मैले पछिल्लो पटक पढेर सिद्ध्याएको पुस्तकको नाउँ हो— द जिजस आई नेभर न्यु (नेपालीमा मैले कहिल्यै नचिनेको येशू) । पुस्तक पठन यात्रामा यो मेरो ४२ औँ पुस्तक हो । २५२ पृष्ठको यस किताबलाई मैले १२ दिन लगाएर सकेँ । ख्रिस्टाब्द १९९५ मा प्रकाशित यस कृतिले स्वर्ण पदक हात पारेको थियो । यसका लेखक हुन्, फिलिप यान्सी । मलाई याद भएसम्म यान्सीद्वारा लिखित मैले पढेको यो पहिलो पुस्तक हो यद्यपि तिनको नाउँसित भने म पहिलेदेखि नै परिचित थिएँ ।
७१ वर्षीय यान्सी खास गरी आत्मिक विषयहरूबारे लेख्छन् । तिनका पुस्तकहरू अङ्ग्रेजी भाषमा मात्रै एक करोड पचास लाखभन्दा बेसी सङ्ख्यामा छापिएका छन् भने ५० ओटा भाषामा अनुवाद गरिएका छन् । तिनी वर्तमान समयका एक उत्कृष्ट ख्रीष्टियान लेखकमा गनिन्छन् । क्रिस्चियानिटी टुडे नामक परिचित इभान्जलिकल पत्रिकामा तीन दशकसम्म सम्पादकको भूमिका निर्वाह गरेका यान्सीले पत्रकार भएर पनि काम गरे । भूतपूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले तिनलाई “मेरा मनपर्ने आधुनिक लेखक” भनेका थिए । ३० ओटाभन्दा बेसी पुस्तकका लेखक यान्सीले ८५ ओटा देशमा यात्रा गरिसकेका छन् ।
येशूको बारेमा कतिवटा पुस्तक लेखिएका छन् भनी मैले गुगलमा सर्च गर्दा त्यसले मलाई ६५,५७१ ओटा नतिजा देखायो । सिकागो विश्वविद्यालयका एक जना विद्वान्को अनुमानअनुसार विगत उन्नाइस शताब्दीसम्म येशूको बारेमा जति पुस्तकहरू लेखिए, विगत बिस वर्षमा त्योभन्दा बेसी लेखिएका छन् । उहाँ यस ग्रहमा बाँच्नुहुने यति प्रभावशाली व्यक्तित्व हुनुहुन्छ कि उहाँले एउटा साहित्यिक नदी नै तयार पार्न प्रेरित गर्नुभएको छ । २०१८ मा प्रकाशित १५० पृष्ठको मेरो चौथो पुस्तक पनि उहाँकै बारेमा थियो जसको शीर्षक रहेको छ: येशू को हुनुहुन्छ ?
यान्सीको पुस्तकलाई तीनवटा भागमा वर्गीकरण गरिएको छ: (१) उहाँ को हुनुहुन्थ्यो, (२) उहाँ किन आउनुभयो र (३) उहाँले के छाडेर जानुभएको छ । पहिलो भागलाई पाँचवटा पाठमा विभाजन गरिएको छ, दोस्रोलाई छवटा र तेस्रोलाई तीनवटा ।
सुसमाचारीय वर्णनमुताबिक येशूले विभिन्न मानिसहरूबाट भूतात्माहरू निकाल्नुभयो । रुचिलाग्दो कुरो यो हो कि ती भूतात्माहरूले कहिल्यै पनि उहाँको पहिचानबारे प्रश्न गरेनन् । तिनीहरूले उहाँलाई ‘परमेश्वरका पवित्र जन’ वा ‘सर्वोच्चका पुत्र’ भनी सम्बोधन गरे । उहाँको पहिचानबारे प्रश्न गर्नेहरू त मानिसहरू अर्थात् धार्मिक अगुवाहरू थिए ।
येशूले १२ जना चेला छान्नुभयो । तिनीहरू उहाँसँगै होउन् भन्ने उहाँको उद्देश्य थियो । तिनीहरू उहाँका सेवा गर्ने कमाराहरू थिएनन्, तर सँगसँगै हिँडडुल गर्ने मित्रहरू थिए । उहाँले तिनीहरूसित आफ्नो आनन्द मात्र बाँड्नुभएन, तर दु:ख पनि । तिनीहरू नै उहाँको परिवार अर्थात् दाजुभाइ बनेका थिए । तिनीहरूले उहाँका खातिर सबै थोक त्यागे र उहाँले तिनीहरूका निम्ति सबै थोक त्याग्नुभयो ।
येशू अरूको बारेमा सोच्ने व्यक्ति हुनुहुन्थ्यो । सेवाकार्य गर्दा मात्र नभई क्रूसमा टाँगिनुहुँदा पनि उहाँले अरूको बारेमा नै सोच्नुभयो । आफूलाई क्रूसमा टाँग्नेहरूलाई उहाँले यसो भन्दै क्षमा दिनुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्” (लूका २३:३४) । पश्चात्तापी पापीलाई उहाँले स्वर्गलोकमा स्वागत गर्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ” (लूका २३:४३) । क्रूसमा आफैले दर्दनाक पीडा भोगिरहनुभए तापनि आफ्नी आमाको हेरचाहप्रति चिन्ता व्यक्त गर्दै उहाँले आफ्नी आमा मरियमलाई प्रेरित यूहन्नाको जिम्मामा सुम्पिदिनुभयो (यूहन्ना १९:२६–२७) ।
येशू यति प्रभावशाली व्यक्तित्व हुनुहुन्छ कि उहाँको भनाइअनुसार मैले उहाँको बारेमा जे सोच्छु र उहाँप्रति जसरी प्रतिक्रिया जनाउँछु त्यसले मेरो अनन्त गन्तव्य निर्धारण गर्ने छ । “येशूलाई भेट्ने कुनै पनि व्यक्ति सधैँ उस्तै रहँदैन”, फिलिप यान्सी लेख्छन् । मानिसहरू येशूसँगै हुन रुचाउँथे किनकि जहाँ उहाँको उपस्थिति हुन्छ त्यहाँ आनन्द हुन्छ ।