हिन्दु धर्मको दृष्टिकोणमा येशू

येशूको सेवाकार्य केवल साँढे तीन वर्ष लम्बिएको थियो । तर त्यस सङ्क्षिप्त अवधिले मानव–जातिमा नमेटिने छाप छोडेर गएको छ । उहाँ आफ्नो जन्मस्थान इस्राएल देशमा मात्र परिचित हुनुहुन्न, तर मानव–जातिको बसोबास भएको ६ वटै महादेशमा उहाँलाई पछ्याउनेहरू मनग्गे छन् । आफूले स्थापना गर्नुभएको ख्रिस्टियमतमा मात्र उहाँको चर्चा हुँदैन तर संसारका प्रायः सबै धर्मले उहाँलाई आदर्श व्यक्तित्वको रूपमा हेर्छन् । येशू ख्रीष्टियानहरूको पर्खालभित्र मात्र होइन तर गैरख्रिस्टियानहरूको मैदानमा पनि उपस्थित हुनुहुन्छ । संसारका विभिन्न प्रमुखसाथै गौण धर्महरूले येशूको बारेमा आआफ्नै दृष्टिकोण बनाएका छन् । येशू इतिहासको महान्‌तम व्यक्तित्व हुनुभएकोले उहाँप्रति हिन्दु धर्मले पनि आफ्नो दृष्टिकोण व्यक्त गरेको छ ।

अपरेसन वर्ल्डको सातौँ संस्करण (२०१०) अनुसार संसारको तेस्रो ठुलो धर्म हो— हिन्दु धर्म । संसारको जम्मा जनसङ्ख्याको झन्डै १४% हिस्सा (करिब ९५ करोड) ओगट्ने हिन्दु धर्मका अनुयायीहरू खास गरी भारत र नेपालमा बसोबास गर्दछन् । भारतमा थालनी भएको यस धर्मको कुनै एकल संस्थापक छैन । यो धर्म प्राचीन मात्र नभएर असाध्यै जटिल पनि छ । हिन्दु धर्ममा थरीथरीका वादहरू पाइने भएकाले तिनीहरूको बिचमा येशूको बारेमा एउटै अवधारणा पाईंदैन । प्रतिष्ठित हिन्दु नेता महात्मा गान्धीको दृष्टिमा येशू आदर्श अगुवा हुनुहुन्थ्यो जसले उच्चतम नैतिक जीवन जिउनुभयो ।

अधिकांश हिन्दुहरूले मान्छेको आत्मिक अवस्थालाई उसको व्यवहार र अभ्यासको आधारमा नाप्ने गर्छन् । प्रेम, अहिंसा, बलिदान, त्याग, विनम्रताजस्ता गुणहरू भएको मानिसलाई साधुको दर्जा दिइन्छ । येशूको जीवनी र शिक्षाको आधारमा तिनीहरूको मूल्याङ्कनअनुसार येशू पनि त्यस्तै साधु हुनुहुन्छ ।

धेरैजसो हिन्दुहरूले येशूको शिक्षालाई औधी आदर गर्छन् र कतिपयले उहाँको शिक्षालाई पछ्याउन आफ्नो जीवनलाई समर्पण पनि गरेका छन् । महात्मा गान्धीले येशूको डाँडाको उपदेशलाई अति नै प्रशंसा गरेका थिए । हिन्दु धर्मले बहुईश्वरवादलाई अङ्गाल्ने भएकोले केहीले येशूलाई पनि एक “ईश्वर” को रूपमा अङ्गाल्नदेखि हिच्किचाउँदैनन् तर परमेश्वरकहाँ पुग्ने एउटै मात्र बाटोको रूपमा भने स्वीकार गर्न तयार छैनन् ।

यसरी हिन्दु धर्मको दृष्टिकोणमा येशू साधु वा पवित्र मानिस, बुद्धिमान् शिक्षक, नैतिकवान् व्यक्तित्व र “ईश्वर” हुनुहुन्छ ।

(नोट: यो लेख कमल अधिकारीद्वारा लिखित येशू को हुनुहुन्छ ? नामक पुस्तकबाट साभार गरिएको हो ।)
Facebook Comments

Powered by Youth Circle