बाइबलीय पात्रको उल्लेख गर्ने २,६०० वर्ष पुरानो छाप फेला पारियो 

ख्रीष्टियान धर्मशास्त्र बाइबलको पुरानो करारका ३९ ओटा पुस्तकमध्ये एउटा हो, यर्मिया । यस पुस्तकका लेखक स्वयम् यर्मिया नै थिए जो अगमवक्ता पनि थिए । तिनले यहूदाको आसन्न निर्वासनको विषयमा भविष्यवाणी गर्दा थुप्रै राजनीतिक अगुवाहरूले तिनको खेदो गरे । अगमवक्ताको विरुद्धमा उत्री तिनलाई सताउनेहरूमध्ये एक थिए, पशहूरका छोरा गदल्याह । यर्मिया अभिलिखित गर्छन्ः

मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्दै गरेका सुने, “परमप्रभु यसो भन्नुहुन्छः ‘जो यस सहरमा बस्छ त्यो तरवार, अनिकाल र रूढीले मर्नेछ, तर जो निस्केर बेबिलोनीहरूकहाँ जान्छ त्यो बाँच्नेछ । त्यसले आफ्नो ज्यान जोगाएर उम्कनेछ, र त्यो बाँच्नेछ । अनि परमप्रभु यसो भन्नुहुन्छः ‘यो सहर निश्चय नै बेबिलोनका राजाका सेनाको हातमा सुम्पिइनेछ, र त्यसले यो कब्जा गर्नेछ’ ।” तब अधिकारीहरूले राजालाई भने, “यस मानिसलाई मार्नैपर्छ, किनभने यसले यस्ता कुरा गरेर यस सहरमा बाँकी रहेका सिपाहीहरू र मानिसहरूलाई समेत निरुत्साहित पार्दैछ । यस मानिसले यी मानिसहरूको भलो होइन तर तिनीहरूको हानि चाहन्छ” (यर्मिया ३८:१–४) ।

यर्मियाको यस विवरणमा उल्लिखित व्यक्तिहरूमध्ये एक हुन्, गदल्याह जो पशहूरका छोरा थिए । तिनको ऐतिहासिक अस्तित्वलाई अहिले पुरातात्त्विक खोजले शङ्का गर्नै नसक्ने गरी पुष्टि गरिदिएको छ ।

ख्रिस्टाब्द २००८ को अगस्ट महिनामा इस्राएलका पुरातत्त्वविद् इलट मजारले माटोद्वारा निर्मित एउटा छापको उद्घोष गरिन् जसमा पशहूरका छोरा गदल्याहको उल्लेख गरिएको छ । दाऊदको सहर अर्थात् प्राचीन यरूशलेममा उत्खनन गर्ने क्रममा यो खोज पत्ता लागेको हो । पुरातत्त्वविद् मजारको भनाइअनुसार यो छाप छैटौँ शताब्दी ख्रिस्टपूर्वको हो अर्थात् आजभन्दा झन्डै २,६०० वर्ष अगाडिको हो जुन बेला गदल्याह यस धरतीमा बाँचेका थिए ।

यस खोजले यर्मिया ३८ मा उल्लिखित एक पात्रको ऐतिहासिकताको पुष्टि गरी बाइबलीय विवरणको ऐतिहासिक विश्वसनीयतामाथि प्रकाश छर्ने काम गरेको छ ।

Facebook Comments

Powered by Youth Circle