आफ्नो दोस्रो सुसमाचारीय प्रचार यात्रा (ख्रिस्टाब्द ४९–५२) मा पावलले कोरिन्थमा १८ महिना बिताएपछि तिनको सुसमाचारीय सेवामा विरोध आयो । यो राजनीतिक दङ्गा थियो जसको विषयमा इतिहासकार लूकाले अभिलिखित गरेका छन्, “जब गलियोन अखैयाका शासक भए, तब यहूदीहरू एकै मतका भईकन पावलमाथि आक्रमण गरे, र तिनलाई अदालतमा ल्याए, र यसो भने, ‘यस मानिसले व्यवस्थाको विरुद्ध परमेश्वरको आराधना गर्न मानिसहरूलाई सिकाइरहेछ ।’ जब पावल बोल्नै लागेका थिए, तब गलियोनले ती यहूदीहरूलाई भने, ‘यहूदी हो, यदि साँच्ची नै यो केही अन्याय वा दुष्ट अपराधको कुरो हुँदो हो त मैले तिमीहरूको कुरा सुन्न उचित हुनेथियो । तर शब्दहरू, नाउँहरू र तिमीहरूको आफ्नै व्यवस्थाको सवाल भएको हुनाले तिमीहरू आफै विचार गर । म यस्ता कुराहरूको इन्साफ गर्न इन्कार गर्छु ।’ अनि उनले तिनीहरूलाई अदालतबाट धपाइदिए । तब तिनीहरू सबैले सभाघरका शासक सोस्थेनेसलाई समातेर अदालतको सामने पिटे । तर गलियोनले त्यस कुराको केही वास्तै राखेनन्” (प्रेरित १८:१२–१७) ।
गलियोन अखैयाका शासक थिए भनी यस खण्डमा लूका प्रस्ट पार्छन् । बिसौँ शताब्दीको पुरातात्त्विक आविष्कारले गलियोनको अस्तित्वलाई आशङ्का गर्नै नसक्ने गरी प्रमाणित गरिदिएको छ ।
बिसौँ शताब्दीको आरम्भमा ग्रिसको डेल्फीस्थित अपोल्लोको मन्दिरमा एउटा पत्रका ९ ओटा टुक्रा फेला पारिए । यी टुक्राहरूको सङ्ग्रहलाई डेल्फी शिलालेख अर्थात् गलियोन शिलालेख भनिन्छ । चुनढुङ्गामा ग्रिक भाषामा लेखिएको यो पत्र करिब ख्रिस्टाब्द ५२ मा रोमी सम्राट् क्लौडियसले लेखेका थिए । उक्त शिलालेखमा भएका ११ ओटा हरफमध्ये छैटौँ हरफमा यसरी लेखिएको छ, “गलियोन मेरा मित्र र शासक …।”
यस खोजले एकातिर गलियोन एक ऐतिहासिक व्यक्ति थिए भनी पुष्टि गर्छ भने अर्कोतिर प्रेरितको पुस्तकका लेखक डा. लूकाले भनेजस्तै तिनी शासक थिए । यो खोज लूकाद्वारा उपलब्ध गराइएको मिति, व्यक्तिको नाउँ र व्यक्तिलाई दिइएको ओहोदासित सोर्है आना मेल खान्छ । प्रेरितको पुस्तकमा अभिलिखत घटनाहरूलाई अझै सही किसिमले मिति प्रदान गर्न पनि यस आविष्कारले हामीलाई मदत गर्दछ ।