूका बिचमा उहाँको मृत्युको सम्बन्धमा बेग्लाबेग्लै धारणहरू भए तापनि उहाँको स्वर्गारोहणलाई भनी तिनीहरू स्वीकार गर्छन् । इस्लाम धर्मअनुसार येशू शारीरिक रूपमा स्वर्ग जानुभयो र अहिले उहाँ जीवितै हुनुहुन्छ ।

येशू ख्रीष्ट फेरि यस धरतीमा आउनुहुने छ भनी इस्लाम धर्मले सिकाउँछ । पाप, अन्याय र भ्रष्टताले संसार भरिएको बेलामा ख्रीष्ट–विरोधीलाई पराजित गर्न उहाँ यस संसारमा आउनुहुने छ ।

यसरी इस्लाम धर्मको दृष्टिकोणमा येशू साँचो अगमवक्ता, मसीह, आश्चर्यकर्म गर्नुहुने जन, बुद्धिमान् शिक्षक र पापरहित व्यक्तित्व हुनुहुन्छ । उहाँ कन्याबाट जन्मनुभयो, उहाँको बारेमा भविष्यावाणी गरिएको थियो र उहाँ फेरि आउनुहुने छ ।

(नोट: यो लेख कमल अधिकारीद्वारा लिखित येशू को हुनुहुन्छ ? नामक पुस्तकबाट साभार गरिएको हो ।)
Facebook Comments

Powered by Youth Circle