सोलोमन बतशेबाबाट जन्मेका दाऊदका कुनचाहिँ छोरा थिए— माहिला वा काहिँला ?

राजा दाऊद र बतशेबाबाट जन्मेका पहिलो छोरो शिशुवस्थामा नै मरेपछि सोलोमनको जन्म भएकोले २ शमूएलअनुसार तिनी माहिला छोरा थिए, “तब दाऊदले आफ्‍नी पत्‍नी बतशेबालाई सान्‍त्‍वना दिए । दाऊद तिनीकहाँ गए, र तिनीसित सहवास गरे, अनि तिनले एउटा छोरो जन्‍माइन्‌, र त्‍यसको नाउँ सोलोमन राखियो” (१२:२४) । तर १ इतिहासको पुस्तकमा दाऊद र बतशेबाबाट जन्मेका छोराहरूको सूचीमा सोलोमनको नाउँ चौथो स्थानमा देखिन्छ, “त्‍यहाँ यी छोराछोरीहरू जन्‍मे: शम्‍मूअ, शोबाब, नातान र सोलोमन । यी चार जना अम्‍मीएलकी छोरी बतशेबाबाट जन्‍मेका थिए” (३:५) । सोलोमन बतशेबाबाट जन्मेका दाऊदका कुनचाहिँ छोरा थिए— माहिला कि काहिँला ?

राजा शाऊल र राजा दाऊदपश्चात् सोलोमन संयुक्त इस्राएल राज्यका तृतीयसाथै अन्तिम राजा थिए जसले करिब ९७०-९३१ ख्रिस्टपूर्वसम्म राज्य गरे । तिनी अत्यधिक धनी र बुद्धिमान् राजा थिए । श्रेष्ठगीत, उपदेशकसाथै हितोपदेशका अधिकांश भागका लेखक तिनी नै हुन् ।

निस्सन्देह, सोलोमन दाऊद र बतशेबाबाट जन्मेका माहिला छोरा थिए । यो कुरो साँचो हो कि १ इतिहासको पुस्तकमा सोलोमनको नाउँ चौथो स्थानमा आउँछ, तर तिनी काहिँला थिए भनी उल्लेख गरिएको छैन । तिनी काहिँला थिएनन् भने किन चौथो स्थानमा तिनको नाउँ आयो त ? दुईवटा कारण दिन सकिन्छ ।

पहिलो, यस खण्डमा उल्लिखित चार जना छोराको नाउँ तिनीहरूको जन्म क्रमानुसार लेखिएको छैन । बाइबलमा यो अनौठो अभ्यास होइन । उदाहरणको लागि, शेम, हाम र येपेत भनी नोआका तीन छोराको नाउँ (उत्पत्ति ५:३२) उल्लेख गरिए तापनि शेम जेठा थिएनन् ।

दोस्रो, १ इतिहासको सूचीमा अभिलिखित चार जनामध्ये सोलोमन जेठा भए तापनि तिनको नाउँ अन्त्यमा उल्लेख गरिनुको कारण पद १० मा पाइन्छ जहाँबाट तिनको वंशावली सुरु भएको छ, “सोलोमनका छोरा रहबाम थिए, जसका छोरा अबिया, जसका छोरा आसा, जसका छोरा यहोशापात ।”

Facebook Comments

Powered by Youth Circle